हरिबोल गजुरेल अर्थात् शीतलकुमारले दुई दशकभन्दा धेरै समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भित्रिया भएरै साथ दिए । प्रचण्डका हरेक चोटमा मल्हम लगाउन पुग्ने गजुरेल हरेक मोर्चामा प्रचण्डको प्रतिरक्षामा ढाल बनेर उभिन्थे । त्यसैले गजुरेललाई भनिन्थ्यो, प्रचण्डको ‘एस म्यान’ । हुन पनि गजुरेलले सशस्त्र युद्ध, शान्तिकाल मात्र होइन, पार्टी एकताका हरेक परिघटनामा प्रचण्डको ‘एस म्यान’ मात्र भएनन्, प्रचण्डको दरिलो खम्बा बनेर उभिए ।
परिस्थिति सदा एकनास हुँदैन । गजुरेलको हकमा पनि त्यो भइदिएन । कठिन समयमा प्रचण्डलाई काँधमा राखेका गजुरेल केही महिनायता निराश मात्र छैनन्, प्रचण्डदेखि टाढिँदै गएका छन् । किनारा लाग्दै गएका गजुरेलको विचारमा प्रचण्डमा अस्वभाविक रूपमा राजनीतिक र वैचारिक स्खलन भयो । नेताहरूमा ओरालो लाग्दा नैतिकताले मन पोल्न थाल्यो । अनि, गजुरेलले गत साउनमा प्रचण्डलाई ६ बुँदे असहमति पत्र बुझाए र विस्तारै किनारा लागे ।
दुई दशक लामो दरिलो खम्बा गजुरेलको प्रचण्डप्रति एक्कासी मोहभंग किन भयो ? गजुरेलको सपाट जवाफ छ, ‘नयाँ परिस्थितिमा नयाँ विचार र नीति चाहिन्छ तर प्रचण्डमा नयाँ विचार पनि भएन, नीति पनि भएन ।’
शिलापत्रसँगको संवादमा गजुरेल पछिल्ला दिनमा प्रचण्डमा मुलतः विचार र राजनीतिमा समस्या देखिएको ठान्छन् । उनले सुझाव पनि सुन्न छाडेका छन् । गजुरेल भन्छन्, ‘नत्र मलाई यो उमेरमा आएर प्रचण्डमा स्खलन आयो किन भन्नुपर्थ्याे र ?’
गजुरेलले प्रचण्डलाई संगठन सञ्चालन मात्र होइन, पार्टीभित्र मूल्यांकन समिति बनाउने, जसले नेताहरूलाई कार्यशैली र जिम्मेवारीअनुसारको कामको मूल्यांकन गरेर अंक दिओस् ताकि भोलि नेतालाई जिम्मेवारी दिन, भूमिका निर्धारण गर्न कामयावी होस् भन्ने सुझाव दिएका थिए । अनि, निर्वाचनमा नेताले होइन पार्टीले खर्च व्यहोर्ने प्रणालीको विकास गर्नुपर्यो । यी कुरा गत साउनमा प्रचण्डलाई बुझाएको ६ बुँदे पत्रमा लेखेका छन् ।
प्रचण्डले त्यसको सुनवाइ त परेको कुरा, छलफलमा सम्म ल्याएनन् । त्यसले गजुरेलको मन थप चिढियो । ‘नेताहरूमा कुर्सी र आफूलाई केन्द्रमा राखेर मात्रै छलफल गर्ने प्रवृत्ति विकास भयो’, उनी भन्छन् ‘यस्ता विषयमा छलफल गर्ने हो भने आफैँ सच्चिनुपर्ने हुन्छ, नेताहरूमा सच्चिनुपर्छ भन्ने ठान्दैनन् ।’
प्रचण्डका सुदुरपश्चिमका अर्का दरिला खम्बा थिए, लेखराज भट्ट ‘राकेश’ । पूर्वमाओवादीभित्रको अन्तरसंर्घष हरेक मोर्चामा भट्ट प्रचण्डमाथिका प्रहार थाप्न आइपुग्थे । त्यतिबेला सुदुरपश्चिमबाट धमेन्द्र बास्तोला मोहन वैद्य र खगराज भट्ट बाबुराम भट्टराईको कित्तामा सतिसालझै उभिन्थे ।
विगतमा विश्वासमै प्रचण्डले ५ मंसिर ०७६ मा भट्टलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाए, मातृका यादवलाई फिर्ता बोलाएर । तर, परिस्थिति यसरी फेरियो कि आठ महिना पनि नपुग्दै भट्ट खुमलाटारभन्दा बालुवाटार नजिक बन्न पुगे । र, नेकपाको अन्तरसंर्घषमा प्रचण्ड कित्ताबाट एक्कासी केपी ओली कित्तामा पुगेर सतिसालझै उभिए ।
जबदेखि प्रचण्डको पार्टीमा जोडिन आए, त्यसै दिनदेखि प्रचण्डका दाहिने हात भएर बसेका भट्टको मन किन प्रचण्डबाट ओलीतिर सर्यो, त्यसको कारण भीम रावल मात्रै नहुन सक्छन् ।
पूर्वबाट शीतलकुमार र पश्चिमबाट राकेशहरू प्रचण्डको दायाँ–बाँया उभिएपछि जहिल्यै पार्टीमा बलियो उपस्थिति देखाउन सक्ने प्रचण्डले आज किन तिनै नेताहरूलाई साथमा राख्न सकेका छैनन ? अर्थात् हिजो प्रचण्डका लागि ज्यान दिन तयार नेताहरू आज प्रचण्डसँग मोहभंग गर्दैछन् ?
भट्ट र गजुरेल मात्र होइन्, प्रचण्डलाई दरिलो साथ दिने सैन्य कमाण्डर थिए, जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन अनन्त, चन्द्रप्रकाश खनाल बलदेव, नन्दकिशोर पुन पासाङ । यी चार डेपुटी कमाण्डरकै साथले प्रचण्ड जहिल्यै बैद्य र वाबुरामलाई तर्साउन सफल थिए । तर, आज जनार्दन शर्मा पनि प्रचण्डभन्दा ओलीतिरै मोह देखाउन थालेका छन् ।
गत ५ साउनको मध्यान्ह प्रचण्डले नेकपाको स्थायी समितिमा रहेका पूर्वमाओवादीका सदस्यलाई खुमलटार निम्त्याएका थिए । ४ साउनको साँझ प्रचण्ड र ओलीबीच जबजसहित नेतृत्वमा सहमति भएको प्रचार भएपछि भोलिपल्ट छलफलका लागि उनीहरू निम्त्याइएका थिए । र, त्यतिबेला प्रचण्डले सहमति नभएको मात्र भनेनन्, जबज मान्नै नसकिनेसमेत प्रस्ट पारे । अनि, अन्तरसंर्घषको बैठानबारे नेताहरूसँग सुझाव मागे ।
त्यसदिन जनार्दन शर्मा भेलामा सहभागी भएनन् । खुमलटारलाई चाँहि ढाडको समस्या भएका कारण थेरापी गर्न जानुपर्ने भएकोले आउन नसक्ने खबर छोडेका थिए । तर, शर्मा त्यसदिन थेरापीमा होइन, महासचिव विष्णु पौडेलको निवासमा दिनभरजसो नेता शंकर पोखरेलसहित छलफलमा थिए । त्यो छलफल प्रचण्ड- माधव नेपाल गठबन्धन भत्काएर ओली- प्रचण्ड मिलाउने एजेण्डामा केन्द्रित थियो ।
अन्ततः २६ भदौसम्म आइपुग्दा शर्माहरूको लाइन सफल भएझैं देखियो । अर्थात्, प्रचण्डको विश्वासपात्र भनिएका शर्मा पनि किन ओलीनिकट पुगे ? त्यही प्रश्न अब ऊर्जामन्त्री वर्षमान पुन र वनमन्त्री शक्ति बस्नेतको हकमा पनि लागू हुन्छ । प्रचण्डले तीनचोटी आग्रह गर्दा पनि ऊर्जामन्त्री पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्तिका लागि पहल गर्न सकेनन् ।
प्रधानमन्त्री ओलीसम्म पुगेर एकबचन घिसिङको पक्षमा बोल्न नसकेका पुन दोहोरो भूमिकामा देखिन्थे । वनमन्त्री शक्ति बस्नेत त ओली प्रधानमन्त्रीबाट हटाउन हुँदैन भन्ने अभियानमै थिए । जसले गर्दा ओलीको रोजाइका मन्त्री पनि भए ।
गजुरेल, भट्ट, पुन, शर्मा, बस्नेतहरू यस्ता पात्र हुन्, कुनै बेला प्रचण्डका लागि ज्यान दिन तयार हुन्थे । यहीबीच प्रचण्डनिकटका स्थायी कमिटी सदस्य मणि थापा, टोपबहादुर रायमाझी पनि ओली कित्तामा लागे । सचिवालय सदस्य रामबहादुर थापा बादल पनि प्रचण्डभन्दा बढ्ता ओलीसँग निकट छन् । अमेरिकी सहयोग एमसीसीको एजेण्डामा मात्र हो, बादलको प्रधानमन्त्री ओलीसँग फरक मत रहेको ।
ओलीसँग निरीह प्रचण्ड
प्रचण्डको कोटरीकै भनिएका नेताहरू तितरवितर हुदाँ स्वभाविक रूपमा प्रधानमन्त्री ओलीसँग प्रचण्ड निरीह देखिन्छन् । २६ भदौयताका ३८ दिनमा प्रचण्डले ओलीसँग ठोस परिणामसहित संवाद गर्न सकेका छैनन् । वालुवाटारका लम्बेतान बैठकमा प्रचण्ड र ओली विर्मश त गर्छन् तर, निर्णय ओली एक्लैले गर्छन् । प्रचण्ड जवाफ फर्काउन सक्दैनन् । जस्तो, अमेरिकामा युवराज खतिवडालाई राजदूत बनाउने निर्णय होस् वा लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने ।
मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय सरकारको तजविजको कुरा भन्न सकिए पनि राजदूत नियुक्ति पार्टीसँग जोडिन्छ । जबकी ६ असोजको सचिवालय बैठकले मापदण्डसहित राजनीतिक नियुक्ति गर्ने सहमति जुटाएको १० दिन मात्रै बितेको थियो खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्ने ओलीको एकल निर्णय हुँदा ओलीले त्यही अवधिमा अरु पनि विभिन्न नियुक्तिहरू गरे ।
प्रचण्डको सहमति कृषि, नेपाल संस्कृत र पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्नेबाहेकका कुनै पनि निर्णयमा ओलीले प्रचण्डसहित पार्टीसँग विमर्श गरेका छैनन् ।
प्रचण्ड समूहबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीलाई हटाउने कर्णाली प्रदेशका सांसदको प्रयासमा पनि प्रचण्डले ओलीको साथ पाएनन् । ओलीले हरियो बत्ति बालिदिएकै कारण कर्णालीमा यामलाल कँडेल समूहले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने हिम्मत गरेको हो । किनभने योभन्दा पहिला तीन पटक कँडेलले प्रयास गर्दा ओलीले संकेत दिएका थिएनन् । ओलीको साथ प्रचण्डले नपाएकै कारण कर्णालीको समस्या एक हप्तादेखि कचल्टिएको छ । र, प्रचण्डले ओलीसँग ड्यासिङमा छलफल गर्न सकेका छैनन्, यदि त्यस्तो हुन्थ्यो भने संभवतः अहिले निष्कर्ष निस्किसकेको हुन्थ्याे ।
राजनीतिशास्त्री कृष्ण पोखरेल प्रचण्डको निरीहतामा ओलीको उपयोग नीति जिम्मेवार ठान्छन् । पोखरेलको भनाइमा नेताहरूको कमजोरी पत्तो पाएका ओली एकले अर्कोलाई उपयोग गरेर फाइदा उठाउँछन् । पोखरेल भन्छन्, ‘प्रचण्डमा एकातिर पूर्वएमालेबाट साथ पाउँछु भन्ने भर छैन, अर्कातिर केपी ओलीले ह्युमिलेट गर्छन् । यही द्धिविधाले प्रचण्ड निरीहजस्तो देखिएका हुन् ।’
हुन पनि पूर्वएमालेको निर्णायक ओली छन्, जसलाई छिन्ने तत्काललाई आधार र हैसियत अन्य नेतामा छैन । यही कुरा बुझेका पूर्वमाओवादीका प्रचण्डनिकट नेताहरूले प्रचण्डलाई ओलीको ओतमा लगेर राख्न खोजेका ठान्छन् राजनीतिशास्त्री पोखरेल ।
नेपाल समूहको पनि अविश्वास
२६ भदौको स्थायी कमिटी बैठकअघि नै प्रचण्ड र ओलीबीच अघोषित सम्झौता भएको बुझेको माधव नेपाल समूह पनि प्रचण्डलाई विश्वास गरिहाल्ने अवस्थामा छैन । त्यो समूहबाट पनि गतिलो आडभरोसा छैन ।
नेपालनिकट एक स्थायी कमिटी सदस्य प्रचण्डलाई विश्वास गरिहाल्ने अवस्था नरहेको बताउँछन् । उनी भन्छन्, ‘माओवादीका नेताहरू स्वार्थका लागि बडो चलायमान हुने रैछन्, भरपर्ने खालका नेताहरू रैनछन् ।’ ती नेताको अनुभव ७२ दिन लामो स्थायी कमिटी बैठकको बीचमा पूर्वमाओवादी नेताहरूले देखाएको हर्कतमा आधारित थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७ १६:१९