‘कुकर बनाउने मान्छे आयो......................., बिग्रेको कुकर, राइसकुकर, फ्यान बनाउने भए ल्याउनुस् है !’
खुट्टामा तने चप्पल, पिठ्यूँमा गह्रौँ गरी बोकिएको छ भिर्ने झोला, दुई हातमा रबरमा झुण्ड्याइएका कुकर बनाउने सामान बोकेर गाउँगाउँ डुल्छन् उनी ।
गाउँको गोरेटो बाटोमा उनी बिग्रेका सामान बनाउने विभिन्न सामानको छन्द्रयाङ छुन्द्रुङ आवाजसँगै हिँड्न थालेको पनि वर्षाैं बितिसकेको छ । बिहान ९ देखि साँझ ६ बजेसम्म हरेक दिन उनी यसरी नै आफ्नो दिन बिताउँछन् ।
दिनभरिको उकालीओराली, कच्ची मोटरबाटोको धुलोले छाेपिएको शरीर अनि गोजीभरि कुकरलगायत बिग्रेका इलेक्ट्रोनिक्स भाँडाकुडाँ मर्मत गरी कमाएको पैसा बोकेर साँझ डेरामा फर्किछन् उनी ।
बारा जिल्लाको गढीमाई घर भई विगत सात वर्षदेखि लमजुङको सदरमुकाम बेँसीशहरमा बस्दै आएका उनी हुन् ३३ वर्षीय मनोज साह ।
दाजुबाट सिकेको सीपले स्वरोजगार
मनोजले १३ वर्षको उमेरमा आफ्ना दाजुसँग सामान मर्मत गर्न सिकेका हुन् । उनका दाजुले भने भारतमा गएर यो काम सिकेको उनी बताउँछन् ।
‘दाइबाट सीप सिक्न मलाई ठ्याक्कै १ वर्ष समय लाग्यो । पढेलेखेको भए छिट्टै सिक्थेँ होला तर, बुबाआमा सानैमा बितेपछि पढ्नै पाइएन ।’
पढ्न नपाए पनि हातमा सीप भए काम र पैसाको दु:ख हुदैन भन्दै मनोजका दाई मनीषले उनलाई सीप सिक्न कर गरेका थिए । त्यही सीपले अहिले उनी स्वरोजगार बनेका छन् ।
बिग्रेको कुकर बनाउँदा कहिलेकाँही १० पटकसम्म पनि नबन्ने अनि दाईले लाठी भाँचिने गरी पिट्ने गरेकाे उनी स्मरण गर्छन् । दाजुले लाठी भाँचिने गरी गरेकाे पिटाइ खाईखाई सिकेको भएर होला, अहिले पहाडको उकालो हिँड्दा पनि खुट्टाले आराम नखोज्ने उनी बताउँछन् ।
कामबाट राम्रै आम्दानी
बिहान ९ देखि साँझ ७ बजेसम्म उनी काममा खटिन्छन् । यसरी खटिँदा सबै खर्च कटाएर ३० देखि ४० हजार रुपैयाँसम्म मासिक रूपमा बचाउने मनोजको भनाइ छ । तर, यो बचत नियमित हुन्छ नै भन्ने निश्चित नहुने उनी बताउँछन् ।
उनले प्रेसर कुकरको रबर, नट, ह्यान्डल फेर्ने, राइकुकर, लाइट, पङ्खा बनाउने, ग्यासचुल्होको मर्मत तथा नयाँ चुल्हो पनि बिक्री गर्ने गर्छन् ।
यी कामबाट उनले ५० देखि ८ सय रुपैयाँसम्मको रेटमा पैसा पाउँछन् । सबैभन्दा बढी मूल्य राइसकुकर मर्मत गर्दा पर्ने उनले बताए ।
काम गर्दाकाे अनुभव
दैनिक थरीथरीका मान्छेसँग भेट हुँदा रमाइलो हुने मनोज बताउँछन् । कहिलेकाहीँ गाउँघरमा डुल्दा उनलाई भर्खरको मान्छे के गाउँगाउँमा डुल्दै हिँडेको बरु विदेश जानु नि भन्ने सुझाव पनि दिन्छन् रे । ती सुझावलाई उनी संगालेर राख्छन् । तर, मुख फर्काएर केही जवाफ दिने उनकाे बानी पनि छैन ।
काम गर्दा रमाइला नरमाइला र नराम्रा क्षणहरू आइरहने र कैयौँपटक यस्ता क्षणहरू सँगाल्नुपरेको उनकाे अनुभव छ । लमजुङ जिल्लामा गुरुङ समुदायको बाहुल्य छ । गुरुङ गाउँमा काम गर्न जाँदा उनलाई भाषा नबुझेर सास्ती हुन्छ ।
आफ्नाे अनुभव सुनाउँदै मनोज भन्छन्, ‘एक पटक लमजुङको पर्यटकीय गाउँ भुजुङमा पुग्दा प्यास लागेर पानी पिलाउनुस् न भनेको बूढी बज्यैले रक्सीको गिलास पो दिनुभयो । पछि थाहा पाएँ- बज्यैले पानी हाेइन पा भन्ने बुझ्नुभएछ । पा भनेको गुरुङ भाषामा लोकल रक्सी पो रै'छ ।’
यस्तै, कतिपय घरमा काम गर्दा सकेसम्म कम पैसामा काम गराउन खोज्ने, हेपेर बोल्ने, छाडा बोल्ने, आफ्नो मिहिनेतअनुसारको पैसा माग्दा उल्दै थर्काउनेजस्ता व्यवहार खप्नुपरेकाे उनी बताउँछन् ।
कहिलेकाँही त बाझाबाझ परेर सित्तैँमा काम गरेको अनुभव पनि छ मनोजसँग ।
कोरोनाको भन्दा मान्छेको डर
कोरोनाको महामारीका कारण गरिएको लकडाउनले मनोजलाई निकै सास्ती भयो । उनी त्यो समयमा लमजुङमा थिए । उनी तीन महिना त पूरै एउटै कोठामा थुनिएर बसे । बिस्तारै लकडाउन खुकुलो भए पनि बजारदेखि गाउँगाउँमा छिर्न बन्देज लगाइयो ।
‘म लकडाउन हुनुभन्दा अघिदेखि नै लमजुङमै रहेको भए पनि काम गर्न हिँड्दा तराईबाट आएको भन्दै गाली गर्नेहरू धेरै थिए । उनीहरूको गाली सुन्दा लाग्थ्यो- कोरोनालाई मैले झोलामै बोकेर हिँडेको छु । त्यो बेला तराईको मान्छे भनेपछि गाउँ छिर्न त के लट्ठी लिएर भगाउने पनि गरे,’ उनी विगत सम्झिन्छन् ।
स्वास्थ्यको ख्याल गर्नु राम्रो कुरा हो । तर, तराईको मान्छे, मधेसी भनेर हेप्दाचाहिँ अत्ति नै नराम्रो महसुस भएको उनले बताए । भन्छन्, ‘अहिलेसम्म स्वास्थ्य अवस्था राम्रै छ । तर, केही गरी कोरोना लाग्यो भने मान्छेले के गर्लान् भन्ने पिर लागिरहन्छ ।’
दसैँमा सोचेभन्दा बढी आम्दानी
दसैँका बेला मनोजले सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको बताए । वर्षौंदेखि गरेकाे यही कामबाट सन्तुष्ट रहेका उनले यस वर्ष भने आम्दानीमा अहिलेसम्मकै रेकर्ड तोडेका छन् ।
कोरोना महामारीले गर्दा गाउँबाट नयाँ भाडाँकुँडा किन्न मान्छेहरू बजार नझरेपछि पुरानै सामानको मर्मत गर्न बाध्य भए । अनि उनले धेरै काम पाए ।
दसैँका बेला धेरै परिकार बनाउनुपर्ने, त्यसमाथि पनि मासुका परिकार पाक्ने भएपछि हरेक गाउँका प्रत्येक घरमा प्रेसर कुकरको मर्मत गरेको उनले बताए ।
‘लकडाउनले बजार आउन नपाएहरूका लागि घरमै पुगेर मर्मत गरिदिँदा ग्राहक पनि खुसी, म पनि खुसी । गाउँमा प्रत्येकजसो घरमा दुईदेखि चारवटासम्म प्रेसर कुकर, राइसकुकरको मर्मत गरेँ,' उनले भने ।
यसरी घरैपिच्छे काम गर्दा उनले एउटा सामान बनाएको कम्तीमा २ सयदेखि ८ सय रुपैयाँसम्म लिए । जसका कारण दसैँताका मात्र उनले एक महिनामा ७० हजार रुपैयाँ आम्दानी गरे । उनी भन्छन्, ‘भाग्यलाई होइन, मिहिनेतलाई विश्वास गर्नुपर्छ । अहिले दुःख गरे पो पछि सुख हुन्छ ।’
विदेश जाने हाेइन, बरु सीप सिकौँ
तराईको समथर ठाउँदेखि पहाडको उकालीओराली गर्दा मनोजका पाइला थाकेका छैनन् । बरु पाइला मजबुत हुनुका साथै धेरै कुरा सिक्ने अवसरसमेत उनलाई मिलेको छ ।
मनोजले अहिलेसम्म विदेश जानेबारे सोच्नै भ्याएका छैनन् । जहाँ गए पनि दुःख नै गर्ने हो, त्यसैले आफ्नै देशमा केही गर्ने उनको सोच छ । ‘विदेशमा गएर जुठा भाँडा सफा गर्नुभन्दा आफ्नै देशका कुनाकुना डुल्न वेश,’ मनोज भन्छन् ।
उनका दाजु, भिनाजु, भतिजले पनि यही सीपबाट परिवार पालेका छन् । त्यति मात्र होइन, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएका छन् । यही पेसाले बारामा केही जग्गाजमिनमा पनि लगानी गरेको उनी बताउँछन् ।
काम कुनै पनि सानो वा ठूलो हुँदैन भन्ने कुरा हामीले हाम्रै अग्रजबाट सिकौँ अनि सीप पनि भन्छन् उनी । त्यसैले पनि आफूलाई काम गर्न कुनै अप्ठ्यारो नलाग्ने उनको भनाइ छ ।
भन्छन्, ‘काम ठूलो सानो हुँदैन, यदि केही ठूलो हो भने त्याे सीप हो । हातमा सीप भए जीवन सहज हुन्छ । मिहिनेत गर्नुपर्छ यहीँ पैसा कमाउन, विदेशतिर ताताे घाममा जानका लागि म्यानपावर कम्पनीहरूमा भौँतारिनै पर्दैन ।’
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७ ०९:२३