चार दिनअघि भक्तपुरका समीरकुमार पाण्डेले आफ्नो फेसबुक वालमा एउटा स्टाटस लेखे, ‘मंगलबारदेखि भक्तपुरको नेउपाने गाउँबाट नीलो पाइन्ट, खैरो स्वेटर र हरियो जुत्ता लगाएको मेरो भतिजो सम्पर्कविहीन भएको छ । फेला पार्नुहुने महानुभावले कृपया ९८४३१७८८२९ नम्बरमा सम्पर्क गरिदिनुहोला ।’
त्यसको दुई दिनअघि श्याम पराजुलीले पनि आफ्नो फेसबुक वालमा त्यस्तै सूचना पोस्ट गरे । उनले लेखेका थिए, ‘तीन/चार दिनदेखि मेरो भाइ धर्मप्रसाद पराजुली हराएको हुँदा भेट्नुहुने महानुभावले सम्पर्क गरिदिनुहोला ।’ उनीहरू दुवै जनाले हराएका आफन्तको हुलियासहितको फोटो पनि फेसबुकमा राखेका थिए ।
४ फागुन २०७७ मा बनेपा नगरपालिका- ७, धनेश्वरका १३ वर्षका सुवोध गौतम पनि हराए । दिउँसो १ बजेतिर घरबाट निस्किएका उनलाई हराएको चार दिनपछि काठमाडौंको गौशालाबाट प्रहरीले फेला पारेर आफन्तलाई जिम्मा लगायो ।
गौतम बनेपाबाट बसमा साथीको लहैलहैमा काठमाडौं आइपुगेका थिए । काठमाडौं पुगेपछि हुलियाका आधारमा प्रहरीले खोजी गर्दा उनी गौशालामा भेटिएका थिए ।
०००
यी त केही प्रतिनिधि घटना मात्र हुन् । यसरी देशका विभिन्न ठाउँबाट बालबालिका हराउने र कतिपय बालबालिका लामो समयसम्म पनि सम्पर्कमा आउँदैनन् । प्रहरीका अनुसार कतिपय बालबालिका मरेको अवस्थामा शव फेला पर्ने गरेकाे छ ।
बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपका अनुसार आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ मा देशभरबाट १ हजार ४ सय ८३ बालक र ३ हजार ५ सय ७२ बालिका हराएका उजुरी परेका थिए ।
हराएका मध्ये ७ सय १२ बालक र १ हजार २२ बालिका मात्र फेला परेको र ७ सय ७१ बालक र २ हजार ५ सय ५० बालिका बेपत्ता अवस्थामै रहेको तथ्यांकले देखाएकाे छ ।
त्यो तथ्यांक आव २०७६/०७७ मा अझ बढेर २ हजार ७ सय २९ पुगेको छ । यसमध्ये ८ सय ३१ बालक र १ हजार ८ सय ५८ बालिका छन् ।
हराएकामध्ये ६ सय ९० बालक र १ हजार ५ सय २९ बालिका फेला परेका छन् । ५ सय १० जना बालबालिकाको अझै खोजी कार्य जारी रहेको खोजतलास केन्द्रले जनाएको छ ।
राष्ट्रिय बालअधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दका अनुसार परिवारले आफ्ना बालबालिका हराउँदा मात्रै प्रहरी र बालबालिका खोजतलास समन्वय केन्द्रलाई जानकारी गराउने र भेटिएपछि सम्पर्कमै नआउने प्रवृत्तिले हराउने बालबालिको तथ्यांक बढी देखिने गरेको हो ।
पछिल्लो आवकाे चार महिना पनि देशभरबाट ८ सय बालबालिका हराएको उजुरी आएको चन्दले बताए । यसरी हराएका बालबालिका अधिकांश भेटिने गरेको उनको भनाइ छ ।
‘आजभोलि सामाजिक सञ्जालका कारण पनि धेरै बालबालिका लहैलहैमा लागेर हराउने गरेको पाइएको छ । उनीहरू साथीभाइ, आफन्तको घरमा बस्ने र परिवारलाई खबर नगर्दा परिवारले बालबालिका खोजतलास केन्द्रलाई खबर गर्छन्,’ चन्दले भने ।
कतिपय बालबालिका भने बालश्रम शोषण र १४–१५ वर्षका बालिकाहरूमाथि भने मानवतस्करीको जालमा परेर यौन शोषणमा पर्ने गरेकाे पनि उनको बुझाइ छ ।
यसरी नै खोजतलास केन्द्रका अनुसार तीन आर्थिक वर्षमा ६ सय ८७ बालक र ३ सय ४७ बालिका बेवारिसे अवस्थामा फेला परेका छन् । यसमध्ये अधिकांश बालबालिकाको परिवारसँग सम्पर्क गरेर पुनर्मिलन गराइएको केन्द्रकाे तथ्यांक छ ।
हाल १ सय २६ बालक र २९ बालिकालाई विभिन्न सुधार गृहमा राखेर परामर्श दिने र उनीहरूको हेरचाह बालबालिका केन्द्रले गर्ने गरेको छ ।
उपत्यकाबाट हराउँछन् धेरै बालबालिका
बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकअनुसार उपत्यकाबाट सबैभन्दा बढी बालबालिका हराउने गरेका छन् । देशभरका मानिसको बसोबास उपत्यका नै रहेको र ठूलो शहर भएका कारण पनि काठमाडाैं उपत्यकाबाट धेरै बालबालिका हराउने गरेका हुन् ।
२०६३ सालबाट खोजतलास समन्वय केन्द्रले हराएका बालबालिकाको खोजी कार्य गर्दै आएको छ । बालबालिका खोजतलास केन्द्रले हराएका बालबालिकाको खोजी मात्र नभएर बेवारिसे बालबालिको पुनर्स्थापनासमेत गर्ने गरेको चन्दले बताए ।जसका कारण बेवारिसे बालबालिकाको अवस्थामा सुधार आएर विभिन्न रोजगारीमा लागेको समेत उनको भनाइ छ ।
केन्द्रका अनुसार बेवारिसे अवस्थामा फेला परेका बालबालिकालाई विभिन्न सुधार केन्द्रमा राखेर उनीहरूको पारिवारिक अवस्थाबारे बुझ्ने र पत्ता लाग्यो भने घर पठाउने, पत्ता लागेन भने बालबालिकालाई संस्थागत संरक्षणमा राखेर परामर्श गराउने गरेको छ ।
बालबालिका हराए खोजतलास समन्वय केन्द्रको १०४ हटलाइनमा सम्पर्क गर्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७ ०७:३८