नेकपा प्रचण्ड–माधव नेपाल समूहका जनताको बहुदलीय जनवाद (जबज) पक्षधर नेता प्रदीप नेपालले ११ पुसमा फेसबुकमा लेखे, ‘साथी हो, जनताको बहुदलीय जनवाद नै नेपालको मार्क्सवाद हो । एक दिन सबै एक ठाउँमा भेटिनै पर्छ । त्यसैले गालीगलौज नगरौँ है ।’
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको ५ पुसको कदमपछि सत्तारुढ नेकपा दुई चिरामा बाँडियो । नेता–कार्यकर्ताहरू एकअर्कालाई दोष लगाउँदै गालीगलौजमा उत्रिइरहेका थिए । त्यही सन्दर्भमा मालेकालीन नेता नेपालले सामाजिक सन्जालमै यस्तो आव्हान गरेका थिए । उनले भनेझैँ दुई नेकपा जबजमा भेटिने सम्भावना भने तत्काल देखिएको छैन ।
मदन भण्डारी र उनले प्रतिवादन गरेको सिद्धान्त जबजले तत्कालीन नेकपा (एमाले) लाई बितेका ३० वर्ष एकैठाउँ राख्यो । एमालेको संसदीय राजनीतिको एउटा अस्त्र थियो, जबज । कतिसम्म भने २०५४ सालमा पार्टी विभाजन हुँदासमेत एमाले र माले दुवैले जबज स्वीकारेका थिए । चार वर्षपछि माले नेता कार्यकर्तालाई एमालेमा फर्किन त्यही वैचारिक आधारले सहज तुल्याएको थियो । भलै, जबज नमान्ने नेता सीपी मैनाली एमालेमा फर्किएनन् । उनी अहिले पनि माले महासचिव छन् ।
नेकपाको अहिलेको विभाजन मूलतः पूर्वएमालेको विभाजनजस्तो देखिन्छ । पूर्वमाओवादीको ८० प्रतिशत पंक्ति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै हुँदा पूर्वएमाले भने नवौँ महाधिवेशनका दुई प्यानलका रूपमा बाँडिएको छ ।
पूर्वएमालेको ठूलो पंक्ति अझै पनि त्यही जबजमा विश्वास गर्छ । विभाजित नेकपाका दुवै समूहमा पूर्वएमाले हाबी पनि छ । तर, दुवै नेकपाले जबजलाई बोकेर हिँड्ने स्थिति भने तत्काल देखिँदैन । पूर्वएमालेको तल्लो पंक्तिलाई प्रभावित गर्न दुवैले भित्रभित्रै जबजको रटान लगाउन भने छाडेका छैनन् ।
पूर्वएमालेका दुवै समूहले एकअर्कालाई जबज छाडेको आरोप लगाइरहेका छन् । माधव नेपाल पक्षीय नेकपाले प्रधानमन्त्री केपी ओलीले तत्कालीन माओवादी केन्द्रसँग एकता गर्दा रातारात जबज हटाएको आरोप लगाइरहेको छ । नेकपा ओली समूह भने नेता नेपालले जबज त्यागेर प्रचण्डसँग गठजोड गरेको भन्दै गाउँ पुगेको छ । तर, ५ पुस यताका कुनै पनि बैठक वा भेलामा कुनै पक्षले औपचारिक रूपमा जबजको विचार अघि सारेको छैन ।
पार्टी विभाजनमा पूर्वमाओवादी पनि दुवै कित्तामा बाँडिएका छन् । त्यसले पनि तत्कालै जनताको जनवाद हटाएर जबजमा फर्किन दुवै पक्षलाई असजिलो बनाएको छ ।
पार्टीमा आफूविरुद्ध घेराबन्दी गरिएको महसुस गरेपछि १९ कात्तिकमा प्रधानमन्त्री ओलीले प्रदेश १ का आफूनिकट नेकपा नेताहरूसँग भर्चुअल संवाद गर्दै जबजको पक्षमा माहाैल बनाउन निर्देशन दिएका थिए ।
देशभर पूर्वएमाले पंक्तिमा ओली समूहले जबज र पूर्वपार्टी ब्युँताउने सन्देश प्रवाह गरेका थियो । जिल्ला तहमा ओलीपक्षीय नेताहरू जबजकै वकालतमा छन् । तर, ७ र ९ पुसको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जबजको उच्चारणसम्म गरेनन् ।
पूर्वमाओवादी खेमाका रामबहादुर थापा (बादल) छेउमै थिए । त्यसैले पनि उनले जबजका आधारभूत मान्यताको व्याख्या गरे, तर पार्टीको विचार जनताको जनवादमै अडिए ।
वरिष्ठ नेता माधवकुमार नेपालले एक टीभी अन्तर्वार्तामा ‘ओलीले प्रधानमन्त्रीसँग जबज साटेको’ आरोप लगाएका थिए । पूर्वएमाले पंक्तिलाई जोड्न अहिले पनि उनी भित्री बैठकहरूमा महाधिवेशनपछि पार्टीको विचार जबज हुने बताइरहेका छन् । उनकै निर्देशनमा नेपालपक्षीय नेताहरू पार्टी एकताका बेला ओलीले जबजमा अडान लिन नसकेको आरोपसहित गाउँ पुगेका छन् ।
प्रचण्ड–नेपाल समूहलाई तुलनात्मक रूपमा जबज स्वीकार्न ज्यादा कठिन छ । जबजलाई स्वीकारेको भए प्रचण्ड ओलीसँग मिलिसकेका हुन्थे । ३ साउनको भेटमा दुई अध्यक्षबीच महाधिवेशनसम्म मिलेर जाने र प्रचण्डलाई महाधिवेशनपछि अध्यक्ष बनाउने सहमति भयो ।
प्रचण्ड आफैँले त्यो सहमतिको साक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राख्न चाहेका थिए । उनले महासचिव विष्णु पौडेललाई राष्ट्रपतिको समय मिलाउन अह्राए पनि । तर, प्रधानमन्त्री ओलीले महाधिवेशनपछिको अध्यक्ष बनाउन प्रचण्डले जबज स्वीकार्नुपर्ने सर्त अघि सारे ।
ओली समूह नरहेको नेकपाको प्रचण्ड–नेपाल समूहमा पूर्वएमाले सुरुदेखि नै स्थायी र केन्द्रीय कमिटीमा अल्पमतमा परिसकेको छ । संसद् पुनःस्थापना हुँदासमेत पूर्वएमालेबाट सांसद भएका दुईतिहाई सदस्य ओलीतिरै छन् । यो स्थिति महाधिवेशनसम्म पुग्दा नेकपा प्रचण्ड–नेपाल समूह जबजमा फर्किने सम्भावना छैन
पार्टी एकताका दुई साक्षी विष्णु पौडेल र जनार्दन शर्मालाई अगाडि राखेर शीतल निवासमा ओलीले त्यो प्रस्ताव गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी पनि प्रचण्डलाई जबज स्वीकारेर पार्टीको नेतृत्व गर्न सल्लाह दिइन् । जबजलाई सर्त बनाइएपछि प्रचण्ड हच्किए ।
बाहिर ओली–प्रचण्डबीच सहमति भइसकेको हल्ला चलिसकेको थियो । साथीहरूसँग सल्लाह गर्छु भन्दै शीतलनिवासबाट निस्केका उनले गाडीबाटै छोरी गंगालाई फोन गरेर सचिवालयबाट कुनै सहमति नभएको स्टाटस लेख्न लगाए ।
ओलीलाई कारबाही गरेपछि प्रचण्ड–नेपाल समूहमा त्यसै पनि प्रचण्ड हाबी छन् । त्यसमाथि जबजको च्याप्टर क्लोज भएको घोषणा गरिसकेका नेता घनश्याम भुसालहरू पनि त्यही समूहमा छन् । अर्का वरिष्ठ नेता झलनाथ खनाल सुरुदेखिकै जबजका आलोचक हुन् । उनले जबजलाई दक्ष प्रजापतिको टाउकोसँग तुलना गरेका थिए । एमालेको नवौँ महाधिवेशनमा पनि दुई प्यानलले जबजलाई भिन्न ढंगले अघि सारेका थिए । नेपाल प्यानलले जबजलाई विकास गर्ने भनिरहँदा ओली पक्ष 'कमा र फूलस्टप' पनि नचलाउने पक्षमा थियो ।
ओली समूह नरहेको नेकपाको प्रचण्ड–नेपाल समूहमा पूर्वएमाले सुरुदेखि नै स्थायी र केन्द्रीय कमिटीमा अल्पमतमा परिसकेको छ । संसद पुनःस्थापना हुँदासमेत पूर्वएमालेबाट सांसद भएका दुईतिहाइ सदस्य ओलीतिरै छन् । यो स्थिति महाधिवेशनसम्म पुग्दा नेकपा प्रचण्ड–नेपाल समूह जबजमा फर्किने सम्भावना छैन ।
तुलनात्मक रूपमा ओली समूहलाई जबज ब्युँताउन सजिलो छ । जबज ब्युँताउने सर्तमा उपाध्यक्ष वामदेव गौतम ओली समूहमै खुल्ने सम्भावना छ । मदन भण्डारीले जबज प्रतिपादन गर्दा नेपाल, ओली र गौतम उनका सारथि थिए । राष्ट्रपति भण्डारीले गौतमलाई जबजको उत्तराधिकारीका रूपमा अघि सारेकी पनि थिइन् । हालै ओलीपक्षीय सुदूरपश्चिम प्रदेशका नेताहरूसँगको भेटमा गौतमले ओली समूहमा आउन राखेका चार सर्तमा एउटा आफूलाई जबजको प्रशिक्षक बनाउनुपर्ने पनि एक थियो ।
अर्को, ओलीले चाहँदा पूर्वमाओवादीको सानो हिस्सा रामबहादुर थापा बादल समूहले जबजमा ठूलो अवरोध गर्न सक्ने स्थिति पनि देखिँदैन । त्यसै पनि गृहमन्त्री थापाले मदन भण्डारीलाई सम्झिँदै सही विचारको पक्षमा आफू लागेको बताउन थालिसकेका छन् ।
ओलीनिकट नेता गोकुल बाँस्कोटा राजनीतिक रूपमा आफ्नो पार्टी जबजको पक्षमा रहेको बताउँछन् । ‘नेकपाको मूल नेतृत्व नै जबजको पक्षमा छ । त्यसैले हामी वैचारिक रूपमा बहुत प्रष्ट छौँ’, उनले भने, ‘अर्को के पनि प्रष्ट छौ भने प्रचण्डको पार्टीले जबज मान्दैन । त्यसैले पूर्वएमाले पंक्ति त्यता लाग्दैन ।’
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७ ०७:५८