प्रचण्डः कमरेड केपी ओली विचारमा स्खलित भइसकेको,कम्युनिस्ट पार्टीको विधि, विधान पद्धतिप्रति सम्पूर्ण रूपले मोह भंग भइसकेको प्रवृत्तिको प्रतिनिधि हुनुहुँदोरहेछ भन्ने देखियो ।
केपी ओलीः प्रतिस्पर्धा गर्न नमान्ने, डराउने र प्रतिस्पर्धामा हार व्यहोरेपछि मतपत्र च्यात्ने त्यो इतिहासबाट आएको हो केपी ओली ?
माधव नेपालः अरु सबैको खिसिट्युरी गर्ने तपाईंमा गलत प्रवृत्ति रहेछ । तपाईंमा लोकतान्त्रिक र कम्युनिस्ट आचरण रहेनछ ।
केपी ओलीः म माधव नेपालका विषयमा केही टिप्पणी गर्न चाहन्नँ । उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।
झलनाथ खनालः केपी ओली गोमन सापजस्तो हुनुहुँदोरहेछ ।
केपी ओलीः तपाईंहरू घाँसभित्र छिपेर बसेको हरियो सापजस्तो ।
सुरेन्द्र पाण्डे: केपी ओलीले २० महिनामा मर्छु भनेर पार्टी एकता गरेका थिए ।
केपी ओलीः तपाईंहरू सहीद भएर गएको भए श्रद्धाञ्जलि दिनुहुन्थ्यो, अहिले के भनेर स्मरण गर्ने ? तपाईंहरूले फोहोर मात्रै गर्नुभयो ।
सत्तारुढ नेकपा विभाजन भएसँगै आयोजित विभिन्न कार्यक्रममा प्रचण्ड-नेपाल समूह र केपी ओली समूहबाट एकअर्काप्रति घृणा र आक्रोश अभिव्यक्त गर्ने प्रतिस्पर्धा चलिरहेको छ । विभाजनपछि उनीहरू राजनीतिक विषयमा कम र व्यक्तिगत आक्षेपमा ज्यादा केन्द्रित छन् ।
दुवै पक्षको पटाक्षेप गैरराजनीतिक छ । यस्ता पटाक्षेपमा प्रधानमन्त्री ओली भने निकै खरो रूपमा उत्रिएका छन् । मनोविद्हरू नेताहरूको योजना र परिणामबीच तालमेल नमिल्दा निराशा हाबी भएका कारण यस्तो अभिव्यक्ति आइरहेको बताउँछन् । यस्ता अभिव्यक्ति र शैलीले राजनीतिप्रति वितृष्णा जगाउनुका साथै सामाजिक मूल्य र मान्यतालाई नै भत्काउने खतरा पैदा भएको समाजशास्त्री तथा मानवशास्त्रीहरूको भनाइ छ ।
मनोविद् विनोद पौडेल पार्टी विभाजनपछि उत्पन्न तनावले निराशातर्फ उन्मुख हुँदा नेताहरूको यस्तो अभिव्यक्ति आएको बताउँछन् । ‘पार्टी विभाजनपछि नेताहरूमा निराशा छ । त्यो निराशा लुकाउँदै कार्यकर्ताहरूमाझ केही उत्साह उत्पन्न गराउन उनीहरूले एक-अर्कालाई गिराउँदै आरोप लगाइरहेका छन्,’ पौडेलले भने ।
यस्तै, मनोविद् सन्देश ढकाल नेताहरूमा जवाफदेहिता कम स्वेच्छाचारिता बढी हाबी भएका कारण तल्लोस्तरको टिप्पणी गरेको बताउँछन् । ‘बोलेको कुराको परिणामको हिसाबकिताब केही गर्नुनपर्ने किसिमले स्वेच्छाचारिता बढ्यो भने मानिसले जस्तोसुकै भाषा पनि बोल्न सक्छ’, ढकालले भने, ’आफ्नो पदीय, मर्यादा, छवि तथा जिम्मेवारी बिर्सिएर तुच्छ टिप्पणी चरम निराशाको अवस्थामा आउँछ । योजना र परिणामबीच तालमेल नहुँदाको निराशाका कारण पनि यस्ता अभिव्यक्ति आउँछन् ।’
मानवशास्त्री सुरेश ढकाल नेताहरूले सिद्धान्तको राजनीतिभन्दा घृणाको राजनीतिलाई प्राथामिकता दिँदा यस्ता अभिव्यक्ति आइरहेको बताउँछन् । ‘राजनीतिमा अहिले सिद्धान्त र विचारलाई स्थान नै छैन । यस्ता अभिव्यक्ति आक्रोशमा आएका होइनन्, आचरणका कारण आएका हुन् । विचार र सिद्धान्तभन्दा पनि अरुलाई अपमानित गर्ने प्रवृत्ति हाबी भएका कारण यस्ता अभिव्यक्ति बारम्बार आइरहेका हुन्,’ ढकालले भने ।
यस्ता अभिव्यक्तिले राजनीतिक नेतृत्वमा आपराधिक मानसिकता हाबी भइरहेको समेत प्रष्ट पार्ने समाजशास्त्री मीना पौडेलको भनाइ छ । ‘पार्टीमा कसैप्रति कसैलाई विश्वास छैन । उनीहरूले आत्मविश्वास गुमाएका छन् । इमान्दारिता र निष्ठाको खडेरी भएपछि नैतिक धरातलबाटै गिरेर आपराधिक टिप्पणी र राजनीतिकभन्दा पनि व्यक्तिगत टिप्पणीमा लागिपरेका छन्,’ पौडेलले भनिन् ।
नेतृत्वले यस्ता अराजनीतिक र अमानवीय टिप्पणी गर्दा कार्यकर्ताले तलबाट बढी हौस्याउने गरेका छन् । ती हौस्याउने भीड समाजका लागि झन् खतरानक हुने समाजशास्त्रीहरूको चिन्ता छ । तिनले सामाजिक मूल्य र मान्यतालाई भत्काउने खतरा रहेको मानवशास्त्री र समाजशास्त्री ढकाल र पौडेल बताउँछन् ।
नेतृत्वको जस्तुसुकै भाषणमा समर्थन जनाउँदै ताली पिट्ने जमातले समाजलाई अँध्यारोतर्फ धकेल्न सक्ने मानवशास्त्री ढकालको चिन्ता छ । ‘कार्यकर्ताहरूले बुझ्नुपर्ने कुरा के हो भने अपमानको बदला अपमान र अमानवीयता होइन । तर भाषणमा यस्ता कुरा प्रतिबिम्बित हुँदा सबैभन्दा बढी ताली बज्छ । यसले समाजलाई आचारणहीन र विवेकहीन बनाउँदै नयाँ अध्यारो सिर्जना गर्न सक्छ यस्ता भीड समाजका लागि समस्या हुन सक्छन्,’ ढकालले भने ।
अबको राजनीतिक पुस्तामा झन् आपराधिक राजनीतिक संस्कार हाबी हुने खतरा रहेको समाजशास्त्री पौडेल बताउँछिन् । ‘माथिल्लोस्तरमा यो स्तरको गालीगलौजपछि आ आफ्ना खेमाका कार्यकर्ताहरूले त्योभन्दा पनि निकृष्टस्तरमा गाली गर्न थालिसकेका छन् । भोलिको राजनीतिक संस्कार झन् आपराधिक र घृणित हुने खतरा उत्पन्न भएको छ । नयाँ पुस्तालाई राजनीतिक शिक्षा पनि गलत हुने भएको छ,’ पौडेलले भनिन् ।
राजनीतिक रूपमा गिरेर प्रधानमन्त्रीलाई रत्नपार्कको श्रमिकलाई होच्याउने छुट नभएको पौडेलको टिप्पणी छ । ‘आफू माफियासँगको मिलमतोमा स्वास्थ्य सामग्रीमा अनियमितता गर्ने अनि गुजारा चलाउन रत्नपार्कमा औषधि बेच्ने श्रमिकको सहारा लिएर उसलाई समेत होच्याउँदै गाली गर्ने छुट प्रधानमन्त्रीलाई छैन,’ पौडेलले भनिन् ।
प्रधानमन्त्रीले समाजका हरेक तह र तप्काका नागरिकलाई सम्मान गर्नुपर्ने उनको मत छ । ओलीले प्रचण्ड-नेपाल समूहको आन्दोलनमा जम्मा भएका भीडतर्फ लक्षित गर्दै त्यति मान्छे रत्नपार्कमा औषधि बेच्नेले समेत जम्मा पार्ने भाषण गरेका थिए ।
व्यवस्था सदृढ भए पनि समुन्नत व्यवस्थाले माग गर्ने आचरण नेताहरूसमक्ष नभएको यस्ता अभिव्यक्तिले प्रस्ट पारेको उनीहरूको भनाइ छ । ‘व्यवस्था प्रगतिशील भए पनि नेताहरूको चेतना पछौटे रह्यो । उनीहरूमा सांस्कृतिक चेतनाको कमजोरी भयो,’ मानवशास्त्री ढकालले भने ।
उनीहरूको चेतनाको प्रभाव समाजमा समेत पर्ने भएकाले आफू सँगसँगै कार्यकर्तालाई सुधार्दै राजनीतिप्रति फैलिरहेको वितृष्णा कम गराउने र समाजलाई कलुषित हुनबाट जोगाउन नेताहरूले भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको सुझाव छ ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७ १९:००