अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं २ का सांसद विष्णु पौडेलले सांसद विकास कोषको सम्पूर्ण बजेट स्वास्थ्यक्षेत्रका लागि छनोट गरेका छन् । अघिल्लो वर्षको बजेट शिक्षाक्षेत्रमा खर्च गरेका मन्त्री पौडेलले यस वर्ष कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा बजेट आवश्यकता परेको भन्दै स्वास्थ्यक्षेत्रका लागि बजेट छनोट गरेका हुन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठकअनुसार अर्थमन्त्री पौडेलले यस वर्षको कोषको बजेटमध्ये सबैभन्दा बढी शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रमका लागि विनियोजन गरेका छन् ।
बुटवल उपमहानगरपालिका- १२ स्थित शहरी स्वास्थ्य केन्द्रको पूर्वाधार निर्माण एवं स्तरोन्नतिका लागि १ करोड ५० लाख रुपैया विनियोजन गरेका छन् ।
त्यस्तै, तिलोत्तमा नगरपालिका- २ स्थित शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरणका लागि १ करोड विनियोजन भएको छ । सैनामैना नगरपालिका १ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्रलाई पनि १ करोड विनियोजन भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानाकारी दिए ।

त्यसबाहेक लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सञ्चालनका लागि ५० लाख बजेट विनियोजन भएको छ ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले अर्थमन्त्री पौडेलले संसद् विकास कोषको बजेट यस क्षेत्रको स्वास्थ्य पूर्वाधारमा खर्च गरिनु सुखद पक्ष रहेको बताए । कोरोनाका कारण स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै तिलोत्तमामा खर्च हुने उक्त कोषको रकमले शंकरनगर स्वास्थ्य चौकीलाई थप व्यवस्थित बनाइने बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७ १६:१५