म्याग्दीका चन्द्रप्रकाश बानियाँ तीन महिना पहिला एकाएक चर्चामा आए । २०७६ सालको मदन पुरस्कार उनको उपन्यास महारानीले पाएपछि चर्चा चुलियो । पहिल्यै तीन वटा पुस्तक लेखिसकेका उनी त्यतिन्जेल गुमनाम थिए ।
साहित्यिक क्षेत्रमा पनि उनलाई चिन्ने सायदै थिए । तर, जति चर्चा छ, त्यति उनको मनमा पीडा । धेरैलाई थाहा छैन, उनी ब्रेन ट्युमरका बिरामी हुन् । २०५० सालमा बहालवाला सांसद हुँदाबखत उनलाई ब्रेन ट्युमर देखिएको थियो ।
‘म चमात्कारमा विश्वास गर्दिनँ । तर, जीवनमा चमत्कार हुँदो रहेछ,’ लेखक बानियाँ भन्छन्, ‘३० वर्षदेखि क्यान्सरको जीवित कोष मस्तिष्कमा बोकेर हिँडिरहेको छु । स्वस्थ छु । आफ्नो काम गरेकै छु ।’ बुढ्यौलीमा पनि साहित्यिक जोस भएका उनै बानियाँ पोखरामा जारी नवौं संस्करणको नेपाल लिट्रेचर फेस्टिबलको स्टेजमा मंगलबार उक्लिए । सहजकर्ता राजेन्द्रकुमार बानियाँले ब्रेन ट्युमरको प्रसंग र त्यसपछि राजनीति छोडेकोमा पछुतो भए/नभएको भन्दै प्रश्न सोधे ।
डा. देवकोटाको सुझावपछि उनी दोधारमा परे । अर्को वर्ष मध्यावधि निर्वाचन हुने भयो । अनि उनी केही समय आराम गर्ने निर्णयमा पुगे । आराम गर्ने निधो गर्दै केही समयलाई राजनीति छोडेका उनी सधैँलाई अलग्गिए ।
जवाफमा उनले आफूलाई कुनै पश्चताप नभएको बताए । ‘बाँचेको छु । संसार देख्न पाइएको छ । राजनीतिमा अब्बल हुँदै गए मन्त्री भइन्थ्यो,’ उनले थपे, ‘त्यो भनेको गाली खाने नै हो । त्यसैले त्यो बाटो छोडेर अर्को बाटो हिँडेकोमा कुनै पछुतो छैन ।’
परिस्थति कस्तो बन्यो भने, बानियाँको उपचार गर्ने डाक्टर क्यान्सरकै कारण बिदा भए । ब्रेन ट्युमर देखिएपछि बानियाँको उपचार डा. उपेन्द्र देवकोटाले गरेका थिए । ‘म बाँचेकै छु । मेरो उपचार गर्ने र शान्त जीवन बिताउन सुझाउने डाक्टर बित्नुभो । यस्तो पनि हुँदो रहेछ,’ लेखक बानियाँ सुनाउँछन् ।
डा. देवकोटाको सुझावपछि उनी दोधारमा परे । अर्को वर्ष मध्यावधि निर्वाचन हुनेभयो । अनि उनी केही समय आराम गर्ने निर्णयमा पुगे । आराम गर्ने निधो गर्दै केही समयलाई राजनीति छोडेका उनी सधैँलाई अलग्गिए ।
समयले उनलाई लेखक बनायो । पोखरामै बस्ने भए पनि पोखराले चिन्थेन । यहाँ हुने साहित्यिक जमघटमा पनि देखिँदैनथे, बानियाँ । पोखरामा कमै साहित्यिकारले चिन्थे उनलाई । सहजकर्ता बानियाँले पोखरासँग जोडेर उनलाई प्रश्न गरे, -महारानीले मदन पुरस्कार पाएपछि पोखराले कसरी बधाइ दियो ?
बुढ्यौली स्वरमा उनी बोल्न थाले । ‘महारानी पुरस्कृत भयो । पोखरालाई हर्ष न विस्मातको स्थिति आयो । यो मान्छे को हो, कहाँ बस्छ भन्ने थाहै थिएन,’ लेखक बानियाँले प्रष्टयाउँदै थपे, ‘केही कार्यक्रममा साहित्य अनुरागीसँग चिनजान भयो । त्यसबाहेक म अझै पनि पोखराका लागि गुमनाम छु ।’
मदन पुरस्कार पाएपछि बानियाँसँग सुरुमा पृथ्वीनारायण क्याम्पसको नेपाली विभागले अन्तक्रिया गरेको थियो । जरोटुप्पो नामक साहित्यिक संस्थाले पनि पुस्तक परिचयात्मक कार्यक्रम गर्यो । त्यसपछि देश/विदेशमा भर्चुअल कुराकानी गर्न थाले । सहजकर्ता बानियाँले त्यही विषयलाई जोडेर अर्को प्रश्न सोधे, – पहिलो पुस्तक (उपन्यास) मै चर्चा र प्रशंसा पाउनुभयो । तपाईंले गर्व गर्न मिल्दैन ? रहर र अध्ययन दुई विषयलाई जोडेर लेखक बानियाँले जवाफ फर्काए ।

उनकै शब्दमा भन्ने हो भने रहर र अध्ययनले मान्छेलाई लेख्न प्रेरित गर्छ । रहर कालान्तरमा बानीमा परिणत हुन्छ । अर्को मान्छेले धेरै अध्ययन गरेपछि उसको मस्तिष्क भरिन्छ र छचल्किन्छ । उनले आफू दुवै कित्तामा नपर्ने सुनाए । ‘मैले १० वर्षसम्म केही पनि लेखिनँ । पुरस्कार पाउँदा खुसी नहुने को र ? म पनि एकदमै खुसी छु । सम्मान पुरस्कार गौरव गर्ने चिज हो । गर्व गर्ने होइन,’ उनले भने ।
महारानीपछि पछिल्लोपटक उनको भौंज्याहा निबन्ध संग्रह प्रकाशित भएको छ । तर, त्यसको चर्चा छैन । आफूले दुवै पुस्तक एकैपटक प्रकाशककहाँ पुर्याए पनि सार्वजनिक गर्दाको समयले पछिल्लो पुस्तक छायाँमा परेको हुनसक्ने लेखक बानियाँ बताउँछन् । ‘पुरस्कार पाउँछु भन्ने कल्पना थिएन । म अझै अचम्मित छु,’ उनले थपे, ‘पछिल्लो पुस्तक अनुकूल समयमा आएन कि ! महारानीले छायाँमा पारेजस्तो लाग्छ ।’
चन्द्रप्रकाशले महारानी उपन्यास म्याग्दीको ऐतिहासिक सन्दर्भमा पर्वत राज्यलाई आधार बनाएर लेखेका छन् । उनको पारिवारिक पृष्ठभूमिका कारण पर्वत राज्यका ऐतिहासिक दस्तावेज, लोककथा, किंवदन्तीलगायत सामग्रीमा पहुँच थियो ।
पुस्तकको नाम महारानी भए पनि घनश्याम नामक राजाको महिमामण्डनबारे पनि सहजकर्ता बानियाँले प्रश्न गरे । राजा घनश्याम र अन्य केही पात्रको चरित्र निर्माणमा केही समीक्षक र पाठकले आलोचना गरेको लेखक बानियाँले स्वीकारे ।
भावी पुस्तालाई पर्वत राज्यको इतिहासबारे जानकारी गराउन ‘महारानी’को जन्म भएको लेखक बानियाँले सुनाए । ‘पर्वत राज्यको इतिहास लेखिएको छैन । कसैले लेखेन मैले लेखी हालौँ भनेर लेखेँ । मसँग थुप्रै कथाहरू संकलित छन्,’ उनले भने, ‘मलाई ती कथा भावी पुस्तालाई सुनाउनुपर्छ भन्ने लाग्यो र महारानीको जन्म भयो ।’
पुस्तकको नाम महारानी भए पनि घनश्याम नामक राजाको महिमामण्डनबारे पनि सहजकर्ता बानियाँले प्रश्न गरे । राजा घनश्याम र अन्य केही पात्रको चरित्र निर्माणमा केही समीक्षक र पाठकले आलोचना गरेको लेखक बानियाँले स्वीकारे ।
‘उपन्यासका राजा घनश्यामलाई उदार, न्यायप्रेमी र प्रतापी देखाउनुमा मेरो राजनीतिक आदर्श र आमआकांक्षा पनि जोडिएको छ,’ उनले भने, ‘इतिहासका बारेमा लेख्दा वर्तमानमा उभिएर लेखिन्छ । वर्तमान राज्य पनि त्यस्तै भइदिए हुन्थ्यो भनेर मैले त्यस्तो बनाएँ हुँला ।’ उपन्यासमा वर्तमान राज्यलाई लिएर केही पक्ष बलियो बनाइए पनि महारानीको भूमिकालाई कमजोर नबनाएको उनले दाबी गरे । महारानीका पात्रमध्ये ९० प्रतिशत पात्र इतिहासबाट लिइएका छन् ।
सेसनको अन्तिमतर्फ लेखक बानियाँले गरेको कुरा निकै सोचनीय रह्यो । सहजकर्ताले उनलाई पुस्तकबाट भएको आम्दानीबारे सोधे । यो प्रश्न सायद साहित्यमा चासो राख्ने धेरैको मनमा थियो । तर, बानियाँको जवाफले सहभागीको ध्यान खिच्यो । प्रकाशकसँग सम्झौताबिनै काम भएको र पुस्तक कति बिक्री भयो भन्ने आफूलाई जानकारी नभएको उनले सुनाए । ‘मैले कति पाउनुपर्ने हो, त्यसबारेमा केही कुरै भएको छैन,’ बानियाँले भने, ‘नढाँटीभन्दा मैले पुरस्कारबाहेक पुस्तकबाट कमाएर एक छाक भात पनि खाएको छैन ।’
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७ २१:२०