दाङकी सोनाली पुन मगरको काठमाडौेँ नखीपाेटमा एउटा कोठा छ । नखिपोटमा भाडामा बस्दै आएकी मगरको काम पनि अहिले त्यही एउटा कोठामा नै भ्याई नभ्याई हुन्छ । साँघुरो कोठामा उनी दिनभर खाना पकाउने र साँझ परेपछि स्कुटरमा खाना बोकेर काठमाडौँका विभिन्न सडकमा पुग्छिन् ।
उनी आएको देख्नेबित्तिकै मान्छेहरू झुम्मिने गर्छन् । अनि उनी आफूले स्कुटरमा दुईतिर झुण्ड्याएर ल्याएका खाना पालैपालो बाँड्छिन् । खाना दिँदै गर्दा जाडोमा थरथर काम्दै थालको गाँस पनि उचाल्न नसकेको देखेपछि आफूसँग भएको तातो लुगासमेत दिन्छिन् ।

कोठामा आउने, खाना बनाउने अनि आफूले संकलन गरेको लुगा र खाना बोकेर साँझ परेपछि सडक-सडक चहार्ने उनकाे दैनिकी नै बनेकाे छ ।
रत्नपार्कदेखि पशुपतिसम्म अनि माइतीघरदेखि ललितपुरसम्म उनी साँझमा सडक चहारिरहन्छिन् । बाटोमा कोही चिसो भुइँमा सुतिरहेको देखिन् भने न्यानो लुगा दिने, बिरामी भेटियो भने प्राथमिक उपचार गरिदिने र भोकाहरूलाई आफूले लगेको खानेकुरा दिने गर्छिन् ।
जुन दैनिकीले अहिले उनलाई छोटो समयमा नै अन्तर्राष्ट्रिय रूपमा वाहवाही बटुल्न सफलसमेत बनाएको छ ।
दक्षिण एसियाका सामाजिक अभियन्तालाई अन्तर्राष्ट्रिय सम्मानका रूपमा एसिया अवार्ड प्रदान गर्दै आएको रुला अर्गनाइजेसनले उनै नेपाली समाजसेवी सोनाली पुन मगरलाई युवा अधिकारकर्मीहरूलाई प्रदान गरिने यस वर्षको ‘एसियाज आउटस्ट्याडिङ योङ सोसल एक्टिभिस्ट २०२१’ अवार्ड प्रदान गर्ने घोषणा गरेकाे छ ।

घोषणा गरेको हप्तादिन बितिसक्दा पनि न त उनी अन्य सामाजसेवीजस्तो सञ्चारमाध्यममा छाइन्, न त उनलाई बधाईको लर्को नै लाग्यो । सञ्चारमाध्यम र बधाईबाट टाढा रहेकी मगरले अन्तर्राष्ट्रिय अवार्डमा आफ्नो नाम छनाेट भएसँगै कर्मको फल पाएको अनुभूति गरेकी छिन् ।
उमेरले २६ वर्ष मात्रै पुगेकी मगर आफ्नो जन्मस्थल दाङको लमही नगरमा पनि गरिब र दुःखीहरूलाई सेवा गर्दै आएकी छिन् । काठमाडौँमा पनि सडकका बेवारिसे अवस्थाका व्यक्तिहरूलाई खाना तथा लुगा र औषधि बाँड्दै आएकी छिन् ।
एकल प्रयासमा नै सामाजिक अभियान सुरु गरेकी मगरलाई अन्तर्राष्ट्रिय अवार्ड पाएपछि भने सहयोगी हातहरू बढ्दै गएका छन् ।
संक्रमणमा सोनालीको सेवा
सानैदेखि समाज सेवा गर्न रुचाउने मगर काेराेना महामारीकाे बेला सरकारले गरेकाे लकडाउनमा आफ्नो आवश्यकता देशलाई खट्केकाे महसुस गर्दै योद्धाको रूपमा फिल्डमा उत्रिने अठोट गरिन् । अठोट गरेर मात्रै कहाँ हुन्थ्यो र ? सामान्य परिवारमा हुर्केर विद्यार्थी जीवनमै रहेकी उनलाई कोरोना संक्रमणले विश्व आक्रान्त बनेको बेला सडकमा सेवाका लागि उत्रिन न आर्थिक हैसियतले नै दिन्थ्यो, न त परिवारले नै अनुमति दिन्थ्याे ।
त्रिभुवन विश्वविद्यालयकै होस्टलमा बसेर स्नातकोत्तर गरिरहेकी मगर परिवारबाट अनिच्छा जनाए पनि आफूले खान राखेको खाद्यान्न पकाएर साँझमा घरबाट निस्किन् ।
‘बाटोमा कसलाई दिने ? ठूलाठूला अभियन्ताहरूले कराउने पो हुन् कि ? आज दिएँ भोलि दिन सक्दिनँ कि ?’ भन्ने अनगिन्ती प्रश्नसँगै उनले लकडाउनमै पहिलो सहयोग गरिन् । अर्थात् खाना बाँडिन् । उनीहरूसँगै बसेर खाना बाँड्दाबाँड्दै यसलाई अभियानकै रूपमा अगाडि बढाउने सोच उनलाई आयो ।
त्यसपछि उनले सामाजिक सञ्जालको प्रयोग गर्दै सहयोगी हातहरूलाई सहयोगका लागि आग्रह गर्न थालिन् । नभन्दै उनलाई सहयोग गर्नेहरूका म्यासेजले उनकाे म्यासेज बक्स नै भरिन थाल्याे । सहयोग जुट्न थालेपछि उनले परिवारको पनि साथ पाउन थालिन् ।

होस्टलमा बहिनीसँग बसेर अझै धेरै खाना अनि साथीभाइको सहयोगमा लत्ताकपडा जम्मा पार्न थालिन् । यसरी उनी उपत्यकाका सडकहरूमा हरेक साँझ खुसुक्क निस्केर असहायहरूलाई सहयोग गर्न थालिन् ।
काठमाडाैंमा संक्रमण बढ्दै गएकाे थियो । सडकमा बेवारिसे मानिसहरू पनि बढ्दै गए । अनि उनीसँगै उनलाई सहयोग गर्ने मनकारीहरू पनि बढ्दै गए । परिवारका सदस्यले गाउँमा पनि रोजगारी गुमाएर धेरै परिवारको बिचल्ली भो भन्ने सुनाएपछि उनी दाङको लमहीतिर हान्निइन् ।
पढ्न पठाएकी छोरी सहयोग लिएर गाउँ पुग्दा परिवारसमेत खुसी भयाे । सोनाली हर्षित हुँदै भन्छिन्, ‘म ठूलो सहयोग लिएर हिँड्न सक्दिनथेँ । ठूलाठूला समाजसेवीले मलाई चिन्दैनथे । आफूले सकेको सानो पोको बोकेर सामान बाँड्दै हिँडथेँ ।'
गाउँ गएर वडाध्यक्षसँग सहयोगका लागि अपिल गरिन् । उनीहरू सहयोग गर्न तयार भएपछि गाउँका ५० घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेर फर्किइन् ।
मगर काठमाडौँ फर्किएर अहिले पनि हरेक साँझ बेवारिसे व्यक्तिहरूको खोजीमा हिँड्छिन् । अहिले भने उनलाई सहयोग गरिदिनुपर्याे भन्ने फोनहरू पनि आउन थालेका छन् । तर, सानो पुँजी लिएर सडकमा उत्रिएकी मगरलाई सहयोग पुर्याउन हम्मे-हम्मे पर्न थालेको छ ।

तैपनि उनी थाकेकी छैनन् । भन्छिन्, 'म विद्यार्थी भएर होस्टलमा बसेकीले त थोरै भए पनि सहयोग गर्न सक्ने रहेछु भने अलिकति आर्थिक अवस्था सबल भएका व्यक्तिहरूले सहयोगी मन राखेदेखि सडकमा जीवन-मरणको दोसाँधमा जीवन गुजार्नेहरू पक्कै कम हुन्थे होलान् ?'
मगर आफ्नो कामले अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएपछि भने सामाजिक सेवा व्यवस्थित रूपमै सुरु गर्ने बताउँछिन् । अहिले त उनी बिनायोजना नै काम गर्दै छिन् । अवार्ड पाएपछि भने उनकाे कामलाई सहयोग गर्नेहरू धेरै आएका छन् । 'तिमीअगाडि बढ, हामी साथमा छौँ' भन्नेदेखि विभिन्न एनजीओले समेत संयुक्त रूपमा काम गर्न आग्रह गरिरहेकाे उनी बताउँछिन् । अहिले उनी समाजसेवाकाे दिगो योजना बनाउँदै छिन् ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७ १८:३१