सत्तारुढ दल नेकपाभित्रको विवाद समाधानका लागि अध्यक्षद्वयका दुवै प्रस्ताव अध्ययन गरेर संयुक्त प्रस्ताव ल्याउन गरेको आग्रह सचिवालय बैठकले अस्वीकार गरेको छ ।
शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अध्यक्षद्वयका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटीमा लैजाने प्रस्ताव अस्वीकार गरेको हो ।
आजको बैठकमा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा 'बादल'ले अध्यक्षद्वयका प्रस्तावलाई साझा बनाएर लैजानका लागि कार्यदल बनाउने र पार्टीभित्रको संकटको समाधान खोज्ने प्रस्ताव गरेका हुन् । थापाको प्रस्तावमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र उनका पक्षका सचिवालय सदस्यले पनि समर्थन रहेको थियो ।
थापाले प्रस्ताव गरेको नेकपाको संकट समाधान गर्ने कार्यदलको संयोजक पार्टी उपाध्यक्ष वामदेव गौतमलाई बनाउन ओलीले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई भने गौतमले अस्वीकार गरेका छन् ।
उनले यस्तो कार्यदलमा आफू नबस्ने सचिवालय बैठकमा बताएका हुन् । 'यस्तो कार्यदल कुनै समस्या सुल्झाउँदै । यसको कुनै औचित्य छैन्,' उनले सचिवालय भनेका थिए ।
उपाध्यक्ष गौतमको भनाइप्रति सहमित जनाउँदै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले कार्यदल बनाउने प्रस्तावको विपक्षमा उभिएका थिए ।
वरिष्ठ नेता खनालले पार्टीभित्रको संकट निवारणका लागि पहिले बनाएको कार्यदलका निर्णय पनि लागू नभएको उल्लेख गर्दै अब पनि कार्यदल बनायो भने झन अलमल हुन बताएका थिए ।
उनले अब कार्यदल बनाउनुको कुनै अर्थ नहुनेसमेत बताए । उनले भनेका थिए, 'पहिला कार्यदल बनाएर गरेका निर्णय कार्यान्वय भएका छैनन्, अब पनि कार्यदलको के काम ?'
त्यस्तै, नेता नेपालले पनि खनालको भनाइमा समर्थन जनाएका थिए । उनले पनि अगाडि बनेका कार्यलदलेका सुझावहरू कार्यान्वयन नभएको अवस्थामा अब किन कार्यदल बनाउने भनेर प्रश्न गरेका थिए ।
त्यस्तै, अध्यक्ष ओलीले सचिवालयका बहुमत सदस्यले पेलेर निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
ओलीले सचिवालय बैठकमा भने, 'पार्टीमा अहिले बल प्रयोग भइरहेको छ, यसरी बल प्रयोग गर्ने काम नगरौँ । म प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँ ।'
ओलीले सचिवालय बैठक पेस भएका दुवै प्रस्ताव फिर्ता हुनुपर्ने र पार्टीभित्रको संकट समाधान कि दुई अध्यक्षबीचको संवाद नभए सचिवालय बैठकबाट गर्नुपर्ने बताउँदै आएका छन् ।
प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि आज सचिवालय बैठकले दुवै प्रस्ताव स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । स्थायी कमिटीको बैठक यही २१ मंसिर दिउँसो १ बजेका लागि तय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता भएको थियो । २० मिनेट भएको भेटवार्तामा ओली सचिवालय बैठकमा सहमागी हुन सहमत भएका थिए ।
यसअघि गत बुधबारको बैठकमा ओली उपस्थित नभएपछि बैठक तीन दिनका लागि स्थगित भएको थियो । त्यस्तै, २५ दिन लामो सम्वादहीनतालाई तोड्दै अध्यक्षद्वय ओली र प्रचण्डबीच शुक्रबार मध्यरातमा पनि फोन सम्वाद गरेका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७ १९:१३