सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जब किचलो बढ्न थाल्छ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीबीच भेटघाट बाक्लिन थाल्छ ।
यस्ता छलफलहरूमा प्रचण्डको उपस्थिति पनि बढ्तै देखिन्छ तर वरिष्ठ नेता माधवकुमार नेपालसँग भने राष्ट्रपति भण्डारीले अहिलेसम्म एक्ला एक्लै छलफल गरेकी छैनन् ।
२० असारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालसँग परामर्श गरेकी थिइन् । याे सामूहिक भेट नै राष्टपति भण्डारी–नेपालबीचकाे पछिल्लाे भेट हाे ।
भण्डारीले नेकपाको विवादमा हाल निर्णायक अवस्थामा रहेका नेता नेपालसँग परामर्श किन गरिरहेकी छैनन् ? अध्यक्ष प्रचण्ड र केपी ओलीसँग निरन्तर संवादमा जाेडिने भण्डारी नेता नेपालसँग संवादमै नरहनु नेकपाभित्रै चासाेकाे विषय बनेकाे छ । नेकपाका नेताहरु राष्ट्रपति भण्डारीमा नेता नेपालप्रति रहेकाे व्यक्तिगत तुष र गुटगत मानसिकता कारक मान्छन् ।
राष्ट्रपति भण्डारीले वैशाखदेखि हालसम्म अध्यक्ष ओलीसँग १० पटक छलफल गर्दा अध्यक्ष प्रचण्डसँग २ पटक एक्लाएक्लै छलफल गरेकी छन्। वरिष्ठ नेता नेपालसँग हालसम्म एक्लाएक्लै छलफल भएको छैन । छलफल नहुनुका पछि व्यक्तिगत तुष समेत छ । तत्कालीन एमालेमा रहँदादेखिको तुष हालसम्म नसकिएको नेताहरु बताउँछन् । त्यसको प्रभाव विभिन्न राजनीतिक नियुक्तिमा समेत देखा पर्ने गरेको छ।
तत्कालीन एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा भण्डारी २०५५ सालमा निर्वाचित भएकी थिइन् । दुई दशकसम्म उनले त्यो पद नछाडेपछि नेता नेपालले नेतृत्व विकासमा वाधा पुर्याएको भन्दै पटक-पटक भण्डारीमाथि प्रश्न उठाएका थिए ।
त्यसपछि नेता नेपाल र भण्डारीबीच व्यक्तिगत तुष सुरु भएको हो । त्यो तुष नेता नेपाल नेतृत्वको मन्त्रिपरिषदमा रक्षामन्त्री हुँदादेखि हालसम्म पनि नहटेको नेताहरुको भनाइ छ।
२०६५ मा रक्षामन्त्री रहँदा भण्डारीले तत्कालीन माओवादीको सहरकेन्द्रित ६ दिने आन्दोलन दबाउन नेता ओलीसँग बसेर रणनीति बनाउने गरेको आरोप भण्डारीमाथि छ । जबकि त्यतिबेला माधव नेपाल प्रधानमन्त्री थिए ।
भण्डारी पहिले देखि नै ओली निकट गुटको रणनीतिमा चल्ने भएकाले हालसम्म पनि त्यही शैलीलाई निरन्तरता दिएको नेता नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवाली बताउँछन् ।
'राष्ट्रपतिले नेता नेपालसँग तुष राखेको हुनुपर्छ उहाँ र अध्यक्ष ओलीको पार्टीप्रतिको दृष्टिकोण समान छ र विगतदेखि हालसम्म राष्ट्रपतिले अध्यक्ष ओली पक्षको गुटलाई बलियो बनाउन भूमिका निर्वाह गरिरहनुभएको छ', नेता ज्ञवालीले भने ।
राष्ट्रपति भण्डारी र नेता नेपालबीचको तुषको असर मुख्यमन्त्री छनोटमा समेत देखिएको थियो । प्रदेश १ मा नेपाल पक्षका नेता भीम आचार्यको पराजय र प्रदेश ३ मा नेपाल पक्षकै नेतृ अष्टलक्ष्मी शाक्य बाइपास हुनुमा नेपथ्यमा भण्डारीकै हात रहेको नेकपाका नेताहरुको बुझाई छ। प्रदेश १ मा भण्डारी निकट शेरधन राई र बागमती प्रदेशमा उनी निकट डोरमणि पौडेल मुख्यमन्त्री भएका थिए।
नेकपाको विवादका विषयमा हुने छलफलमा नेता नेपालसँग परामर्श नगर्नुमा तुष र गुटबाहेक अन्य कुनै कारण नभएको त्यस पक्षका नेताहरु बताउँछन् । पार्टीको विवादमा हात हालेर एकपक्षीय फाइदाका लागि मात्रै राष्ट्रपति क्रियाशील रहेको उनीहरुको आरोप छ।
'राष्ट्रपतिले भनेअनुसार पार्टीमा केही पनि हुँदैन । सबै कुरा पार्टीमा क्रियाशील नेताहरुले लिने निर्णयमा भर पर्छ। राष्ट्रपतिले विवादको विषयमा छलफल गर्नु नै अनुपयुक्त छ। छलफल गर्दा सामूहिक रुपमा गर्नु उत्तम भएपनि केहीलाई मात्रै समावेश गर्नाले संस्थाकै गरिमामाथि प्रश्न उब्जाएको छ। उहाँले नेता नेपाललाई छलफलमा निषेध नै त गर्नुभएको छैन तर त्यतिधेरै बोलाउनुभएको छैन', नेता विष्णु रिजालले भने।
हाल नेकपामा प्रचण्ड र माधव नेपाल नेतृत्वकाे बलियो गठबन्धन छ। यो गठबन्धन बलियो हुँदा अध्यक्ष ओली अप्ठ्यारोमा परेका छन् ।
पार्टी सचिवालयमा दर्ता भएका दुबै प्रतिवेदनलाई कमिटीमा पठाएर निर्णय गर्ने र ओलीलाई 'स्टेप डाउन' गर्ने उनीहरुको रणनीति छ। यो अडानमा वरिष्ठ नेता नेपाल अडिग छन् र प्रचण्डले त्यसमा साथ दिइरहेका छन् । राष्ट्रपतिसँग बिहीबार अपरान्ह भएको भेटमा समेत अध्यक्ष प्रचण्डले पार्टी अब बहुमतीय प्रकियामा अघि बढ्ने जानकारी गराइसकेका छन्।
अध्यक्ष प्रचण्डलाई नेता नेपालसँगको सहकार्य छोडाउने रणनीतिमा राष्ट्रपति लागिपरेको नेता नेपाल पक्षधरको आरोप छ। विगत देखि नै फुटाउ र राज गरको नीतिमा केन्द्रित भण्डारी अहिले पनि त्यस मै लागिपरहेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्।
'राष्ट्रपति भण्डारी र ओलीको समान चरित्र छ फूटाउ र राज गर। अहिले प्रचण्ड माधव गठबन्धन दरिलो हुँदा अध्यक्ष ओलीलाई संकट परेको छ । त्यसैले अध्यक्ष प्रचण्डलाई कन्भिन्स गराउन सकिन्छ कि भन्ने उहाँलाई लागेको हुनसक्छ,' शाक्यले भनिन्।
आफ्नो राजनीतिक निर्णयमा अस्थिर देखिने अध्यक्ष प्रचण्डलाई मनाएर अध्यक्ष ओलीलाई बलियो बनाउन राष्ट्रपति लागिपरेको नेता ज्ञवाली बताउँछन् ।
'अध्यक्ष प्रचण्ड अस्थिर किसिमको हुनुहुन्छ यता नेता नेपाल आफ्नो अडानमा अडिग हुनुहुन्छ। अस्थिर चरित्रका अध्यक्ष प्रचण्डलाई हालको गठबन्धनबाट छुटाएर अध्यक्ष ओलीलाई बलियो बनाउनका लागि राष्ट्रपतिले भूमिका निर्वाह गरिरहनुभएको छ', नेता ज्ञवालीले भने।
राष्ट्रपति कार्यालय भन्छ-'आवश्यक पर्दा सबैसँग छलफल भएको छ'
राष्ट्रपति कार्यालयले भने कसैलाई पनि छलफलका लागि निषेध नगरिएको बताएको छ। आवश्यक पर्दा सबै पक्षसँग छलफल गरेको राष्ट्रपतिका सल्लाहकार टीका ढकालले बताए।
'राष्ट्रपतिले छलफलका लागि कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्नुभएको छैन। आवश्यक पर्दा सामूहिक छलफल पनि त गर्नुभएको छ । राजनीतिक विषयमा राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्नुहुँदैन', ढकालले भने।
संविधानले राष्ट्रपतिको राजनीतिक संलग्नताको कल्पना गर्दैन । तर बेलाबखतमा नेकपाको राजनीतिमा अस्वभाविक चासको राख्दा राष्ट्रपति भण्डारी विवादित बन्दै आएकी छिन् । नेकपाभित्रको विवादका सन्दर्भमा सामूहिक छलफल नगर्दा उनलाई गूटगत स्वार्थमा केन्द्रित भएको आरोप लाग्दै आएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७ १७:१३