नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलको कित्ता कता हो ? प्रधानमन्त्री केपी ओलीको पक्ष वा अध्यक्ष प्रचण्ड ? दुई धारे नीतिमा रहेका बादलमाथि बाहिर जति चासो छ, दुई अध्यक्षमा उनीबारे झन् अन्यौल छ । त्यसै कारण प्रधानमन्त्री ओलीले १८ कात्तिकमा कित्ता क्लियर गर्न सुझाव दिएका थिए ।
त्यसदिन ओलीले बादललाई बालुवाटारमा बोलाएर परिस्थिति जटिल बन्दै गएकोले कुन कित्तामा उभिने हो प्रष्ट पार्न भनेका थिए । बादलनिकट स्रोतका अनुसार जसरी ओलीले बादलसँग प्रष्टता खोजिरहेका थिए, त्यसमा बादलको सपाट उत्तर थियो, 'मैले अहिलेसम्म बोलेका के कुराले तपाईंलाई असहयोग गरेको छ ?'
यसो भन्नुको अर्थ बादलले आफ्नो कित्ता ओलीसँगै रहेको संकेत त गरे तर प्रष्ट पारेनन । तर, बादलले त्यसदिन पनि ओलीलाई प्रष्टै भनेका थिए, 'स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न तपाईंलाई के कुराले समस्या पारेको हो ?'
अहिलेको समस्या त्यहीबाट पैदा भएको छ । बादलनिकट स्रोतले दाबी गर्याे- त्यस भेटमा ओलीलाई बादलले अहिलेको समस्या मन्त्रिपरिषद् पुनर्गठनबाट देखिएको बताएका थिए । त्यसमा बादलको सुझाव थियो- प्रचण्ड समूहलाई ९ वटा मन्त्रालय दिने र माधव नेपाल समूहलाई ४ वटा । ती मन्त्रालयमा उनीहरूले जो सुकै नेताहरूको नाम ल्याए पनि ओलीले मान्नुपर्ने सुझाव बादलको थियो ।
स्रोतका अनुसार उनीहरूको भागमा परेका मन्त्रालयमा अमुक नेतालाई ल्याउनु भनेर हस्तक्षेप गर्नु पनि गलत हुने बादलले ओलीलाई भनेका थिए ।
यस्तै संवादमा दुई नेताहरूको भेट टुंगियो । तर, संयोगचाँहि त्यही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेता वामदेव गौतमलाई शीतल निवासमा ओलीको पक्षमा लाग्न फकाइरहेकी थिइन् । त्यही बेला बादललाई ओली बालुवाटारमा कित्ता क्लियर गराउन खोजिरहेका थिए । बादलको कित्ता क्लियर नभएकै कारण हुनसक्छ, भाेलिपल्ट १९ कात्तिकमा राष्ट्रपति भण्डारीले बादललाई निम्ता गरिन् ।
भेटमा भण्डारीले भनेकी थिइन, विगतमा बामदेव र तपाईंले पार्टी एकतामा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । अब पनि त्यही भूमिका निर्वाह गर्नुपर्यो । भण्डारीको सीधा प्रस्ताव थियो- ओली कित्तामा तपाईं क्लियर भइदिनु पर्यो । तर, बादलले त्यस भेटमा पनि ओलीले स्थायी कमिटीको निर्णय मान्नुपर्ने जवाफ दिए, जुन जवाफ अघिल्लो दिन ओलीलाई पनि दिएका थिए ।
ओलीको निरन्तरको प्रयासमा बादलको कित्ता क्लियर भएको थिएनन् । १६ कात्तिकमा अध्यक्ष प्रचण्ड निवासमा बादलसहित ६ जना सचिवालय सदस्य जम्मा भएपछि ओली खासमा बादललाई कित्ता क्लियर गराउन चाहन्थे । त्यसै दिन पनि प्रचण्ड निवासबाट निस्केलगत्तै बादललाई बालुवाटार बोलाएका थिए ।
१६ कात्तिकमा ६ जनाबीच प्रचण्डले ओलीले पार्टी विभाजन गर्न भनेको ब्रिफिङ गरेका थिए । र, त्यसदिन बादलले ६ जनाबीचको छलफलमा स्थायी कमिटीको निर्णय ओलीले नमानेर गलत गरेको भनेका थिए । तर, त्यसमा थप अर्को कुराचाँहि ओलीले नमानेको, नटेरेकाे भन्ने तर अध्यक्ष प्रचण्डको टोलीले के प्रस्ताव तयार गरको छ त ? भनेर पनि प्रश्न उठाएका थिए ।
अर्थात्, दुवै पक्षबीच तानातानमा परेका बादल २१ कात्तिकमा प्रचण्डले धुम्बाराहीमा बोलाएको अनौपचारिक सचिवालय बैठकमा गएनन् । धुम्बाराहीकाे बैठक बसिरहँदा बादलचाँहि महासचिव विष्णु पौडेलसँग गृह मन्त्रालयमा संवादमा थिए । त्यसलाई धेरैले बादलको लाइन ओलीतिरै रहेको टिप्पणी गरिरहेका छन् ।
तर, बादलनिकट नेताको दाबीमा बादल दुई कुरामा प्रष्ट छन । एक, सरकार परिवर्तनमा दबाब दिन हुने भेलामा सहभागी नहुने र प्रधानमन्त्रीको विरोध नगर्ने । दुई, पार्टी विभाजन हुने नै अवस्था आयो भने प्रचण्डको साथ नछोड्ने । अर्थात् संकटमा प्रचण्डलाई साथ दिने ।
बादलका मान्छे, प्रचण्डका खम्बा
नेता बादल अहिलेसम्म प्रचण्ड वा ओली कुन कित्तामा भन्ने प्रष्ट छैनन् । तर, उनको समूहका नेताजति प्रचण्डको दरिलो खम्बा छन् । अहिले प्रचण्डका लागि सबैभन्दा बढ्ता भर लाग्ने नेता नै पहिला बादल समूहका नेताहरू छन् । संसदीय दलको प्रमुख सचेतक समेत रहेका नेता देव गुरुङ हुन् वा नेतृ पम्फा भुसाल ।
पूर्वमाओवादीमा मोहन वैद्य र बाबुराम भट्टराईसँगको अन्तरसंर्घषमा हरिबोल गजुरेल, अग्नि सापकोटाहरूले जसरी प्रचण्डलाई काँध थाप्थे, अहिले त्यही भूमिकामा गुरुङ र भुसालहरू देखिएका छन् ।
बरु त्यतिबेला प्रचण्डको खास मान्छे भनिएका वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतहरू दुई डुंगामा खुट्टा राखिरहेका छन् । अवसरको पर्खाइमा देखिएका ती नेताहरूभन्दा भरलाग्दा बादल समूहका नेताहरू हुने तर बादल स्वयं भने ओलीनिकट देखिनु संयोग मात्र नभएको नेकपावृत्तमा चर्चा छ ।
बादललाई मन्त्री भएर प्रधानमन्त्रीको विपक्षमा लाग्न हुँदैन भन्ने लागेको भए देव गुरुङले प्रमुख सचेतकको पद नै धरापमा राखेर किन प्रचण्डलाई साथ दिइरहेका छन् त ? पूर्वमाओवादीभित्र यस्ताे प्रश्न पनि व्याप्त छ । हुन पनि प्रधानमन्त्री ओलीले जुनसुकै बेला प्रमुख सचेतकबाट गुरुङलाई हटाउने सक्ने संकेत त प्रचण्डलाई पनि दिइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७ २२:३९