विवाहको उमेरमा पुगेकी तरुनी युवतीमा विवाह गर्ने अभिलाषा पैदा हुनु स्वाभाविकै हो । विवाह गर्ने सोच बनाएकी युवतीले आफ्नो मनले खाएको तरुनो भेट्दा उक्त तन्नेरीसँग लगनगाँठोमा बाँधिने रहर विकास हुनुलाई झन् स्वाभाविक मान्नुपर्छ । युवतीले भेटेको तन्नेरीमा पनि युवतीले इच्छा गरेअनुरुप उनैसँग विवाह गरी घरजम गर्न पाए धन्य हुने थिएँ भन्ने सोचाइ पुग्याे भने त्यो अवस्थालाई माङ्गलिकता वा शुभ-लाभको अवस्था ठानिन्छ ।
शुभ-लाभको अवस्थामा एकले अर्कोप्रतिको सम्मान र समर्पणभाव पैदा हुने हुँदा आफ्नो इच्छाअनुरूप एक तरुनी महिलाले तन्नेरी पुरुषसँग विवाहबन्धनमा बाँधिन निश्चय गर्ने शुभसाइत जुरेको मानिनुपर्छ । युवतीले आफूले मन पराएको युवासँग विवाहबन्धनमा बाँधिने निश्चयमा पुगेको आफ्ना माता-पिता, परिवार र आफन्तलाई जानकारी दिन स्वयंवर, मतलब आफूले आफ्ना लागि आफैँ जीवनसाथी चुन्ने औपचारिक कार्यक्रम गरिन्छ ।
स्वयंवरअगाडि महिलाको छनोटको भाग्यमानी पुरुष को रहेछ भनी स्वयम् तरुनी युवतीका माता-पिता, नजिकका आफन्त र साथीभाइसमेतमा गोप्य रहने हाम्रो परम्परागत चलन हो । विवाह स्वयंवरपश्चात् समाजलाई साक्षी राखी उमेर पुगेको केटा-केटीले आफू दुवै एकअर्काको राजीखुसीले संयुक्त जीवन जिउने निश्चय गरेको भन्दै औपचारिक सम्झौतामा बाँधिने परम्परागत शुभकार्य हो ।
विवाहको क्षणबाट उमेर पुगेका केटा-केटी दुवैलाई आफूलाई चित्त बुझेको र आफैँले चुनेको जीवनसाथीसँग संयुक्त जीवनयापन गर्न पारिवारिक, सामाजिक र कानुनी स्वीकार्यता र मान्यताप्राप्त भएको ठानिन्छ ।
तरुनी शब्दको अर्थ नवयुवती, तरुनी वा पट्ठी भन्ने हुन्छ । तरुनो शब्दले तरुण वा जवान वा तन्नेरी भन्ने जनाउँछ । तरुनी वातरुनो शब्द उमेर समूहभन्दा पनि शारीरिक, मनोवैज्ञानिक र यौनिक सबलताको अर्थमा बुझ्ने गरिन्छ । पुरुष शब्दले सामान्यतः लोग्ने मान्छे भन्ने बुझिने भएता पनि यसको चुरो अर्थ मानव जाति भन्ने लाग्दछ । जुन भाले वा पोथी जुनसुकै लिंगको हुन सक्छ । विवाहका लागि सोच विचार गर्दैगर्दाको अवस्थामा वैवाहिक बन्धनमा बाँधिने निश्चय गर्ने जोडीका दुवै सदस्य मनोवैज्ञानिक र शारीरिक हिसाबमा वीर, आँटी तथा पुरुषार्थपनको गुण र विशेषतायुक्त चरणमा रहेको परिकल्पना गरिएको देखिन्छ । जहाँ पुरुषार्थ शब्दले सकारात्मत मानव ऊर्जा इंगित गर्दछ ।
वेदले विवाहलाई सुसंस्कृत मानव वंश सुचारु गर्न सहयोग पुर्याउने मानव धर्म मान्दछ । संस्कृतमा धर्मको अर्थ सद्भाव, स्थिरता, स्व-अनुशासन र लोककल्याणमा सहयोग पुर्याउने महत्त्वपूर्ण गतिविधि भन्ने लाग्दछ । सारमा विवाह लोककल्याणकारी, राम्ररी संस्कार गरिएको शिक्षादीक्षा, नैतिक-मर्यादा, सत्सङ्ग आदि प्राप्त सु-सभ्य मानव जातिको नियमितता गर्न सहयोग पुर्याउने शुभलगन हो । संस्कृतमा श्रीमतीलाई सह-धारिणी शब्द दिइएको छ । सह-धारिणीको अर्थ हो- श्रीमान्को समान हैसियतमा रहेकी धर्मधारा । धर्मधाराको अर्थ श्रीमान्लाई सही मार्गमा हिँडाउने तागत राख्ने जीवनसाथी । फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकारी मानिने नवग्रहमध्ये सातौँ ग्रह हो शनि ।
शनि सूर्य र पत्नी छायाको पुत्र ठानिन्छ । सूर्य लगातार सकारात्मक ऊर्जा उत्सर्जन गरिरहँदा सूर्यको निकै परको दूरीमा रहने, सूर्यको विपरीत गुण हुने शनि आफ्नै माता-पिताको सकारात्मक ऊर्जाको अवशोषण गर्ने र नकारात्मक चेतनाको बिस्तार गरिदिने चरित्रको मानिन्छ । संसारका हरेक प्रकारका दुर्गुण र दुस्मनीलाई जित्न सक्ने तागत माया, दया र करुणामा मात्र रहने गर्छ ।
हरेक स्त्री जाति शरीरको संरचनाको हिसाबबाट नै माया, दया र करुणाको खानी नै रहन्छन् । स्त्री जातिमा रहेको सहनशीलता र हरेक हन्डर टक्करविरुद्धको तागतिलो प्रतिरोधी क्षमताले उनीसँग शनि ग्रहको नकारात्मक पक्षलाई समेत शुभ गर्ने क्षमता 'शुभाशनी' रहन्छ । फलतः परिवार र समाजमा एकताको 'सुवासना' तथा सबै आ-आफ्नो स्थानमा आफ्नै परिधिमा राजीखुसी रहने 'शुभ-आसन' पैदा गर्न सम्भव बन्छ । शुभाशनीयुक्त सुवासनी- सुभासनी स्वास्नीको रूपमा पुजिञ्छिन् ।
हाम्रो परम्परामा विवाहको सबैभन्दा पहिलो साक्षी आगो राखी सामान्यतया वेदको मन्त्र उच्चारण गरी विवाह सम्पन्न हुन्छ, जहाँ यज्ञमा हुने आगो एक पवित्र सार्वभौम ऊर्जाको प्रतिमूर्तिको प्रतीक हो । हाम्रो परम्पराअनुरुप स्व-विवेकले, आफ्नै चाहनाले, कसैको करकापबिना, कुनै लोभमा नपरी, पवित्र मनले जीवनभर समान हैसियत र सम्मानमा रहने सर्तमा मात्र विवाह गर्ने छुट मानव जातिलाई रहन्छ । अन्यथा आजीवन ब्रह्मचारीको जीवन चुन्ने विकल्प रोज्न सुझाइन्छ ।
एकअर्काको सहयात्रा गर्ने कसम खाँदै जीवनभर अनिवार्य समान हैसियत र सम्मानमा रहने अनुबन्ध रहने सर्तमा शुभविवाहको पवित्र सम्झौतामा वा लगनगाँठोमा कसिन सम्भव ठानिन्छ । विवाहको पहिलो साक्षी जागियाको आगो छान्नुको अर्थ आफूले भर्खरै गरेको औपचारिक बाचा, सम्झौता र प्रणको व्यावहारिक अनुभूति दिलाउने मनोवैज्ञानिक काइदा नै हो ।
विवाहको प्रण र सम्झौताको मूल मर्मले हरेक विवाहित जोडीले गृहस्थाश्रमको नियमअनुसार आफ्नो घर चलाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । उक्त बाध्यात्मक व्यवस्थाका कारण विवाहलाई विवाहबन्धनमा बाँधिनु भनिएको हो । गृहस्थाश्रमका लागि विवाहित जोडीले एक-आपसमा अनिवार्य सहिष्णुता, आत्म-त्याग, उपकारी मनोवृत्तिजस्ता गुणयुक्त बन्नु जरुरी हुन्छ ।
विवाहले दुवैलाई आफ्नो जीवनसाथीप्रति उच्च सम्मान गर्न, पूर्ण समर्पित रहेर सहयोग गर्ने चरित्रको निर्माण गर्न र त्यसलाई घरपरिवारको संस्कारको रूपमा विकास गर्न सहयोग पुर्याउँछ । जुन चरित्र हरेक मानव भ्रूणमा रहँदा विकसित बनिसकेको हुन्छ । मात्र उक्त विकसित चरित्रलाई व्यवहारमा उतार्न विवाहबन्धनले प्रभावशाली भूमिका खेल्ने गर्छ ।
हाम्रो समाजको सचेत भनिएको वर्गले जब सामाजिक हितभन्दा आफ्नो निजी स्वार्थलाई उच्च स्थानमा राख्न सुरु गर्यो, तब हाम्रा परम्परागत उत्कृष्ट चलन, मान्यता र मूल्यहरूलाई मानिसहरूले आफूलाई जसरी सहज हुन्छ, त्यसरी व्याख्या गर्ने धृष्टता गरेको भेटिन्छ । समय क्रममा मानिसका निजी स्वार्थहरू बिस्तारै समूहगत, धर्मगत, लिङ्गगत, जातिगत स्वार्थमा बदलियो । मानवता, इमान, जमान, व्यक्तिगत स्वच्छन्दता, सामाजिक न्याय सबै समूहगत मुनाफा, फाइदा, शक्ति प्राप्ति, वैभव प्राप्ति, सम्मान प्राप्ति आदिको निहित स्वार्थको चपेटामा पर्न गए ।
गुटगत र पेसागत स्वार्थले जकडिएको समाजमा बदनियतपूर्ण रूपमा स्थापित चलनहरू सामाजिक परम्परा, कानुन र धर्मको नाममा शोषण र उत्पीडनको माध्यम बने । विवाह पद्धतिसमेत त्यसको सिकार बन्यो । दुई आत्मीय मनहरू स्वविवेकले मिलेर जीवनयापन गर्नेजस्तो नितान्त निजी कार्यसमेत आफन्त, समाज, पण्डित, नेता र शासकको श्री र समृद्धि प्राप्तिका साधन बने । फगत सामाजिक, आर्थिक, मनोवैज्ञानिक, पारिवारिक, धर्मगत, जातगतलगायतका विभिन्न करकापमा सम्पन्न अत्यधिक विवाहहरू विवाहकै बिन्दुबाट एक पक्षले अर्को पक्षलाई राजीखुसीको ट्याग लगाइदिएर बलात्कार गर्न स्वीकृति प्रदान गर्न योजना गरिएको कानुनी सामाजिक कार्यमा सीमित बनिदिन थाल्यो ।
वेदका शब्दहरूमा खेल्दै आफ्नो कलुषित नियत प्राप्ति गर्न ठूलाठूला धार्मिक गुरु कहलिएका अधर्मका महिषासुरहरूले अधार्मिक स्मृति लेखनमार्फत सफेद झुटलाई कृतिका रूपमा समाजमा स्थापित गराएर हाम्रो निजी जीवन जिउने स्वच्छन्दतामाथि समेत निर्मम बलात्कार गर्न पुगे । वेदको मर्मलाई नै उल्लङ्घन गर्दै नेपाली समाजमा विगतमा मूलत: आठ प्रकारका विकृतपूर्ण विवाहहरू अस्तित्वमा देखिए । आज हुने विवाहहरूसमेत यिनै विकृतपूर्ण विवाहको गहिरो प्रभावबाट गुज्रिरहेको तपाईं हामीले अनुभूति गर्न सक्दछौँ ।
ब्रह्म विवाहमा गुरुकुलमा स्नातक तह उत्तीर्ण गरी चार वेदको अध्ययन पूरा गरेको केटालाई केटीका आमाबुबाले बिहे गरी अन्माएर पठाउने विवाहलाई ब्रह्म विवाह भनियो । वेदको अध्ययन पूरा गरेको केटा प्रतिभाशाली हुने भन्दै छोरीको कन्यादान गर्ने विवाहको परम्परा भनियो । कन्यालाई गाईवस्तुजस्तो दान दिने विलासीको वस्तु ठान्ने नियत बोकेको समाजको बौद्धिक मानिने वर्गको स्वार्थसिद्ध गर्न तिनै वर्गले धर्मको कलुषित व्याख्या गरी ब्रह्म विवाह उत्कृष्ट विवाह भन्ने धृष्टता गरियो । सूर्यको चन्द्रमासँग ब्रह्म विवाह भएको भन्ने भ्रमसमेत तिनै वर्गबाट छरियो, जबकि वेदमा कन्यादान भन्ने शब्द नै छैन । बरु कन्याको दान गर्न सक्ने हैसियत यो प्रकृतिमा कसैसँग रहँदैन भन्ने पक्षमा वकालत गर्दछ ।
सुन्दर कन्याका मातापिताले मन्दिरको पुजारी र पुरोहितलाई धनदौलत र सम्मानसहित सुम्पने विवाहलाई देव विवाह भनियो । एक सामान्य परिवारमा खुसीको मौका होस् वा दु:खको, जुनसुकै कार्यमा पनि पुजारी र पुरोहितलाई धनदौलत सम्मान अनिवार्य मिल्ने सामाजिक रीतिको विकास गरियो । घरमा हुर्किएका सुन्दर बालिकासमेत दानका लागि उनीहरू नै योग्यताको पहिलो सूचीमा पर्ने योग्य देव रहेको धारणा समाजको भित्री तहसम्म स्थापित गरियो । राजाको वा तत्कालीन शासकको सुराकीको काम गर्ने यस्ता देवहरूका संरक्षक रहेका राजा-महाराजा महादेवको असली रूप भन्दै समाजमा सङ्गठित शोषण र उत्पीडनको सञ्जाल निर्माण गरियो ।
कुनै तपस्वी वा ऋषिले केटीका बाबुआमालाई एक वा दुई जोडी गाई वा गोरु तथा केही लुगाहरू दिएर उपहार दिएर केटीको बाबु-आमाले गर्ने कन्यादान स्वीकार गर्ने विवाहलाई अर्श विवाह भनियो । अर्श विवाहमा दुलही अमूल्य हुने स्वीकार्ने, दुलहीको रूपमा आफ्नी छोरी दिएर ऋषिको 'गृहस्थ धर्म' सफल पारिदिने व्यक्तिलाई कृतज्ञतास्वरुप उपहार दिने गरिए तापनि कन्याको आत्मा अधिकार, स्वतन्त्रता र महिला दानमा लिनदिन सकिने वस्तु होइनन् भन्ने धारणाको यो पद्धतिको विवाहले समेत उलङ्घन गरेको देखिन्छ ।
विवाहजस्ता जबर्जस्ती लादिएको रीतिरिवाजका सन्दर्भमा तपस्वी तथा ऋषिहरूसमेत तत्कालीन महादेव कहलिने राजा महाराजा र देव कहलिने राजाका सुराकीका रूपमा गाउँगाउँमा आफूलाई देव घोषणा गर्दै पण्डित्याइँ गर्ने उत्पीडक वर्गको संयन्त्रको मतियारको भूमिकामा उपस्थित रहने गरेको बुझिन्छ । समाजको बौद्धिक वर्ग नै कुनै न कुनै रूपमा मुलुकको शोषणमार्फत आफ्नो जीविका सहज गर्ने उक्त प्रवृत्ति नेपालमा हालसम्म निर्मूल हुन सकेको छैन ।
धनी व्यक्तिको सम्पत्तिमा रजाइँ गरी छोरीले ऐसआरामको जीवन बिताउन सक्छिन् भन्ने लोभमा मातापिताले धनी केटालाई विवाहमार्फत मान सम्मानसहित दान दिने विवाह प्रजापत विवाह हो । यस्तो विवाहमा अर्काले जोडेको सम्पत्तिमा मोजमस्ती लिन सकिने र जीवन सुखी रहने नियत लुकेको हुन्छ । जुन न त वेदको नियमअनुरूप हो, न उक्त प्रकारको विवाहले नारीको जीवन नारकीय हुनबाट रोक्न सक्ने कुनै आधार नै भेटिएको छ ।
केटा र केटीबीच राजीखुसीले आफ्नै चाहनाअनुरूप गरिने विवाह गन्धर्व विवाह हो । आज भोलिको प्रेम विवाहजस्तो विवाह हो गन्धर्व विवाह । जहाँ स्वयंवरजस्ता कार्यक्रम हुन्थे तर कलुषित कन्यादान भने हुने गर्थेन । स्वयंवरपश्चात् हुने विवाहमा कन्यादान भन्ने कतै सुनिदैन्थ्यो । कन्यादानको कार्यक्रम बीचमा घुसाउन सक्दा विवाहमा थप आय गर्न सकिने रणनीतिअन्तर्गत बीचमा पण्डितहरूले गन्धर्व विवाहमा समेत कन्यादान थपेको बुझिन्छ । प्रेमविवाह नामकरण भएको गन्धर्व विवाहमा आजभोलि इन्गेजमेन्टको नाममा सक्कली स्वयंवर हुने, तर भागेर विवाह गर्न नपर्दाको अवस्थामा नकार्न अनिवार्य ठानिने कन्यादान हुने, दाइजोसमेत खोजिने कुप्रथा भित्रिएको भेटिन्छ ।
केटीको रगतको नाता गाँसिएका आफन्तलाई मारी वा घाइते बनाएर जबर्जस्ती उनका मातापिताबाट लुटी लगेर उनको कुमारीत्व नष्ट गरी गरिने विवाहलाई राक्षस विवाह भनियो । जुन पहिले पनि गैरकानुनी मानिन्थ्यो । तर, शक्ति र पहुँचमा रहेका, गुन्डागर्दीमा संलग्नहरूबाट यस्तो दुष्कर्म पटकपटक हुने गरेको देखिन्थ्यो । त्यस्तै, केटीको मातापितालाई धन सम्पत्ति दिएर खरिद गरी हुने विवाहलाई असुर विवाह भनिन्थ्यो । सुतेको समयमा वा कुनै नसाको उन्मादमा रहँदा, मनोवैज्ञानिक हिप्नोटिज्म गरी, मोहनी लगाई, मनोवैज्ञानिक समस्यामा रहँदा वा क्षणिक प्रभावमा पारेर करकापमा केटी मानिसको कुमारीत्व लुटी आफूसँग विवाह गर्न बाध्य पार्ने विवाहलाई पिशाच विवाह भनिन्थ्यो ।
पीडित पक्षमा पुगेको अन्याय र अमानवीय व्यवहारको कारणबाट भन्दा चुरो कारणमा राक्षस विवाह, असुर विवाह र पिशाच विवाहमा पण्डित तथा पण्डितका रक्षक राजा महाराजाहरूको आम्दानीको स्राेत नहुने अवस्था रहने भएकाले गैरकानुनी भनिएको थियो । पण्डित तथा राजा महाराजाहरूलाई उचित नजराना दिन सक्दा यस्ता विवाह पनि उनीहरूले अब उपरान्त कानुनी मानिने घोषणा गरिदिन्थे ।
संस्कृत भाषामा श्रीमान्लाई जनाउने विभिन्न शब्दहरू छन् । जस्तै: पति, भर्त्ता, भर्त्तृ, स्वामी, स्वामिन्, वरः, वोढा, वोढृ, विवोढा, वरयिता, वरयितृ, कान्तः, परिणेता, परिणेतृ, परिणायकः, नाथः, इष्टः, दयितः, प्रियः, प्रियतमः, धवः, उपयन्ता, उपयन्तृ, परिग्रहिता, परिग्रहितृ, क्षेत्रिकः, हृदयेशः, प्राणेशः, जीवितेशः, प्राणनाथः, प्राणाधिनाथः, वेत्ता, वेत्तृ आदि ।
त्यस्तै, संस्कृतमा श्रीमतीलाई पनि धेरै शब्दबाट इंगित गरिन्छ । जस्तै: भार्य्या, वामाङ्गं, स्त्री, पत्नी, जाया, दारा, वधूः, बधूः, कलत्रं, गृहिणी, गेहिनी, पाणिगृहीता, सहधर्म्मिणी, प्रेष्ठा, वनिता, द्वितीया, सधर्म्मिणी, प्रेयसी, गृहं, अर्द्धाङ्गं, धूता, परिग्रहं, क्षेत्रं, दयिता, कान्ता, वल्लभा, प्रिया, प्रियतमा, रमणी, नायिका, प्राणेशा, प्राणसमा, प्राणसखी, विवाहिता आदि ।
हाम्रो आफ्नो परम्परागत रैथाने चलन चल्तीको जिब्रोमा बसेको मीठो भाषामा श्रीमान्लाई लोग्ने वा पोइ वा बुडो भन्ने गरिन्थ्यो । श्रीमतीलाईभने पत्नी,स्वास्नी वा बुढी । परिवारको छनोटवाट केटीले वरण गरेको पुरुष पति कहलिन्थे । केटीको आफ्नै छनोटको केटा भने पोइ कहलिन्थे । परिवारको छनोटका श्रीमान् परे वा केटीको रोजाइको परे भन्न नचाहँदा उनी लोग्ने कहलिन्थे । विवाहपश्चात् बच्चाबच्चीसमेत जन्मिसकेको लोग्नेलाई भने बुढाे भन्ने शब्द उपयोग हुन्थ्यो ।
प्रजापत विवाह वा असुर विवाह भएका कन्याको कुनै मानवअधिकार नरहने हुँदा उनीहरूलाई अरबी भाषाबाट सापटी लिएको शब्द 'महिला' प्रयोग गरिन्थ्यो । वेदको सारअनुरुप सम्पन्न गन्धर्व विवाह कानुनी थियो । स्वास्नी र पोइ राम्रो अर्थ दिने सम्मानित शब्द नै थिए । तर पनि गन्धर्व विवाहले पुजारी, पुरोहित र शासकलाई धन दौलत जोड्ने अवसरबाट विमुख पार्ने जोखिम रहेकाले विवाहित युवती र युवाले प्राप्त गर्ने स्वास्नी र पोइ शब्द पुजारी, पुरोहित र शासकको हमेसा कटु आलोचना र निन्दाको शब्द बने । समाजले अन्ततः होमा हो मिलायो ।
भनिन्छ, केटा मानिस प्राय: सम्भोगका लागि प्रेमतर्फ आकर्षित बन्ने गर्दछन् । केटी भने माया प्राप्तिका लागि सम्भोगतर्फ आकर्षित हुन्छिन् । हाम्रो मान्यतामा बिहे गर्ने उमेर पुगेको हरेक केटा मानिस हलक्क बढेको मस्त शरीरको जोसुकै युवती देख्दा आकर्षक हुने कमजोरीसहित जन्मेको हुन्छ । त्यसैले विवाहमा केटाले मन पराएको केटी हो-हाेइन भन्दा पनि केटीले मन पराएको केटासँग विवाह भयो भएन भन्ने कुराकाे ठूलो अर्थ रहने गर्दछ ।
स्वयंवरमा आफूले चुनेको केटाको श्रीमती बन्ने हुँदा स्वयंवरमार्फत बनेकी श्रीमतीलाई स्वास्नी भनिन्थ्यो । हक्की स्वभावको निडर तर ममतामयी, आफ्नो निर्णय आफैँ लिने चतुर केटी मान्छेलाई स्वास्नीमान्छे भनिन्थ्यो । नत्र आइमाईको संज्ञा पाउँथे ।
परिवारको छनोटको कन्यादान गरी दिइएकी श्रीमती पत्नी कहलिन्थिन् । झुक्याएर गरिएको वा लुटको विवाहकी महिला दासी वा रखेल ठानिन्थिन् । स्वयंवरबाट चुनिएका वरले वेदको विधिपूर्वक बधूको हात औपचारिक रूपमा ग्रहण गर्ने पाणिग्रहण प्राप्त गृहिणीले मात्र स्वास्नीको दर्जा पाउँथिन् । त्यस्ता सौभाग्यशाली पुरुष 'पोइ' कहलिन्थे ।
पोइसँग पोइको घर जाने कामलाई पोइला जाने भनिन्थ्यो । पोइलाई आफ्नै घरमा राख्दा श्रीमतीलाई जोई भनिने र श्रीमान्लाई जोइल गएको भनिन्थ्यो । परिवारको छनोटको विवाहमा भने पतिसँग घरजम गर्न जाने कामलाई जन्मघर छोडेर कर्मघर गएको संज्ञा दिइन्थ्यो । पतिलाई आफ्नै घरमा राख्दा घरज्वाइँ बसेको भनिन्थ्यो ।
धर्म वा संस्कारको नाममा वेदले स्वीकार्न नसक्ने दुराशययुक्त अवलेहहरूलाई जानेर वा नजानेर नकार्न नसकी वा मौन स्वीकृतिमा पछ्याउँदै गर्दा हामी नेपाली समाजका निकै ठूलो तप्का आज महिला उत्पीडन र शोषण गर्ने प्रणालीको मौन संरक्षक बनिरहेका छौँ । म पनि त्यसैको एउटा मूकदर्शक पात्र बनिरहेको अनुभूति हुन्छ । आफूबाट भइसकेका त्रुटिलाई विगतमा फर्केर सुधार्न सम्भव नहोला । तर, भविष्यमा यस्ता गल्ती अन्यत्र दोहाेरिन नदिन भूमिका खेल्न सकिन्छ । हालका लागि मैले भने एक प्राय:श्चित गर्ने अठोट लिएको छु । आफ्नै कन्यादानमार्फत विवाहबन्धनमा बाँधिएकी धर्मपत्नीसँग आफूलाई सकिन्छ आजैको मितिदेखि सकिन्न अर्को जन्ममा आफूलाई पोइको रूपमा स्वीकारिदिन अनुरोध गर्ने ।
मेरी प्रियतमा, म तिम्रो पति, सम्भव हुन्छ भने आजैको मितिदेखि हुँदैन भने अर्को जुनीमा तिम्रो पोइ हुन पाऊँ भन्ने ईश्वरसँग इच्छा जाहेर गर्न चाहन्छु । मेरो यो एकतर्फी अभिलाषा हुन सक्छ । तिम्रो सहमतिबेगर मैले प्रकट गर्ने मागले तिम्रो अन्तरमनको स्वतन्त्रताको हिंसा गरिदिनेछ । मानवअधिकारभन्दा ठूलो अन्तर्मनबाट आफ्नो जीवन/गन्तव्य आफ्नै इच्छाअनुरूप जिउन पाउने धर्माधिकार बृहत् रहन्छ ।
हिंसाको माग लिएर ईश्वरसम्मुख पुग्ने मानवको इच्छा पूर्ति गर्ने अधिकार स्वयम् ईश्वरसँग समेत रहँदैन । प्रकृतिले तोकिदिएको अधिकारक्षेत्रअन्तर्गत हरेक हिंसा सजायको भागी हुनुपर्छ । तिमीलाई गुमाउन नपर्ने र सजायको भागी नबन्ने बाटो पकड्न मैले तिम्रो मन र मेरो मनबीचको एक साक्षात्कार भेटवार्ताको अपेक्षा गरेको छु । मेरो इच्छा ईश्वरसँग जाहेर गर्नुअघि तिमीसँग अनुरोधसहितको एक बिन्ती बिसाउने निश्चय गरेको छु । मलाई आजैको मितिदेखि तिम्रो पोइको रूपमा स्वीकारिदिनु नि है ! अर्को जुनीमा पनि तिमी मेरो स्वास्नी बन्दिनु नि है ! तिम्रो पोइ हुने मेरो इच्छा पूरा गरिदिनु न है !
(क्यानडानिवासी घिमिरे खाद्य वैज्ञानिक र औषधिविज्ञ हुन ।)
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७ १८:३९