चिप्लिए कहाँ पुगिन्छ ? भन्ने प्रश्न हिउँमाथि हिँडिरहँदा मनमा खेलिरहन्छ । मनमनै आफ्नै मृत्युका हेडलाइन पनि फुरिरहन्छन् । त्यत्तिकैमा उनी झस्किन्छिन्- बा-आमाले घरमा कुर्नुभएको छ, चुचुरोमा पुगेर फर्किनुपर्छ । मृत्युका हेडलाइन मनमै दबाएर चुचुरो पुग्न पाइला फेरि अगाडि बढाउँछिन् । आफ्नो हरेक सासको महत्व फोटो पत्रकार पूर्णिमा श्रेष्ठले आजकल राम्रोसँग बुझेकी छन् ।
उनकै शब्दमा भन्दा- मृत्यु देखेको मान्छेले जीवनको महत्व बुझ्छ । ‘सेकेन्ड-सेकेन्डमा, पलपलमा म मर्छु होला भन्ने लाग्छ । डर, कठिन र अब मर्दैछु भन्ने कुराले बाँचेको जीवन कति मजा हुन्छ, कति सफल हुन्छ ?’ पूर्णिमा सुनाउँछिन्, ‘पत्रकार भएकाले मृत्यु भए यस्तो हेडलाइन बन्छ भन्ने कल्पना गर्दै हिमाल चढ्छु ।’
पूर्णिमा अन्नपूर्ण प्रथम हिमालमा पाइला टेक्न खोज्दैछिन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण अहिलेसम्म गरेका छैनन् । सगरमाथा, मनास्लु र अमादब्लम हिमाल चढिसकेकी २९ वर्षीया श्रेष्ठले आरोहण गर्न निकै अप्ठेरो मानिने अन्नपूर्ण प्रथमको यात्रा आइतबारदेखि सुरु गर्दै छिन् । गाइड पेम्बा शेर्पाको सहयोगमा २५ दिनदेखि एक महिनाभित्र अन्नपूर्णको चुचुरोमा पुग्ने उनको लक्ष्य छ ।
मनास्लु हिमाल आरोहणका क्रममा श्रेष्ठ ।कारोबार दैनिकमा सात वर्षदेखि फोटो पत्रकार रहेकी उनले सन् २०१७ मा मनास्लु, २०१८ मा सगरमाथा, २०१९ मा अमादब्लमको सफल आरोहण गरिसकेकी छन् । आफ्नै अगाडि विश्वका अग्ला हिमशिखर देखेपछि हिमालतिर आकर्षित गोरखा आरुघाट गाउँपालिकाकी उनले चौथो आरोहण यात्रा गर्न लागेकी हुन् ।
बेसक्याम्प पुगेपछिको हुटहुटी
विदेशीहरु हिमालको फोटो खिच्न लाखौँ खर्च गरेर आउँछन् । तर, नेपाली पत्रकारसँग हिमालकै फोटो नहुने कुराले उनलाई चिमोट्यो । एभरेस्ट म्याराथन हुँदा उनी सन् २०१७ मा फोटो खिच्न सगरमाथा आधार शिविर पुगेकी थिइन् । हिमालकै देशमा जन्मिएर साढे दुई दशकसम्म हिमालसँग नभिजेकोमा उनलाई पछुतो लागिरह्यो ।
‘त्यतिबेला हिमालमा ढिलो आएँ भन्ने अनुभव भयो । विदेशीहरु हिमालकै फोटो खिच्न धेरै खर्च गरेर आएका हुन्छन्,’ पूर्णिमाले हिमाल यात्राको सुरुआत सुनाइन्, ‘नेपाली पत्रकारसँग फोटो किन नहुने ? एभरेस्ट चढ्दाचढ्दै फोटो पनि लिन्छु, हिमाल पनि चढ्छु भनेर प्रेरित भएको हो ।’
काठमाडौं फर्किएपछि सन् २०१८ मा उनले चिनजानका साथीभाइलाई हिमाल चढ्ने योजना सुनाइन् । त्योबेला साथीहरु भन्थे- बेसक्याम्प जानेहरु चुचुरोमा पुग्ने भए सबै समिटर (आरोही) हुन्थे । उनले त्यो कुरामा खासै वास्ता गरिनन् । सगरमाथा चढ्छु भन्ने हुटहुटीले उनको निद्रा बिथोलिरह्यो । काठमाडौं आएपछि सगरमाथा आरोहीहरुलाई भेटिन्, आरोहण एजेन्सीमा बुझिन् ।
सगरमाथा चढ्नुअघि ६ हजार मिटरको हिमाल चढ्ने सुझाव पाइन् । बेसक्याम्पबाट फर्किएको चार महिनामै उनले ६ हजार मिटरको नभई मनास्लु (८१६३ मिटर) हिमालको आरोहण गरिन् । पूर्णिमाले सन् २०१७ सेप्टेम्बरमा मनास्लुको सफल आरोहण गरेकी थिइन् । ‘कुनै हिमाल नचढी मनास्लु जानु मेरा लागि एकदम च्यालेन्ज थियो । त्यो बेला धेरैले त पाँच कक्षा पढ्दापढ्दै एकैचोटि एसएलसी दिन्छु भनेजस्तै हो भन्नुभएको थियो,’ पूर्णिमाले सुनाइन् ।
उनको आरोहणको अर्को उद्देश्य फोटोग्राफी पनि हो । सोचेजस्तो फोटो अहिलेसम्म खिच्न नसकेको पूर्णिमाले सुनाइन् । ‘एकदम राम्रोराम्रो सिनहरु देखिन्छ । क्यामेरा निकाल्नै सकिँदैन । देखेको दृश्य सबै कैद गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । सधैं मिस हुन्छ,’ उनले भनिन् ।
सगरमाथामा आमाको तस्बिर देखाउँदै पूर्णिमा ।मनास्लुको ‘सरप्राइज सक्सेस’
हिमाल चढ्न गाह्रो हुन्छ भन्ने सुनेकै थिइन् । तर, कस्तो गाह्रो हुन्छ भन्ने थाहा थिएन । तीन वटा हिमाल चढेपछि उनले अहिले सबै बुझिसकिन् । कुनै पनि हिमाल चढेको अनुभव नभई विश्वकै आठौँ अग्लो शिखर मनास्लु चढ्नु आफ्नो लागि ‘सरप्राइज सक्सेस’ भएको पूर्णिमा बताउँछिन् । ‘कुनै हिमाल चढेकी थिइनँ । मनास्लु चढ्नु मेरो लागि पनि एकदम सरप्राइज सक्सेस भएको थियो । सगरमाथा चढ्छु भनेर मनास्लु चढेकी थिएँ । पछि सगरमाथा पनि चढेँ,’ उनले भनिन् ।
सगरमाथा चढेपछि उनलाई अर्को कुनै हिमाल चढ्दिन भन्ने भएको थियो । तर, हिमाल देखेपछि चढ्न मन लाग्ने हुन थाल्यो । विश्वकै सुन्दर र चढ्न कठिन मानिने अमादब्लम (६, ८१२ मिटर) पनि उनले सन् २०१९ मा आरोहण गरिन् । उचाइमा कम भए पनि यो हिमाल सुन्दरसँगै खतरनाक मानिन्छ । ‘एभरेस्ट चढेपछि अब कुनै हिमाल जादिनँ भन्ने लागेको थियो । अमादब्लम विश्वकै सुन्दर हिमाल, सगरमाथा जाँदा पनि देखेको । यो हिमाल चढेको छु भन्न पाउँदा कस्तो हुन्छ भनेर त्यो हिमाल पनि आरोहण गरेँ,’ पूर्णिमाले सुनाइन् ।
पूर्णिमा र अन्नपूर्ण प्रथम आरोहणमा उनलाई गाइड गर्न लागेका पेम्बा शेर्पा । तस्बिर : अनुप पौडेल/शिलापत्रहिमाल देखेपछि मनमा भएका सबै दुःख बिर्सिने गरेको उनी बताउँछिन् । हिमाल आरोहणलाई उनी बेग्लै संसारका रुपमा प्रष्ट्याउँछिन् । ‘आफूले गरेको संघर्ष, आफूलाई एकदम हिरिकहिरिक हुनु, माउन्टेनियरिङ भनेको बेग्लै दुनिया हो । त्यो कुराको मज्जा, त्यसलाई चुमेर आउनुको मज्जा झन् बेग्लै हुन्छ,’ पूर्णिमाले भनिन् ।
पहिलोपटक हिमाल चढ्दा सक्दिन होला भन्ने लागेको थियो । एकदम गाह्रो हुन्छ भन्ने उनले ‘माइन्ड सेटअप’ गरेकी थिइन् । सगरमाथा र अमादब्लमभन्दा आफूले पहिलोपटक चढेको मनास्लु अझै प्रिय लाग्ने पूर्णिमाले बताइन् ।
गृहजिल्ला गोरखाको हिमाल भएर होइन, त्यहाँबाट देखिने दृश्य अरुभन्दा राम्रो भएकाले उनलाई मनास्लु प्रिय लाग्छ । ‘मनास्लुबाट हरियो डाँडाहरु देखिने, समिट गाह्रो होला भन्ने सोचेको थिएँ । पुग्यो भनेपछि निकै रमाइलो लाग्यो,’ पूर्णिमाले उत्सुक हुँदै थपिन्, ‘सगरमाथा र अमादब्लमभन्दा मनास्लुको मज्जा छुट्टै लाग्छ । अहिले पनि मनमा मनास्लु छ ।’
अन्नपूर्ण प्रथम आरोहणका लागि आर्थिक सहयोग गर्ने पत्र पूर्णिमालाई हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङ । प्रदेश सरकारले आठ लाख रुपैयाँ दिने निर्णय गरेको छ । तस्बिर : राधिका कँडेल/राससपैसा तिरेर मृत्यु किनेजस्तो...
चढ्दाचढ्दै कहिलेकाहीँ किन आएँ भन्ने पनि लागिरह्यो । तर, फर्किएपछि फेरि चढ्न मन लागिहाल्ने ! सुरुमा हिमाल चढ्दा पैसा तिरेर मृत्यु किनेजस्तो लागे पनि अहिले उनको आत्मबल बढेको छ । ‘मर्न त मरिँदैन भन्ने लाग्छ । गर्दागर्दै मर्यो भने के फरक पर्छ र ?’ पूर्णिमाले थपिन्, ‘मनास्लु, एभरेस्टको बेलामा म जानीजानी आत्महत्या गर्न आएको छु भन्ने लाग्थ्यो । अरुबाट पैसा जुटाएर काल किन्न आएको जस्तो । कोही मान्छे काल किन्न हिमाल आएको छ भने त्यो म हो भन्ने लाग्थ्यो ।’
पूर्णिमालाई अन्नपूर्ण प्रथम आरोहण गर्न गण्डकी प्रदेश सरकारले पनि आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण प्रथम आरोहण गर्दा १८ लाख रुपैयाँभन्दा बढी खर्च लाग्छ । पहिलोपटक मनास्लु चढ्दा १२ लाख रुपैयाँ लागेकोमा चार लाख ऋण लिएकी थिइन् । सगरमाथा र अमादब्लम चढ्दा उनले आर्थिक सहयोग जुटाएकी थिइन् ।
यो पटकको आरोहणमा उनलाई गण्डकी प्रदेश सरकारले आठ लाख र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पाँच लाख दिने निर्णय गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई आरोहण सफलताको शुभकामना दिँदै आठ लाख रुपैयाँ दिने निर्णय भएको पत्र हस्तान्तरण गरे । आरोहण सकेर फर्किएपछि पोखरामा रथयात्रा गराइने मुख्यमन्त्री गुरुङले बताए ।
पहिलोपटक हिमाल चढ्न जाँदा
पूर्णिमा आफ्ना भावी योजनाबारे परिवार र साथीभाइलाई खासै सुनाउँदिनन् । आफूमा उत्सुकता हुन्छ, त्यही कुराले परिवारले अत्यास मान्छ । पहिलोपटक पूर्णिमा हिमाल चढ्न जाँदा घरमा रुवाबासी चल्यो । बुवालाई हिमाल देखेर ‘एलर्जी’ हुन थाल्यो ।
पूर्णिमाले सुनाइन्- ‘मनास्लु जाँदा घरमा रुवाबासी नै भएको थियो । ममीड्याडीलाई हिमाल देख्नै नहुने । हिमाल देखेको दिनमा ड्याडीले खानै नखाने भयो ।’ अहिले घरमा पहिलाको जस्तो डर छैन । बुवा चन्द्रबहादुर छोरीले अन्नपूर्णको सफल आरोहण गर्नेमा ढुक्क छन् ।
हिमाल चढ्ने पूर्णिमाको हुटहुटीमा परिवारले पनि राम्रो साथ दिएको छ । ‘ममी डर लागेको छैन ? भनेर सोध्दा अब हिमालले पनि छोरीलाई चिनिसक्यो, छोरीले पनि हिमाल चिनिसक्यो भन्नुभयो,’ पूर्णिमाले भनिन् । अहिले पूर्णिमाका बुवा चन्द्रबहादुर अन्नपूर्ण चढ्न जान लागेकी छोरीलाई बिदा गर्न सँगै छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट पूर्णिमाले यात्रा सुरु गरेपछि चन्द्रबहादुर फर्किने छन् ।
अन्नपूर्णबाट फर्किएपछिको योजना पनि पूर्णिमाले बनाइसकेकी छिन् । पूर्वदेखि पश्चिमसम्मको हिमशृङखला ओगटेको बृहत हिमालय पदमार्ग हिँड्ने उनको योजना छ । ‘यो चढेपछि २०१९ मा देखेको सपना ‘द ग्रेट हिमालयन ट्रेल’ मा पूर्वदेखि पश्चिमसम्म हिँड्ने हो,’ पूर्णिमाले भावी योजना सुनाइन्, ‘धौलागिरी, केटुजस्ता अप्ठेरो माउन्टेन चढ्न मन छ ।’
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७ ११:०८