रोजगारीका लागि अमेरिका हिँडेकी गोरखाकी रक्षा भट्ट (नाम परिवर्तन) भारत हुँदै रोमानिया र सर्बिया पुगेर सात महिनामा नेपाल फर्किइन् । साे अवधिमा उनलाई अमेरिका लैजाने भनेर एजेन्टले पाँचवटा देश घुमाए । अमेरिका हिँडेकी उनी अन्त्यमा रोमानिया पुगेर नेपाल फर्किएको बताउँछिन् ।
रोजगारीका लागि अमेरिका नभए क्यानडा लैजाने भनेर नेपालबाट एजेन्टले आश्वासन देखाएर लगेको रक्षाले बताइन् । ‘नेपालबाट सिधै थाइल्याण्ड जानुपर्छ भनेर हिँड्यौँ । तर, भारतबाट रोमानिया हुँदै जाँदा सजिलो हुन्छ भनेर एजेन्टले भारतको मुम्बई पुर्याएर सात दिनपछि थाइल्याण्ड लग्यो । थाइल्याण्डमा एक महिना राख्दा हरेक साता एजेन्टले परिवारसँग भिसा आयो भन्दै पैसा मागे,’ उनले भनिन्, ‘घरबाट हिँडेदेखि करिब सर्बिया भन्ने देश पुग्दासम्म एजेन्टले परिवारसँग १५ लाख रुपैयाँ लिए । थाइल्याण्ड पुगेपछि मात्र थाहा भयो, 'एजेन्टले अमेरिका पठाउँछु भनेर ठगी गरेको रहेछ ।’
विराटनगरका एलबी गौतम भन्ने एजेन्ट थाइल्याण्डमा छन् । उनले नेपालमा एजेन्ट राखेर अमेरिका, क्यानडा र युरोपका देशमा रोजगारीका लागि पठाइदिने भन्दै धेरै व्यक्तिलाई ठगी गर्दै बसेको उनको भनाइ छ । थाइल्याण्डमा क्यानडा, अमेरिका र युराेपका विकसित देश हिँडेका धेरै नेपाली एजेन्टलाई पैसा खुवाएर अलपत्र अवस्थामा भेटेको रक्षाले बताइन् ।
ओशो, हार्ट इन्टरनेसनल क्याची एजुकेसन एण्ड ट्रेनिङ कन्सल्टेन्सीले धेरै मान्छे अमेरिका लैजाने भनेर रोमानिया र थाइल्याण्डमा अलपत्र पारेर राखेको भेटिएको रक्षा बताउँछिन् ।
बाटोमै लास गायब पार्ने धम्की
रक्षालाई पुतलीसडकमा रहेको भिजन अफ कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर भनिने कपिल बुढामगरले अमेरिका रोजगारीमा पठाइदिने भनेर नेपालबाट थाइल्याण्ड पुर्याएका थिए । उनी हाल, एजेन्ट र कन्सल्टेन्सीका नाममा उजुरी गर्न वैदेशिक रोजगार विभाग र प्रहरी अपराध महाशाखा धाइरहेकी छिन् ।
तीन जना एजेन्टविरुद्ध रोजगारीका नाममा ठगी र मानव बेचबिखनसम्बन्धी उजुरी दर्ता गरेको विभागमै भेटिएकी रक्षाले बताइन् । ‘भारत हुँदै थाइल्याण्ड, टर्की, हंगेरी, बुल्गेरिया, मोल्दोवासम्म पुगेर फर्किएँ । भारत र थाइल्याण्डमा रोजगारीका नाममा मानव तस्करी गर्ने धेरै नेपाली दलाल छन् । उनीहरू नेपालमा एजेन्ट राखेर विकसित देशको रोजगारीमा पठाइदिने भन्दै ठगी गरिरहेका छन्,’ उनले भनिन्, ‘अवैध बाटो भएर अमेरिका हिँडेका नेपाली दिदीबहिनीलाई बाटोमै एजेन्टले बलात्कार गर्छन् । एजेन्टलाई केही भनेर प्रतिकार गर्न खोज्दा बाटोमा मारेर फाल्ने धम्की दिन्छन् ।’
नेपालको सिमाना नाघेपछि 'भनेको मानेनौ भने बाटोमै मारेर लास गायब पार्ने' भन्दै एजेन्टले बारम्बार धम्क्याउने गरेको उनको भनाइ छ । नेपालदेखि रोजगारीमा विकसित देश हिँडेका कतिपय महिलालाई एजेन्टले जबर्जस्ती वेश्यालयमा पुर्याउने गरेको प्रत्यक्ष देखेको उनले सुनाइन् । रोजगारीका लागि हिँडेका केटीलाई साे कार्यमा संलग्न सबै एजेन्टले याैनशोषण गर्ने गरेको उनको भनाइ छ ।
सजिलै बारमा पुर्याउँछन्
एजेन्टको प्रलोभनमा परेर अमेरिका रोजगारीका लागि हिँडेका कतिपय युवती स्वदेश फर्किन सक्ने अवस्था नभएपछि थाइल्याण्ड र आफू पुगेको देशका बार/क्लबमा काम गर्न बाध्य हुनुपरेको रक्षाले जानकारी दिइन् ।
अमेरिका भनेर भारत र थाइल्याण्डहुँदै विभिन्न देशमा पुर्याइएका नेपाली युवती स्वदेश फर्कन नसकेपछि उतै बारमा काम गर्न बाध्य बनेकाे रक्षाले बताइन् ।
‘बीबीए पास गरेर बेरोजगार बसेकी थिएँ । गाउँका एक जना दाइले थाइल्याण्ड हुँदै अमेरिका लैजाने मान्छे छ भन्नुभयो । त्यसपछि मैले नि परिवारमा सल्लाह गरेर अमेरिका हिँडेकी थिएँ । झण्डै थाइल्याण्ड र सर्बियाको वेश्यालयमा बेचिएँ,’ उनले भनिन् ‘एजेन्टले थाइल्याण्ड पुगेपछि अब अमेरिका जानु छ । यहाँ मनोरञ्जन क्षेत्रमा काम गर्नुपर्छ भनेर विदेशी नागरिक भएको बारमा पटक-पटक पुर्याए । थाइल्याण्डमा मात्र होइन, रोमानियामा समेत उस्तै बारमा काम गर्न भनेर लगेका थिए ।’
आफूसहित नेपाली महिलाले पैसा र ज्यानका लागि पनि जुनसुकै हदको काम पनि गरेको उनले अनुभव सुनाइन् ।
रक्षाले देशभित्र अध्ययन सकेपछि रोजगारी नपाएर ज्यान जोखिममा राखेर विदेश जान खोज्दा झण्डै बेचिएकाे दु:खेसो पोखिन् । रोजगारीका लागि अमेरिका, क्यानडा हिँडेका धेरै युवती विदेशी बार/क्लबमा बेचिएका छन् । स्वदेश फर्किएपछि यो विषयमा प्रहरी र सम्बन्धित निकायमा सूचना दिँदा विश्वास नगरेको उनको भनाइ छ ।
रोजगारीका लागि अमेरिका, क्यानडा, अजरबैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टालगायतका देशहरूमा पठाइदिने भन्दै एजेन्टले ठगी गरेको धेरै समस्या लिएर पीडित आउने गरेको विभागले जानकारी दिएको छ ।
वैदेशिक रोजगार विभाग, अनुसन्धान प्रहरी र मानव बेचबिखन ब्यूरोमा राजनीतिक शक्तिको बलमा कन्सल्टेन्सीहरूले शैक्षिक मानव तस्करी गरेका घटनाको चाङ छ । नेपालमा सञ्चालित एजुकेसन कन्सल्टेन्सीले अस्ट्रेलिया, जापान, बेलायत, भारत, अमेरिका, जर्मन, बंगलादेश र फिलिपिन्सलगायतका देशमा विद्यार्थी पठाउँदै आएका छन् ।
कन्सल्टेन्सीहरू विभिन्न सामाजिक सञ्जालमा युराेपका लागि आकर्षक जागिरका लागि भन्दै विज्ञापन गरेर ठगी गर्दै आएका छन् । झुटाे विज्ञापनमार्फत युवालाई ठगी गर्ने मनशाय राखेको कतिपय कन्सल्टेन्सीलाई विभागले छापा हान्दै आए पनि नियन्त्रण हुन सकेको छैन । सरकारी तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा ६५ हजार विद्यार्थी विभिन्न देशका कलेजमा अध्ययनका पुगेका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७ ०८:००