पटपट पैताला फुटेजस्तै फुटेको छ कमलपोखरी यतिखेर ।
मानौँ, कमलपोखरी बुढो हुँदै गरेकी हजुरआमाको पैताला हो । मानौँ, कमलपोखरी बुढो हुँदै गरेका हजुरबाको हात हो ।
साँच्चै, सम्पदा बुढो हुन्छ कि हुँदैन ?
यदि हुन्छ भने सम्पदा कहिले बुढो हुन्छ ?
अनि बुढो हुन्छ भने सम्पदा जवान हुन्छ कि हुँदैन होला !

०००
पाटनको पिंबहाल पोखरी हेर्दा यस्तो लाग्छ, समयको चाउरीले जतिसुकै नियतिको रेखा कोर्न खोजे पनि सम्पदा जवान हुन सक्छ, भइरहन सक्छ । किनभने पोखरीलाई पानीले मात्रै होइन, चेतनाले पनि सिञ्चित गर्दछ ।
स्थानीयवासी जागरुक हुने हो भने सम्पदा कसरी पुरानै स्वरुपमा संरक्षण हुन सक्छ ? पुरानै लयमा मुस्कुराइरहन सक्छ, पिंबहाल पोखरी यसको ज्वलन्त उदाहरण हो । हुन सक्छ, कमलपोखरीले पढ्नुपर्ने पाठ हो, पिंबहाल पोखरी !
हुन पनि विभिन्न कालखण्डमा पिंबहाल पोखरीले कसरी आफूलाई निर्माण/पुनर्निर्माण गर्दै लग्यो ? चाहे १९९० सालको महाभूकम्प होस् या विभिन्न शासकको ‘पराकम्पन’, पिंबहाल पोखरीको स्वरुप परिवर्तन हुँदै गयो ।
पोखरीको आयतन मात्रै नभई पोखरीका अवयवरुपी संरचनाहरू पनि फेरबदल भइनै रहे । पोखरीमा भएका फल्चा, पाटी र ढुङ्गाका घेराहरू समयसँगै परिवर्तन हुँदै गए ।
आखिर पिंबहाल पोखरी कसरी आफ्नो मौलिक स्वरुपमा फिर्ता हुन सफल भयो त ?
पोखरीको इतिहास र मौलिकता चिनाउने त्यहाँ न कुनै शिलालेख भेटिएको थियो, न प्रमाण । न त कुनै अभिलेखरुपी किताब नै भेटिएको थियो । भेटिएको थियो त केवल एक स्केच, जसले हाल पिंबहाल पोखरीको मौलिकता फिराइदिएको छ ।

२०५५ सालको कुरा हो । ‘काठमाडौंका पुराना तस्वीरहरू’ रातो बंगलास्थित विद्यालयमा प्रदर्शनी गरिएको थियो । उक्त प्रदर्शनीमा बेलायतका चिकित्सक एवं चित्रकार हेनरी ओलफिल्डले बनाएको सन् १८५२ को पिंबहाल पोखरीको पुरानो स्केचले एकाएक पाटनवासीलाई आश्चर्यचकित बनाइदियो ।
भेटिएको शताब्दीयौँ पुरानो स्केचले एकाएक पाटनवासीलाई पोखरीको मौलिकता जोगाउने तृष्णा जगाइदियो । र बन्यो, प्राचीनशैलीको फल्चा, पाटी र पोखरीको भित्ता । यसरी अनायासै भेटिएको आफ्नो पुरानो स्केचलाई ब्युँताएर पिंबहाल पोखरी मौलिकता जोगाउन सफल भएको छ ।
त्यसो त २०४२ सालमा जलकुम्भीले ढपक्कै ढाकेर खेल्नयोग्य मैदान पनि नभएको होइन पोखरी । जलकुम्भी फालेर पोखरी ब्युँताउनभन्दा त्यस ठाउँमा बजार बनाउने तत्कालीन नगर पञ्चायतले प्रस्ताव अघि सार्यो ।
तर, स्थानीयहरूको सक्रिय भूमिकामा पोखरीको जलकुम्भी फालिनुका साथै पोखरीको अस्तित्व जोगिन सफल भयो ।

०००
भनिन्छ, पिंबहाल पोखरी हेरेरै काठमाडौंको रानीपोखरी निर्माण गरिएको थियो । हुन पनि पोखरीको स्वरुप, बनोट र डिजाइन पनि उस्तै छ ।
‘यो पोखरीको पानी नखाई यहाँको बच्चा ठूलो हुन पाउँदैन’, स्थानीयवासी एवम् ताजा फः द हेरिटेज होमका निर्देशक सैलेन्द्र श्रेष्ठ केही भावुक हुँदै भन्छन्, ‘म आफैँ पनि यो पोखरीमा दुई/तीन पटक त डुबेँ हुँला !’
वास्तवमा बस्तीबीच पोखरी हुनु भनेको खास के हो ? पोखरीले बस्तीको पानी प्रणालीलाई कसरी रिचार्ज गरेको हुन्छ ?
अनि स्थानीयवासीले नै स्वयं स्वामित्व लिँदा कसरी सम्पदाले मौलिकता जोगाउन सफल हुन्छ ? आउनुहोस्, आज यही पोखरीको मौलिकतालाई नजिकबाट हेर्नका लागि स्थानीयवासी शैलेन्द्र श्रेष्ठसँग पिंबहाल पोखरी घुमौँ ।
तस्वीर : सुशील श्रेष्ठ
भिडियो :
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७ १९:२७