अघाएका मान्छेहरूको भीडमा
पुष्पगुच्छाले पुरिएर
त्यही भीडहरूमा कतै छुट्यो
मेरो प्रिय मधेसी काका
ज्ञापनपत्र च्यापेर नाइटबस चढी
रत्नपार्क, खुल्लामञ्च वरपर
अब कुनै प्रचण्ड नखोज......।
प्रतिगमनविरुद्ध नागरिक समाजले गरिरहेको प्रदर्शनमा कवि राजु स्याङतानले माइतीघर मण्डलामा ‘छुटेको प्रचण्ड’ शीर्षकको कविता सुनाए । यो त्यही माइतीघर मण्डला हो जहाँ, ९ पुसमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल छातीमा ‘हामी यहाँ छौँ’ लेखिएको पोस्टर टाँसेर बसेका थिए ।
तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ (२०२६) पुस्तकमा ‘वक्ताहरूको कुनो’ शीर्षकको निबन्ध छ । लण्डन शहरको हाइड पार्कको उत्तर-पूर्व कुनामा मानिसहरू भेला भएर आफूलाई लागेका कुरा बोल्ने ठाउँलाई उनले वक्ताहरूको कुनो नाम दिएका छन् । त्यो कुनोमा पुगेर मानिसहरू सत्ता, समाज र सभ्यताका मन नपरेका कुराको विरोध गर्छन् । आलोचना गर्छन् ।

लण्डनभन्दा निकै टाढा, यता नेपालमा भने माइतीघर मण्डला प्रतिरोधी कुनो भएको छ । नागरिकले आफ्ना आवाज व्यक्त गर्ने थलो भएको छ । सिहंदरबारलाई आफ्नो आवाज सुनाउने चौतारी भएको छ ।
२०७२ मा पुरानो बसपार्कलाई भ्यू टावर बनाउने निर्णय भयो । रत्नपार्कलाई शुल्क तिरेर मात्र छिर्न पाइने बनाइयो । रानीपोखरी छेउको शान्ति बाटिकामा प्रवेश बन्द गरियो । खुलामञ्च, रत्नपार्क र शान्तिबाटकाबाट गुञ्जिने प्रतिरोधी आवाज माइतीघर सरे । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संविधानसभा भवन हुँदै संसद् भवन बनाएपछि बानेश्वर क्षेत्र निषेधित क्षेत्र घोषित भयो ।
राज्य सञ्चालनको केन्द्र सिहंदरबारबाट नजिकै भए पनि माइतीघरमाबाट उठेका प्रतिरोधी आवाज सिहंदरबारले सायदै सुनेको छ ।
सहरको सोभा बढाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि स्वर्गीय माधव घिमिरेले २०७३ मा माइतीघरमा १ सय फिट अग्लो खाँबोमा राष्ट्रिय झण्डा फहराए । त्यही राष्ट्रिय झण्डामुनि विरोधका स्वर गुञ्जिन्छन् । आक्रोशका चिच्याहट सुनिन्छ । दुःख र पीडाका मसिना स्वर पनि सुनिन्छन् ।
जनयुद्धका घाइतेदेखि द्वन्द्वकालका पीडित सेना-प्रहरीले अनशन बस्ने थलो बनेको छ, माइतीघर । बलात्कारीविरुद्ध नारा चर्काउने ठाउँ हो, माइतीघर । लोकतन्त्रको पक्षमा जनलहर उर्लिने स्थान हो, माइतीघर । राजावादीले र्याली गर्ने स्थान पनि हो, माइतीघर ।
प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा नारा गुञ्जिने चोक हो, मिर्गौलापीडितले उपचार माग गर्ने स्थान हो, नाई पसलेले पसल खोल्न पाउँ भन्दै अनुमति माग्ने थलो हो र गुठियारहरूले गुठी नखोस् भन्दै हारगुहार गर्ने स्थान हो, माइतीघर ।
खोकनावासीले उठिबास लाग्ने भयो भन्दै सिहंदरबारतर्फ धारेहात लगाउने कुनो हो, ‘बोक्सा/बोक्सी’ का नाममा कुटिएका, मारिएकाहरूको पक्षमा न्याय मागिने ठाउँ हो, दलित युवा, युवतीको हत्या हुँदा न्यायका लागि आवाज उठाउने ठाउँ हो, माइतीघर ।
थरिथरिका आवाजमा प्रतिरोध सुनिने माइतीघरलाई पनि राज्यले नागरिकबाट झण्डै खोसेको थियो । सरकारले १ साउन २०७६ बाट माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
नागरिकको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि सर्यो । अहिले पनि माइतीघर मण्डला नेता, किसान, विद्यार्थी, नागरिक अधिकारकर्मी, राजनीतिक दलले प्रतिरोधमा प्रयाेग गर्ने सबैभन्दा उपयुक्त थलाे नै हाे ।
जेठ २०७३ मा मधेसका नागरिक र नेताले माइतीघरमा गरेको आन्दोलनलाई प्रधानमन्त्री ओलीले ‘माइतीघरमा के को तमासा हो ?’ भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीका लागि सधैँ टाउको दुखाइको विषय बन्ने माइतीघरमा उनकै पक्षमा पनि नारा लागेका छन् ।

ओलीले प्रतिबन्धित क्षेत्र घोषणा गर्न खोजेको माइतीघरमा २५ र २६ असारमा ओली पक्षधरहरूले प्रदर्शन गरे । ओलीका पक्षमा नारा लगाए ।
संसद विघटनपछि ९ पुसमा माइतीघर पुगेका प्रचण्ड र नेपालतर्फ संकेत गर्दै कार्टुनिस्ट रवि मिश्रले ‘चरम सत्ता स्वार्थले प्रेरित राजनीतिले ढिलोचाँडो सबैलाई पुर्याउने यहीँ हो । तुजुक कसैले नदेखाए हुन्छ’, लेखे ।
प्रचण्ड र नेपाललाई व्यंग्य गर्दै विवेकशील साझाकी रञ्जु दर्शनाले ट्विटरमा लेखिन्, ‘त्यही माइतीघर मण्डला आज सहारा बन्यो कमरेड, जुन निषेधित क्षेत्र घोषणा गर्न लाग्नुभाथ्यो । लोकतन्त्रका लागि संघर्ष फेरि फेरि फेरि । सधैँ कतिभरि ?’
माइतीघर सत्तामा रहुञ्जेल सत्तासीनहरूका लागि आँखाको कसिङ्गर बन्छ । सत्ताबाट ओर्लिनेबित्तिकै सहारा बन्छ । सत्तासीनहरूका लागि कसिङ्गर भए पनि प्रतिरोधीहरूको भने सहारा हो, माइतीघर ।

हरेक प्रकारका प्रतिरोधी आवाज व्यक्त गर्ने माइतीघरमा हिजाआज एकातिर उखु किसान पसिना र श्रमको मूल्य मागिरहेका छन् (साेमबार मात्र उनीहरूले आन्दाेलन सशर्त स्थगित गरेका छन्) । अर्कातिर, नागरिक समाज लोकतन्त्र रक्षार्थ कहिले शंख फुकिरहेको छ, कहिले र डम्फु बजाएर विरोध गरिरहेको छ । संसद् विघटनलाई प्रतिगमनको नाम दिएर माइतीघरमा अहिले सांस्कृतिक आन्दोलन चलिरहेको छ ।
प्रतिगमनविरुद्धको नागरिक अभियानमा सामेल भएका पत्रकार तथा लेखक नारायण वाग्ले माइतीघरलाई नागरिकको घरका रूपमा अर्थ्याउँछन् । शनिबार माइतीघरबाटै उनले भने, ‘आज म यहाँ माइतीघरमा किन आएँ ? घर नआई त कहाँ आउनु ? त्यसकारण घर आएको हो भन्ने ठानेर यहाँ उपस्थित भएको छु ।’
२०६३ मा भएको मधेस आन्दोलन पनि माइतीघरबाटै सुरु भएको थियो । माइतीघरबाट सुरु भएको त्यही आन्दोलनको बलमा अन्तरिम संविधानमा मुलुकलाई संघीयतामा लाने कुरा लेखिएको थियो ।
प्रतिरोधी आवाजको एक मात्र साक्षी हो, माइतीघर मण्डला । माइतीघर मण्डलाले नागरिकका आक्रोश, पीडा, दुःख, व्यथा सबै सुनेको छ । न्याय माग गरिरहेकाहरूको पीडा सुनेको छ ।

लोकतन्त्र मर्ने भयो भन्दै चिन्ता गरिरहेकाहरूको चिन्तित अनुहार देखेको छ । परिश्रमको मूल्य नपाएर छटपटाइरहेका उखु किसानको छटपटाहट पनि देखेको छ ।नेताहरूका भाषणसमेत सुनेको छ र आश्वासन पनि सुनेको छ, माइतीघरले।
माइतीघर मण्डला सत्तासीनहरूका लागि आँखाको कसिङ्गर हो । प्रतिरोधी आवाजका लागि सहारा हो । सत्ताबाहिर परेका हरेकका लागि माइतीघर मण्डला सहारा हो भन्ने तथ्य ‘प्रचण्ड’ र नेपालको ‘हामी यहाँ छौँ’ भन्ने तस्वीरले नै पुष्टि गर्दैन र ?
तस्वीरः सुशील श्रेष्ठ
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७ १३:२८