‘सम्मान सबैको लागि’ नाराका साथ विश्व कवाड दिवस (ग्लोबल रिसाईक्लिङ डे) को अवसरमा भरतपुरमासाइकल र्यालीको आयोजना गरियो ।
सो र्यालीमा कवाडी सामान संकलक पेशाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । सबैको अनुहारमा खुसी र उत्साह प्रष्ट देखिन्थ्यो । त्यही भिडमा शिवनन्दन प्रसाद यादव पनि थिए ।
शिवनन्दन कवाडी सामान बेचेर छोरालाई चार्टर्ड एकाउन्टेन्ट (सीए) पढाउँदै छन् ।
०००
हरेक बिहान अरु साथीहरूजस्तै शिवनन्दन यादव साइकल लिएर शहरका गल्ली छिचोल्दै कवाडी सामानको खोजीमा निस्कन्छन् । घरघरमा पुग्छन् र सोध्नछन्– कवाडी सामान छन् ? ब्याट्री, फलाम ... ।
बारा जिल्ला कचहरिया– ९ स्थायी घर भएका ४२ वर्षिय शिवनन्दन १२ वर्षदेखि चितवनमा कवाडी संकलनको काम गर्दै आएका छन् । उनी घर–घर र पसल–पसलमा पुगी बिग्रेका ब्याट्री तथा फलामजन्य पुनः प्रयोगमा आउन सक्ने सामान संकलन गर्ने र बेच्ने गर्दछन् ।
कवाडी संकलन गर्ने कार्य सुरु गर्नुभन्दा पहिले शिवनन्दन नेपाली सेनामा कार्यरत थिए । तर ’बाध्यता’ले जागिर छाड्नुपरेको उनी बताउँछन् । २०६२/६३ को जनआन्दोलनमा जागिरकै कारण परिवारलाई धम्की आउन थालेको उनले बताए । ‘घरमा आमाबुवालाई धम्की दिने । छोराछोरीलाई अपहरण गर्छौँ भन्ने, यस्तो बाध्यताले जागिर छाडेँ,’ शिवनन्दन भन्छन् ।
त्यसपछि बेरोजगार भएका शिवनन्दनमाथि छोराछोरी कसरी पढाउने ? परिवार कसरी चलाउने ? भन्ने चिन्ता बढ्न थाल्यो ।

उनी भारतमा ज्यालामजदूरी गर्न जाने सोचमा लागे । तर त्यही समयमा कवाडकै काम गर्ने गाउँकै एक जना दाइले उनलाई कवाडी सामान संकलनको काम गर्दा राम्रो कमाई हुने सुझाव दिए । त्यसपछि उनी कवाडी संकलनको काम गर्न २०६५ मा चितवन आए ।
शिवनन्दन सुरुआतमा यो कामप्रति आफैँ पनि सकरात्मक थिएनन् । बिस्तारै यही काममा रमाउन थाले । काम नलाग्ने भनेर फालिएका सामानमा पैसा देख्न थाले ।
‘कवाडी भनेको सबैभन्दा राम्रो जागिर हो,’ उनी भन्छन्, ‘यसै फालिएका सामानले दोस्रो मौका पनि पाउँछ । पैसा पनि आउँछ । वातवरण पनि स्वच्छ सफा राख्न मद्दत हुन्छ ।’
तर, कवाड संकलकलाई गर्ने व्यवहारप्रति भने उनको चित्त दुखाई छ । आफूहरूलाई उपेक्षा गरेर बोलाइँदा दु:ख लाग्ने गरेको उनी बताउँछन् । ‘मान्छेले उपेक्षा गरेर बोलाउँछन्, साह्रै चित्त दुख्छ’ उनी भन्छन्, ‘हामी सफाईकर्मी पनि हौँ । त्यसैले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ । बरु हाम्रो जस्तो पेशा भएकालाई पनि परिचयपत्र बनाइदिए हुन्थ्यो ।’
कवाडी संकलन गरेर दैनिक गुजारा चलाउन सकिने उनले बताए । मासिक ४० देखि ५० हजारसम्म कमाइ हुने शिवनन्दनको अनुभव छ ।
०००
शिवनन्दनका दुई छोरा र एक छोरी छन् । छोरिको विवाह भइसकेको छ । जेठो छोरो भारतको नयाँ दिल्लीमा चार्टड एकाउन्टेन्ट पढ्दैछन् । कान्छो छोरो ६ कक्षामा पढ्छन् ।
‘ठूलो छोरोको लक्ष्य सीए बन्ने थियो । दुःख गरेर भए पनि पढाउँछु भनेर आँट गरेँ । छोराले त्यहीअनुसार पढ्यो,’ उनी खुसी हुँदै भन्छन्, ‘अब वैशाखमा उ सीए बनिसक्छ । विस्तारै हाम्लाई नी सुख होला नी !’
छोरालाई पढाउन उनले दिनरात नभनी कवाडी सामान संकलन गरे । पैसा नपुग्दा बैंकबाट ऋण लिए । विस्तारै किस्ता तिरे ।
उनकी श्रीमतीले गाउँमै भैँसी पालेकी छन् । खेतबारीमा कृषिजन्य उपज उत्पादन गर्छिन् । त्यहीँबाट घरव्यवहार तथा छोराहरू पढाउन सघाउ पुगेको उनी सुनाउँछन् ।
आफूहरूले अभाब र गरिबीमा जिन्दगी काटे पनि छोराहरूले त्यस्तो भोग्न नपरोस भनेर सचेत रहेको यादव बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७ ०८:४३