हाते फोनमा शिलापत्रका सम्पादक बसन्त बस्नेतको स्वर किञ्चित भावुक र दु:खित ध्वनित भयो । मौकामा लेखकलाई दोहन गरिहाल्ने मनसुवाले तिनले सविनय भने- ‘साथी बितेछन् । शोकको यो घडीमा साथीबारे लोकलाई यसो केही सनाउनु साथीको कर्तव्य होइन र, दाइ ?’
‘क्षतविक्षत् मनले के सुनाउने खै ?’
‘त्यही ओबिच्युअरीजस्तो यसो केही ?’
‘मेरा यावत् नसा-धमनीमा रगतको सट्टा मानौँ आँसु बगिरहेको छ, म लेखूँ कसरी ?’
चाैबीस सालमा मैले पहिलोचाेटि भेट्दा उनी शशि शेरचन थिए, त्रिपन्न वर्षपछि अहिले स्वनाम साथी भएर उनी सदाका लागि अलप भए । उनको र मेरोे पहिलो भेट कुन सूत्रका माध्यमले कहाँ र कसरी भयोे, मलाई सम्झना छैन । त्यो भेट युुवा लाल राजनीतिको मेसोमा कतै भएको हुनुपर्छ । म त्रि-चन्द्र कलेजमा बीए पढ्थेँ, शशि बीएस्सी पढ्थे । मेरो डेरा चारढुङ्गे नक्सालमा थियो, उनको वसन्तपुरमा ।
पहिलो पटक उनको डेरा देख्दा म हुनसम्म विस्मित भएको थिएँ । अहो ! डेरावाल विद्यार्थीको बैठक नै कत्रो ? त्यो कति फराकिलो, सफा र उज्जालो ! उनको हेरी मेरो डेरा त मानौँ, केवल भेडाबाख्राको खोर भनिन लायकको !
तर, त्यो सफा, उज्यालो, विशाल र आरामदायी डेराका स्वामी शशि शेरचनमा धनको धाक र दौलतको तुजुक लेस मात्र पनि थिएन । उनी म्याग्दीका जति हुनेखाने थकाली थिए, उनी त्यति नै उदार र प्रेमिल पनि थिए । उनकाे डेराको द्वार सबै साथीसङ्गीका लागि हर्दम खुला रहन्थ्यो । चिया खाने बेला भए त्यहाँ साथीलाई चिया-बिस्कुट टक्य्राइन्थ्यो, दालभात खाने बेला भए दालभातै ।
मलाई याद छ, पहिलो भेटमै शशि शेरचन दमका रोगी थिए । दमलाई वशमा राख्न उनी घरीघरी मुखले स्वाट्ट तानेर पफ लिन्थे । एकाध हप्ता बिराएर उनी डाक्टरकहाँ धाइरहन्थे । उनको शरीर मानौँ, ऊबेलै रोगहरूको सानोतिनो संग्रहालयतुल्य थियो ।
तर, मलाई राम्ररी सम्झना छ- ऊबेलादेखि यो त्रिपन्न वर्षभरि, उनको मुखबाट निराशा, थकान र पराजयबोधको सुस्केरामय उद्गार मैले कहिल्यै सुनिनँ । साथी शशि सरदरभन्दा बेग्लै धातुले बनेका बिछट्टका मानिस थिए । उनको उपस्थितिमा वरिपरिको परिवेश नै सपना र आशाले, उमङ्ग र ढाडसले, आत्मविश्वास र आँटले त्यसैत्यसै ओतप्रोत हुन्थ्यो । चरम निराशाको मनोदशामा आएको जोकोही उनको समीपबाट बाटो लाग्दा मानौँ, आशाको प्रकाश-तरङ्ग अघि लगाएर जान्थ्यो ।
स्वनाम साथी निर्मल लामासितगुणग्राही शशिका दृष्टिमा लेखक भनिन मेरो एउटै कथा ‘तमोर नदीको किनारै किनार’ पर्याप्त भयो । पच्चीस सालमा मधुपर्कमा जब यो छापियो, साथी शशिकाे जिब्राेमा म थेगोसरिको ‘मिस्टर राइटर’ भइहालेँ । ‘राइटर’ भनिएर मैले जतिसुुकै नाक घोक्र्याए पनि वास्तवमा शशि मेरा विचारका दिग्दर्शक कमाण्डर थिए, र म थिएँ उनको क्रान्तियात्राको सदैव सिकारु सहयात्री ।
प्रत्येक भेटमा उनी मलाई केही न केही गृहकार्य दिइरहन्थे । कहिले फ्रेडरिख एङ्गेल्सको ‘एन्टी ड्युरिङ’ पढ्न दिन्थे, कहिले ल्यु स्याउचीको ‘हाउ टु बी अ गुड कम्युनिस्ट’, कहिले लेनिनको ‘गाउँका गरिबहरूसँग’ । अनि कहिलेचाहिँ मलाई चिनियाँ चित्रकथाका ससाना व्यहोराहरू उल्था गर्न लगाउँथे । त्यो केटाकेटीहरूलाई क्रान्तिपथतर्फ आकृष्ट गर्ने दिलबहलाउकारी मानसिक खुराकी हुँदो हो सायद ।
छब्बीस सालमा बसिबियाँलो गर्दागर्दै ख्यालख्यालमै मैले भियतनामी उपन्यास ‘द भिलेज द्याट उडन्ट डाई’ उल्था गरेँ । नेपालीमा उल्थिँदा त्यो ‘अजम्मरी गाउँ’ भयो । मेरो उल्था पढेर साथी शशि त्यसैत्यसै पुलकित भए । अनि मलाई फुर्क्याउँदै भने, ‘साथी, उल्था खास्सा छ । यो छापूँ ।’
न हातमा पैसा छ, न लगानी गरिदिने कोही मनकारी छ, न कोही चिनेको प्रकाशक छ । कसरी छाप्ने ? मैले भारी संशय प्रकट गरेँ । साथी शशि निधार मुजा पारेर जुक्ति खियाउन थाले । नभन्दै उनलाई जुक्ति फुर्याे पनि ।
ताप्लेजुङे केबी श्रेष्ठ थिए एक जना हामी दुईका साझा साथी । पेसाले उनी रेफ्रिजेरेटर टेक्निसियन थिए । उनको नाडीमा चमकदार रोलेक्स घडी थियो । शशिले अनुदित उपन्यासको महिमा गाएर केबीको मन पगालेछन् क्यार, केबी उपन्यास छाप्न आफ्नो महँगो न महँगो रोलेक्स घडीलाई बलि चढाउन तम्सिए।
घडी बलि भयो । ‘अजम्मरी गाउँ’ छापियो । त्यो अपूर्व खुसियालीमा शशिको डेरामा टन्न मासु-भात खाइयो ।
भोजनपछि प्रसन्न मुद्रामा साथी शशिले भने, ‘मिस्टर राइटर, यस्ता दशोटा उपन्यास उल्था गर । बस्, नौलो जनवादी क्रान्ति हुन्छ ।’
केबी श्रेष्ठ अचेल जिउँदै विस्मरण (अल्जाइमर्स)मा विलीन भएका छन् । ती मलाई चिन्दैनन् । शशि शेरचन उर्फ स्वनाम साथी जीवन बिसाएर दृश्यबाट अलप भए । तर, क्रान्तिको अस्त्र ‘अजम्मरी गाउँ’ जीवितै छ । यो अहिले मेरो टेबुलमा छ । जब मेरा आँखा यो ‘अजम्मरी गाउँ’मा पर्छन्, केबी र स्वनामको यादमा मेरा आँखामा आँसु रसाउँछन् ।
म कीर्तिपुरमा अंग्रेजी साहित्यमा एमए पढ्दै थिएँ । केही लाल युवाहरूमाझ बुर्जुवा शिक्षा बहिष्कारमुखी आवेगको उत्ताल ज्वार उठ्यो । त्यो ज्वारका कमाण्डर साथी शशि स्वयम् थिए । यसका पछाडिको तर्क रोचक, प्रेरक र हुनसम्म उत्तेजक थियो ।
‘साथी, जनवादी क्रान्ति हुन अब बेर लाग्दैन । क्रान्तिको अजेय धक्काले जब सत्ता उलटपुलट हुन्छ, त्यसपछि नाथे बुर्जुवा डिग्रीको के काम ?’, आफ्ना प्रिय कमाण्डरको कमान शिरोपर गर्दै बहिष्कारकर्मीको सानो लाममा म पनि खडा भएँ । मास्टरको छद्म भेषमा क्रान्तिको भावभूमि तयार गर्न म गाउँतिर लागेँ, स्वास्थ्य नाजुक हुनाले साथी शशि आफ्नो इच्छाविरुद्ध यता शहरमै अड्किन विवश भए ।

वर्ष दिनपछि मेरा कमाण्डर त गाँठ्ठे ! पत्याइनसक्नु औतारमा पो भेटिए । उनी सडक बालक, भिखारी र कुल्लीहरूका नङ-मासुसरिका मीत बनेछन् । किन ? यी सबलाई मुक्तिकामी क्रान्तिपथका योद्धामा ढलान गर्न । उनको जादुगरी कमाण्डमा कुल्लीहरूको एउटा झुण्डै बनेछ । धरहराछेउमा तिनका कुल्ली कर्म जब देखेँ, म त्यसैत्यसै चकित भएँ । कुल्ली फुर्तिसाथ बसको छतबाट भारी तल झार्छ र आक्रामक स्वरमा यात्रुलाई भन्छ, ‘ए, सय रुपियाँ झिक् ।’ मुक्काधारी कुल्लीहरूको झुण्ड नाकैसामु छ । यात्रु नाकका चालले सय रुपियाँ बुझाउँछ । मण्डलीको आयस्ताअनुसारको साथीको भोजन छ होटलमा, बास छ सडकपेटीमा ।
मेरा कमाण्डरले मानौँ आफ्नै कर्मबाट गौरवान्वित हुँदै भने, ‘साथी, तारामण्डल पालमुनि जुनेली दोलाइँ ओडेर आफू त अचेल सडकपेटीमा सुतिया छ । गरिबको कहाँ छ घर, ए कमरेड रात काट्यो पेटीमा सुतेर !’
सोधेँ, ‘शशि साथी, यो के गरेको ?’
‘ए यो ? हा हा !’, साथीले हाँस्दै फर्माए, ‘अध्यक्ष माओको शिक्षाअनुसार श्रमिक जनतासँग माछा र पानीझैँ एकाकार भएको ।’
‘ए ए !’
उही धरहरानजिक अर्को भेटमा साथी शशि दुब्ला, थकित र गलित देखिए । आक्रामक ध्वनित हुने स्वरमा उनले सोधे, ‘साथी, खल्तीमा पैसा छ ?’
‘होला’, मैले भनेँ ।
‘ल, आज टन्न मासुभात खाऔँ ।’
हामीले नजिकैको शेरे पञ्जावमा टन्न मासुभात खायौँ । छुट्ने बेलामा साथीले पुनः सोधे, ‘साथी, खल्तीमा पैसा कति छ ?’ जो भएको पैसा मैले खल्तीबाट झिकेर थपक्क कमाण्डरका हातमा सुम्पिदिएँ । अलिकता लिएर बाँकी पैसा उनले मलाई फिर्ता दिए ।
चाैँतीस साल आयो । म गाउँमै थिएँ । चिठीमार्फत कमाण्डरले मलाई तु. काठमाडौँमा डाकिपठाए । र, भने, ‘साथी, मेरो एउटा सानो बिन्ती छ, ‘नाइँ’ भन्न पाइँदैन ।’
फेरि पैसाको खाँचो पर्याे होला भन्ने मैले सोचेँ । साथीले बिन्ती बिसाए, ‘पार्टी खोलियो । साथीलाई साथ दिन केन्द्रमा बसिदिनु पर्याे ।’
म अलमल्ल परेँ । पार्टी खोल्ने शशि कमरेड, उनको एक केन्द्रीय नेता भइदिनुपर्ने म लठुवा ! यो बिन्ती मलाई ठट्टाजस्तो लाग्यो ।
मैले मलुवा आनाकानी गर्दागर्दै मेरो नाम पार्टी केन्द्रमा दर्ज भइहाल्यो । नवजात पार्टीको नाम छ- सर्वहारा कम्युनिस्ट लिग ।
बिनाआकांक्षा, बिनायोग्यता, बिनाकौशल र बिनाअग्रसरता शशि साथीको स्नेहले नेता बनाइएँ म ल्याङफ्याङे राइटर । जीवनको यो नाटक मलाई कसोकसो हास्यास्पद लाग्यो । तैपनि कमाण्डरको विनयशील आज्ञाको अवज्ञा गर्न मन नमान्दा म निकै वर्ष काम न काजको कागजी नेता भइनै रहेँ ।
न जनआधार छ, न छ संगठनको सञ्जाल । न कार्यकर्तागण छ, न छ हातमा रकमको थैलो । छ त केवल पाँच जना पुरुषको केन्द्रीय कमिटी । र, छ सैद्धान्तिक शुद्धताको कठोर आग्रह । कम्निस्ट नामका सबै पार्टी नक्कली हुन्- ढोँगी, छद्मभेषी, संशोधनवादी, अवसरवादी । सक्कली केवल हाम्रो सकली अर्थात् सर्वाहारा कम्युनिस्ट लिग हो !
अठ्तीस सालमा शिक्षक आन्दोलनबाट पक्राउ परी म वीरगञ्ज जेलमा थुनिएको थिएँ । नौ महिनाको भुतुमुने छोरो बोकेर श्रीमती जमुना चितवनबाट मलाई भेट्न आइन् । प्रहरीका आँखा छलेर उनले मलाई दिएको सय रुपियाँको नोटभित्र कमाण्डरको सानो चिट्ठी रहेछ ।
‘भेना कमरेड ! हाम्रो सकली र रुपलाल नेतृत्वको मजदुर-किसानबीच एकताको कुरो उठ्या'छ । एकता गर्ने र नगर्नेमा आधा-आधा भएर हाम्रा मत बाझे । यसमा कमरेडको निर्णायकारी मत चाहियो ।’
मैले एकताको महलमा मत राखिदिएँ । र, दुई पार्टी एक भए । त्यो ‘महान् ऐतिहासिक एकता’सँगै शशि साथीको प्रेम र सद्भावबाट प्राप्त नेता पद मैले थपक्क बिसाएँ । त्यो मेरो धोका वा पलायन थिएन । त्यो थियो हाम्रो सहमतिबाट प्राप्त सहज विश्राम ।
यसबीच शशि साथीको मायापिर्तीको सानो कथा रचियो । एउटी पार्टी कार्यकर्ता थिइन्, काठमाडौंकी रैथाने नेवार । उमेरकी तरुनी, रूपकी राम्री, वचनकी खुबै मायालु । क्रान्तिकर्ममा ती तुफानी वेगकी समर्पित थिइन् । र, थिइन् ती अकुपङ्चर गर्नमा ज्यादै कुशल । वचन मिल्दै जाँदा शशि साथी र तिनकाे मन मिलेछ । र, विस्तारै ती मनसँगै तनका पनि एकाकार भएछन् ।
पछि ती नारीको चञ्चल मन फ्रान्सेली भाषा सिकाउने फ्रान्सेली गुरुतिर लहसिएछ । तिनले साथी शशिसामु जब त्यो नयाँ प्रेमको उद्घोष गरिन्, बरा शशि साथी अर्ध-विक्षिप्त भए । तिनले मसँग सम्झाइ-बुझाइ गरिमागे । त्यो नितान्त निजी र अति संवेदनशील माम्लोमा सम्झाइ-बुझाइ गर्न न मसँग भाषा थियो, न अभिव्यक्ति कौशल ।
तैपनि मैले निवेदन गरिहेरेँ । प्रत्युत्तरमा ती नारी निःशब्द रोइन् मात्र । म अवाक् र हतप्रभ भएँ । आखिरमा तिनले भनिन्, ‘कमरेड, मलाई अप्ठेरोमा नपार्नोस् । यो मेरो नितान्त निजी माम्लो हो । यो मेरो आफ्नै रोजाइ हो ।’
आखिरमा शशि साथीले आफ्नो प्रेमको दु:खद नियतिलाई मुटु गाँठो पारेर स्वीकार गरे, र भावुकतावश आँसु चुहाउँदै ती नारीलाई गोडामा ढोगेर बिदा गरे । ती नारी रुँदै उता लागिन्, साथी शशि रुँदै यता बसिरहे ।
शशि साथी अब स्वनाम साथी भए । स्वनाम साथीको आफूभन्दा आधा उमेरकी किरणसँग मन मिल्यो । यो विचारको नाता प्रगाढ हुँदै झाङ्गिएको मायापिर्तीको नाता थियो । आफूभन्दा दोब्बर उमेरका स्वनाम साथीका अद्भुत मानवीय गुणहरूबाट सम्मोहित भई किरणले आफूलाई समर्पित गरिन्, र सुरु भयो यिनको ‘लिभिङ टुगेदर’ ।
यसबीच स्वनामले लेखे, ‘निजी सम्पत्ति, विवाह संस्था र परिवार संस्था उन्मूलन नभई न नारीमुक्ति सम्भव छ, न त समग्र मानवमुक्ति नै सम्भव छ ।’
स्वनामको यो नितान्त नूतन, वागी र दूरदर्शी दृष्टिकोणको विद्वान् प्रदीप गिरिले भारी तारिफ गरे । त्यसको छ महिनापछि स्वनाम साथीले किरणसँग विधिवत् बिहा गरे । भनाइ र गराइको यो असङ्गतिलाई औँल्याउँदै कतिपयले कुरीकुरी गरे । सन्त स्वभावका निष्कलङ्क र निश्छल स्वनाम साथीकोे यो विवादित अवस्था मलाई बडो अप्रिय लाग्यो । र, सोधेँ- ‘साथी, कि त्यसो नभन्नू कि यसो नगर्नू । हिजोको आजै यो अनर्थ किन ?’
‘यो लाजमर्नु मजबुरी हो, साथी,’ किञ्चित् अवशादयुक्त लवजमा स्वनाम साथीले स्वीकार गरे, ‘रुढिग्रस्त लोकले हामीलाई बसिखान दिएन । अब कि लिभिङ टुगेदर तोड्नुपर्याे, कि बिहाको कर्मकाण्डीे अभिनय गर्नुपर्याे । के लाग्छ, साथी, गरियो ! तर, यो आदर्शको परित्याग होइन, साथी । यो त केवल मजबुरीको नाटक हो !’
पद र पगरी, चर्चा र हाईहाई, लोभ र लालच, सोख र विलास एवं सञ्चय र उपभोगको एकरत्ति लालसा नभएका स्वनाम साथी सत्तासुखमार्गी नेकपा डबलमा किन थिए ? ‘साथी,’ प्रत्युत्तरमा उनी भन्थे, ‘चिनेजानेका कतिपय असल साथी यहीँ छन् । आफूलाई दुःखमा हेर्ने एकाध साथी पनि यहीँ छन् । त्यसैले...।’
मेरो थप प्रश्न थियो, ‘स्वनामजस्तो गरिब कम्निस्ट नेकपा डबलजस्तो साहु कम्निस्टहरूको पार्टीमा कसरी अटाइरा'को हो ?’
‘यो फेरि अर्को मजबुरी हो, साथी’, असहज मान्दै उनी भन्थे । म उनको वचन दोहोर्याउँदै ठट्टा गर्थें, ‘यो मजबुरी आदर्शको परित्याग किमार्थ होइन, कि कसो कमरेड ?’
‘हा हा....भेना !’
मोडेल अस्पतालका डा. भरत प्रधान र डा. सरोज धिताल स्वनाम साथीका जिक्री दोस्त थिए । डा. सरोज मसँग भन्थे, ‘सबैजसो अङ्ग रोगग्रस्त छन् । स्वनाम साथी कसरी बाँच्या हो, यसको जवाफ चिकित्सा विज्ञानसँग छैन । मलाई लाग्छ, ऊ मनोबल र प्राणायामले बाँचेको हो ।’
किरण स्वनाम साथीको जीवनमा आउनु एउटा अति दुर्लभ एवं अति सुखद संयोग थियो । किरणजीको अनुरागयुक्त सामीप्य र असीम सहयोगले सायद स्वनाम साथीको मानसिक र दैहिक दुवै आयु बढाइदियो ।

अँ, सदाझैँ हाम्रो छरपस्ट वार्ताको प्रसङ्गमा मानिस थियो । स्वनामले गम्भीर हुँदै भने, ‘भेना, यत्रो ब्रह्माण्डसामु जाबो धुलाको कणजत्रो मानिसको यो कत्रो अहङ्कार ?’
मैले तर्क गरेँ, ‘स्वनाम साथी, यो ब्रह्माण्डमा ब्रह्माण्डको विशालताको ज्ञान भएको एक मात्र जीव मानिस हो । यो विलक्षण ज्ञानका कारण मानिसमा अलिकता अभिमान हुनु स्वाभाविकै होइन र ?’
‘होइन भेना, यो व्यर्थको अहङ्कार हो ।’
‘किन साथी ?’
‘सच्चा ज्ञानले त मानिसलाई विनयशील पो बनाउनुपर्ने हो !’
हाम्रो चलायमान वार्ता समाजवादतिर मोडियो । स्वनाम साथीले भने, ‘भेना, गर्दै भन्दै जाँदा हिजोको समाजवाद मानवीय अनुहाररहित सावित भयो । यसले धरतीमाताका अङ्गअङ्गमा निर्मम आक्रमण गरी माताको स्वास्थ्य क्षतविक्षत् तुल्यायो । पर्यावरणका अनेकओली तत्त्वहरूमाझको सुमधुर सन्तुलन भत्कायो । भन्नोस् त, नतिजा के भयो ? धरतीमाताको अस्तित्वमाथि नै खतरामा आइलाग्यो । के अस्वस्थ धरतीमा बास बस्ने मानिसचाहिँ स्वस्थ हुन्छ ? वाहियात ! प्रकृतिमाथि विजय रे ! यस्तो पनि कहीँ हुन्छ ? यो विजय भन्ने संज्ञामा, भेना, मान्छेको अहङ्कार बोल्छ । प्रकृतिसँग त आपसी सद्भावयुक्त सहअस्तित्वमा पो जिउने हो । के-को प्रकृतिमाथि विजय ?’
जीवनको पछिल्लो कालमा स्वनाम साथी मार्क्सीय गुरुकुल भन्दै कुदिरहेका थिए । आफ्नो पार्टीको सरकारले अलिकता बन्जर पाखो र पचास-साठी लाख रुपियाँ दिएको रहेछ । त्यो पाखो र त्यो थैलोलाई मार्क्सवादको अध्ययन र अनुसन्धान, प्रचार र प्रसार एवं मानव आत्माको उन्नयनकर्ममा उपयोग गर्ने उनको ठूलो धोको थियो । एकचोटि मकहाँ आएर साथीले भने, ‘भेना, एउटा कुरो भन्न आ’को । ‘नाइँ’ भन्न पाइन्नँ ।’
‘के कुरो, साथी ?’
‘मार्क्सीय गुरुकुलको अध्यक्ष भइदिनुपर्यो ।’
मैले निवेदन गरेँ, ‘साथी, यो सत्कर्मका लागि सुयोग्य पात्र निनु चापागाईं हुन्, म होइन ।’
‘किन ?’
‘किनभने निनुजीमा संगठनप्रति रुचि छ, संगठनको अनुभव छ, संस्कार छ, कौशल छ । मसँग त्यस्तो केही छैन ।’
‘फेरि भाग्न खोजेको, भेना ?’
‘होइन साथी, अरु म जे सक्छु, गर्ने नै छु ।’
‘मसँग साथी न खुसी भए, न उनले वचनमा बेखुसी नै प्रकट गरे ।’
अहिले मलाई करिब बीस वर्षअघिको एउटा घटना याद आयो । शनिबार बिहान त्यस्तै साढे सात बजेको हुँदो हो । स्वनाम साथी उमङ्गमय स्वरमा फोनमा प्रकट भए, ‘भेना, जीवन एक उत्सव हो । आज भाम उत्सव मनाऔँ ।’
‘कसरी ?’
‘एक किलो खसीको मासु र एक फुल ह्विस्कीको फौरन व्यवस्था होस् । मेरी डेशेन र म आउँछौँ ।’
‘दिउँसै रक्सी ?’ मेरो चकित मुखबाट स्वतःस्फूर्त वचन हुत्त फुत्क्यो ।
‘भेना, यो बोल्ने को हो ? कथित् शुद्धतावादको संस्कार ?’
म अलमल्ल परेँ ।
‘भेना, ढोँगीहरू भित्रभित्रै लुकेर पिउँछन् र बाहिर कञ्चन सदाचारी देखिन्छन् । हामी आज दिउँसै पिएर उत्सव मनाउँछौँ ।’
कमरेड कमाण्डरको आज्ञाबमोजिम मांस र मदिराको व्यवस्था भयो । र, हामी तीन जनाले मस्ती मुद्रामा दिनैभरि मदिरा पान गर्याैँ ।
कर्ता अराजक प्रतीत हुने अर्को एउटा एक तालको घटना पनि छ । मोडेल अस्पतालको द्वार स्वनाम साथीका लागि सधैँ निःशुल्क खुला थियो । त्यहाँ दुई प्रेमिल कमरेड भरत र सरोज थिए, जो स्वनाम साथीलाई आफ्नै जीवनसरि माया गर्थे । बिरामी भएर अस्पताल भर्ना हुनुअघि स्वनाम साथी सर्त राख्थे- ‘मेरा लत र कुलतको यथास्थितिमा केही उपचार सम्भव भए गरुँ, नभए...।’
भरत र सरोज यो हठी माइलासँग केही लाग्दैन भनेर स्वनाम साथीका कुरा खुरुक्क मान्थे । एक अपराह्न स्वनाम साथीले फुरुङ्ग पर्दै मोडेल अस्पतालबाट भने, ‘भेना, मोडेलको क्याबिनमा आज दुई खिली चुरोट उडाएँ । हा हा.....!’
त्यो स्वनामको जीवन जिउने आफ्नै काइदा थियो ।
स्वनाम साथीको जीवन-दर्शन र जीवन-अनुभव उनकै वचनमा लिपिवद्ध गर्न पाए कति राम्रो हुँदो हो भन्ने मेरो धेरै पुरानो धोको धोकै रह्यो । यसमा मलाई आफैँप्रति अलिकता खेद छ, स्वनाम साथीप्रति मेरो अलिकता गुनासो छ ।
वास्तवमा एकाध पटक रेकर्डर बोकेर साथीकहाँ म गएँ पनि । तर, उनले मानेनन् । ‘भेना, रेकर्ड गर्नलाई मेरो जीवनमा त्यस्तो मूल्यवान् चीज छ नै के’ भन्दै उनले टारे । उनका चित्तको भित्री पत्रमा कतै यो काम भइदिए जाती नै हुन्थ्यो भन्ने इच्छा अवश्य हुँदो हो । तर, संकोच वा विनयशीलताका कारण उनले आनाकानी गरिनै रहे ।
करिब डेढ वर्षअघि मैले पुनः एक पटक जमर्को गरिहेरेँ । ठट्टैठट्टामा अलिबेर केही कुरा रेकर्ड गरेँ पनि । दुर्भाग्यवश: मलाई थाहा भयो, धेरै ढिलो भइसकेछ ! साथीका विचारको लय भङ्ग भइसकेको थियो । स्मृति-शृङ्खला विशृङ्खल भएको थियो । एकाग्रता टुट्नाले विचारको सिलसिला भत्किएर जताततै भ्वाङ पर्न थालेको थियो ।
मेरो वैचारिक जीवनका अनेक जटिल मोडमा पुराना साथीहरू छुटिरहे, नयाँ साथीहरू बनिरहे । स्वनाम साथी मेरा ती औँलामा गन्न सकिने साथीमा पर्छन्, जो त्रिपन्न वर्षभरि, जीवनको अन्तिम क्षणसम्म, मेरा अटुट साथी बने । यत्रो लामो सङ्गतमा उनीसँग मेरो सम्बन्धमा न कहिल्यै तिक्तता आयो, न कहिल्यै दूरी बढ्यो ।
त्यसो त स्वनाम मेरा परिवारजनका पनि अति प्रिय थिए । उनी मेरो गेटभित्र पस्दा उनको बोली र उनका पदचापको आवाजसँगै उत्साह र उमङ्ग एवं अनुराग र आनन्दका लहरहरू आएझैँ लाग्थ्यो । उनी जब ‘भाञ्जा’ र ‘भाञ्जी’ भन्दै आउँथे, उनीसँगै मेरा छोराछोरीको आनन्दमय उत्सव आउँंथ्यो । केटाकेटीलाई उनी नानाओली चटक देखाउँथे । रसिला मनै हर्ने कथा हाल्थे । उनको बोली, हाउभाउ र चालमा कौतुकमय नाटकीयता हुन्थ्यो, जसले केटाकेटीलाई मुग्ध तुल्याउँथ्यो । मेरा छोराछोरी उनलाई जादुवाल मामा भन्थे ।
उनी सरासर चुलामा गएर भन्थे, ‘दिदी, यो भेनाले तिम्लाई धेरै दुःख दियो । एकोहोरो भएर, जिद्दीवाल भएर, घमण्डी भएर....। यो मान्छेले किताब, कलम र आन्दोलनलाई मात्र समय दियो, दिदी र भाञ्जाभाञ्जीलाई समय दिएन । अँ, त्यै त भन्या, दिदी, यो भेनाले तिम्लाई धेरै दुःख दियो ।’
स्वनामका ती करुणामयी वचनले मानौँ, मेरी श्रीमतीको हृदयका चोटैचोट भएका तारहरूलाई झङ्कृत तुल्याउँथे । र, उनी मख्ख पर्थिन् । अलिबेरमा टेबुलमा बसेर चियाको चुस्की लिँदै स्वनाम साथी बडो कूटनीतिक काइदाले कुरामा रप्फु भर्थे, ‘तर, दिदी, यो भेना खराब मान्छेचैँ होइन है । यत्ति हो- यल्ले ढङ्ग मिलाएर जिउन जानेन ।’
अहिले जब स्वनाम साथीको अस्पताल बसाइ लम्बिँदै गयो, उनकी दिदीले मसँग भनिन्, ‘किरणलाई खर्चले कति गाह्रो पर्या होला ! अलिकता पैसा दिए हुने नि ।’
मेरी डेशेनमार्फत मैले स्वनाम साथीको उपचार खर्चबर्चबारे बुझ्न खोजेँ । हिसाब त गाँठ्ठे ! दसौँ लाख पो देखियो । मैले दिन सक्ने रकम त केवल हात्तीका मुुखमा जिरा हुने भो । त्यसैले मन मारेर, आफैँभित्र खुम्चिएर, उदास मुद्रामा म मौन रहेँ ।
स्वनाम साथी जब बिते, श्रीमतीले आफ्नो प्रिय भाइलाई सम्झँदै सन्तापको गहिरो सुस्केरा हालिन् । स्वनाम मामा सिकिस्त भएको खबर मैले अमेरिकामा छोराछोरीलाई पठाएको थिएँ । छोरी डेजीले मेरी डेशेनलाई सोधिछन्, ‘आन्टी, जादुवाल मामाको खर्च कसरी चल्या'छ ?’
भाञ्जीको आफ्ना प्रिय मामालाई केही पठाउने मनसुवा थियो सायद । दुःखको कुरा, अद्भुत मामाले आफ्नी भाञ्जीको कोसेली पर्खिन भ्याएनन् । पछि मामा बितेको खबर छोराछोरीलाई पठाउँदा तिनले कुनै प्रतिक्रिया गरेनन् । यसको अर्थ हो, दूर देशमा जादुवाल मामाको यादमा कसैले नदेख्ने र नसुन्ने गरी ती रोए हुनन् ।
स्वनाम साथी भन्थे, ‘कम्निस्ट हुनु भनेको संसारको सबैभन्दा असल मानिस हुनु हो । लोभ र लालच नगर्ने, शासन र शोषण नगर्ने, सञ्चय र उपभोगको तुष्णा नगर्ने, लिन लोभ नगर्ने, दिन कञ्जुसी नगर्ने मानिस ।’
कम्निस्टको आदर्श रूपबारे उनी जे भन्थे, वास्तविक जीवनमा स्वनाम साथी आफू करिबन त्यस्तै थिए । थुप्रा साहु कम्निस्टहरूमाझका एक गरिब कम्निस्ट स्वनाम साथी ! अनिकालको एक बिउ, औँसीको एक जुनकिरी, जीवनको विकट पहराको एक सुनाखरी !
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७ १८:२५