उखुको भुक्तानी माग गर्दै काठमाडौंमा आएका एक उखु किसानको मृत्यु भएको छ । हृदयघात भएपछि गंगालाल अस्पतालमा पुर्याइएका उनको मृत्यु भएको हो ।
किसान नारायणराय यादव भुक्तानी उठाउन माग गर्दै सर्लाहीबाट काठमाडौं आएका थिए । अन्य किसानहरू २७ मंसिरमा काठमाडौं आएपनि उनी भने पछि आन्दोलनमा आएको किसान संघर्ष समिति सचिव हरिश्याम राय यादवले बताए ।
सोमबार आन्दोलन स्थगित गर्ने सवालमा वार्तामा सहभागी नभएका उनलाई बेलुका सहमतिको विषय जानकारी गराइएपछि हृदयघात भएको बताइइएको छ । तर सचिव यादवले भने आन्दोलन तोड्ने र सम्झौताका विषयमा सबैको सहमति रहेको दाबी गरेका छन् ।
मृतक यादव काठमाडौंमा पनि अन्य किसानहरूसँग बस्ने गरेका थिएनन् । काठमाडौंमा आन्दोलनमा आएका उनी दिनभर माइतिघरमा धर्ना र बेलुका गोठाटारस्थित कृष्ण प्रणामी मन्दिरमा बस्ने गरेका थिए ।
धर्मकर्म गर्नु पर्ने भएको भन्दै उनले आफू होटलमा नबस्ने बताएका थिए । १५ दिनदेखि वक्यौता रकम उठाउन माग गर्दै आएका किसानले सोमबार सरकारसँग वार्ता गरेका थिए । वार्ताका क्रममा २१ दिनभित्रमा सरकारले उल्लेख गरे बोमोजिमको भुक्तानी रकम पाउनु पर्ने र किसान र उड्द्योगीका छुट्टा छुट्टै विवरणको सवालमा अध्ययन गर्नु पर्ने निश्कर्षसहित आन्दोलन स्थगित गरिएको थियो ।
गत वर्ष पनि २ साताको समय दिएर किसानले आन्दोलन स्थगित गरेपनि एक वर्षसम्म पनि बक्यौता नपाएपछि पुन: आन्दोलन गर्न काठमाडौं आएका थिए ।
किसानले ९३ करोड रूपैयाँ बक्यौता उठाउन भएको बताएका छन् भने सरकारको विवरण जम्मा ६५ करोड रुपैयाँ रहेको छ । यो विषय पनि अहिले टुंग्याउनु पर्ने माग किसानको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७ ११:२७