कोभिड–१९ को विश्वव्याधि, फैलिँदो संक्रमण र मृत्युका खबरले बितेका सात महिना नेपाली जनजीवन नराम्ररी खलबलियो । आर्थिक–सामाजिक सम्बन्धहरू तहसनहस भए । खबर नै नबनेका घरघरका संकट त कतिकति ! यो स्थिति कहिलेसम्म लम्बिने हो, अनुमान गर्न कठिन छ । आमनागरिकलाई महामारीबाट जोगाउन र अहिलेका संकट पार लगाउन सरकार करिब–करिब असफलजस्तै देखियो ।
यस्तोमा 'बादलमा चाँदीको घेरा' बनेका केही त्यस्ता पात्रहरू हामीले खोजेका छौँ, जसले चरम निराशाका बीच पनि आशाको सञ्चार गरेका छन् । चौतर्फी नकारात्मक खबरका बीच सकारात्मक सन्देश प्रवाह गरेका छन् । यस वर्षको दसैँ विशेषमा हामी तिनै 'आशाका आधारशिला' पस्किनेछौँ । -सम्पादक
०००
काेभिड १९ काे महामारी नेपालमा पनि सल्किने पूर्वानुमानै थियाे । तर, राेकथाम र नियन्त्रणकाे तयारीबारे संघिय सरकारमा मात्र हाेइन, स्थानीय सरकार पनि अन्याेलमा थिए । त्यस्ताे बेला सबैभन्दा पहिले क्वारेन्टाइन निर्माण गर्ने स्थानीय तह हो, तिलोत्तमा नगरपालिका । मेयर बासुदेव घिमिरेको पहल र नेतृत्वले देशभरका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा पहिले क्वारेन्टाइन र आइसोलेसन त्यही निर्माण भयाे । विपन्नहरूका लागि सुरुवातमा राहत वितरण थालियाे । राहतको चाप बढी भएपछि गरिखाने काम दिन थाल्याे ।
केही नयाँ काम गर्ने र योजनाहरू अघि सार्दै स्थानीय सरकारको सान्दर्भिकता रूपन्देहीकाे तिलोत्तमा नगरपालिकाले देखाइनै रहेको थियो । गत वर्ष मात्रै स्थानीय तहमा तिलोत्तमा नगरपालिकाले पहिलोपटक लगानी सम्मेलन गर्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणअनुसार धेरै काम पहिलोपटक गर्ने स्थानीय तहमा पर्छ, तिलोत्तमा नगरपालिका । नीति निर्माण, कार्यविधि तय गर्ने मात्र हाेइन्, कार्यान्वयन गर्ने सवालमा पनि तिलोत्तमा अघि देखियाे ।
०००
चीनको वुहानबाट २०७६ मंसिर महिनायता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलोपटक १० माघ २०७६ मा पुष्टि भएको थियो । 'धेरै नागरिक विदेशमा भएको चीनमा पनि धेरै हाम्रा नागरिक भएका कारणले पनि हामीलाई पनि ठूलो समस्या पर्न सक्छ है भनेर फागुनको पहिलो साताबाट पूर्वतयारीको छलफल चलाएका थियौँ, ११ चैतमा त हामीले पहिलो पटक व्यवस्थित क्वारेन्टाइन सञ्चालनमा ल्यायौँ,' नगरपालिकाका प्रमुख घिमिरेले शिलापत्रसँग भने ।
जबकि यो समयसम्ममा अन्य स्थायी तह र प्रदेश सरकारहरूले समेत एउटा पनि क्वारेन्टाइन व्यवस्थापन गर्न सकेका थिएनन् । केन्द्र सरकारले ४ फागुन २०७६ मा चीनको वुहानबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिबोटस्थित विद्युत् प्राधिरकणको भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरेको थियो ।
११ चैतमा सुरुवातमा ८० र पछि २०० अट्ने गरी तिलोत्तमा नगरपालिकाले क्वारेन्टाइन सञ्चालनमा ल्याएको थियो । क्वारेन्टाइनमा बस्नेका लागि तीन पटक खाजा खाना, फ्री वाइफाइ, झुललगायतका सामग्री, सुरक्षा प्रबन्ध मात्रै हाेइन, छुट्टै व्यवस्थित स्वाब संकलन क्षेत्र पनि बनायो नगरपालिकाले ।

केन्द्र सरकारले नाकामा रोक लगाएको थियो तर सीमा नाकामा नेपालीहरू खाना नपाएर अत्तालिएका थिए । नगरप्रमुख घिमिरे भन्छन्, 'हामीले निरन्तर जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर बोर्डरमा छटपटाएका नेपाली नागरिककाे उद्धार र सहयाेगकाे काम सुरु गर्यौँ ।'
घिमिरेका अनुसार तिलोत्तमा नगरपालिकाले पहिलो पटक ८० जनाको उद्धार गरेको थियो । 'सीमा नाकाहरूमा धेरै नेपालीहरू भोकले छटपटाएका थिए । हामीले म आफैँसमेत उपस्थित भएर १२ दिनको सुत्केरीसहित ८० जनालाई लिएर १५ दिन क्वारेन्टाइनमा राख्यौँ र पछि सम्बन्धित ठेगानामा पठाइदियौँ ।'
क्वारेन्टाइनमा अलिक सहजीरकण हुन थालेपछि तिलोत्तमाले आइसोलेसन सञ्चालन गर्ने तयारी गर्यो । नगरपालिकाले अहिलेसम्म दुईवटा भवनमा ४० बेडको आइसोलेसन बनाएको छ । संक्रमितहरूलाई आइसोलेसनमा राखिएको छ । यो नगरपालिकाभित्र हस्पिटल भने छैन । घिमिरे भन्छन्, 'पछि बुटवल भैरहवामा पनि समस्या पर्छ जस्तो लाग्यो । अनि हामी आफैँ आइसोलेसन सञ्चालन गर्नतर्फ लाग्यौँ ।'

नगरप्रमुख घिमिरेको दाबीअनुसार नेपालमा नै पहिलोपटक सरकारी तवरबाट राहत वितरण गर्ने पहिलो नगरपालिका हो तिलोत्तमा । यो नगरपालिकाले लकडाउन लागू गरिएको पहिलो साता नै राहत बोकेर गरिखाने वर्गकोमा पुगेको थियो ।
पहिले राहत वितरण गर्यो । निरन्तर राहत दिनुपर्नेको संख्या बढेपछि राहत र काम दुवैको अवधारणा सुरु गर्यो । १८ चैतबाट वितरण गर्न सुरु गरिएको राहत असारसम्म निरन्तर बाँडियो । यतिबेलासम्म ४ हजार परिवारलाई नियमित राहत वितरण गरिएको नगर प्रमुख घिमिरे बताउँछन् । दाल, नुन चिनी मात्रै ७० लाख रूपैयाँ वितरण गरिएको नगरपालिकाको तथ्यांक छ । असार १५ पछि भने नगरपालिकाले कामको क्षेत्र खोल्यो । 'चैतदेखि सुरु भएको राहत वितरण कार्य १५ असारसम्म त हामीले निरन्तर गर्यौँ, तर, संक्रमण कहिलेसम्म जानी हो । थाहा थिएन, त्यसपछि हामीले गरिखाने वातावरण मिलाउनतर्फ लाग्यौँ र काम गर्ने मानिसको सूची र काम तयार गर्यौँ,' घिमिरेले भने ।
असारमा दैनिक १ हजार जनासम्मलाई ठेकेदारले गर्ने सरकारी काम, उपभोक्ता समितिले गर्ने सरकारी काम र अन्य नियमित काममा समेत काम दिइएको थियो । ठेकेदार कम्पनीहरूलाई छुट्टाछुट्टै क्वारेन्टाइन निर्माण गरेर ती मानिसलाई क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य मापदण्ड पूरा गरेर काम लगाउन भनियो । प्रशासन भवन, अतिथि गृह, छवटा वडा कार्यलयको भवन, भ्यूटावरलगायत सबै काम यो बेला पनि अघि बढाइयो । अहिले पनि क्वारेन्टाइनमा बसेका समेत गरी १५ सय जना दैनिक कार्यरत छन् । जसले गर्दा राहत वितरणमा खर्च पनि गर्नु परेन र जनता भोकले छटपटाउनु पनि परेन ।
नगरपालिकाले यो समयमा गरेका काम व्यवस्थित रूपमा आफ्नो वेबसाइटमा राखेको छ । हालसम्म २३ सय जना नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका छन् । विपद् तयारीका लागि सातवटा 'क्वीक रेस्पोन्स टिम' बनाएको छ । एउटा सीमा नाका तथा एयरपोर्ट हेल्प डेस्क छ । पाँचवटा हेल्प डेस्क निर्माण गरेको छ । अत्यावश्यक समयमा प्रयोग गर्न सकिने पाँचवटा सवारीसाधन नगरपालिकाले राखेको छ ।
यसरी जम्मा भयो राहत रकम
उपचार, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन व्यवस्थापन, राहत वितरणलगायतका कार्यमा नगरपालिकाले १ करोड १५ लाख रूपैयाँभन्दा बढी खर्च गरेको छ । तर यो रकम नगरपालिकाले राहत कोषबाट पुग्ने अनुमान गरेकाे छ ।
कोरोनाको व्यवस्थापनमा दायित्व निरन्तर बढ्ने भएपछि नगरपालिकाले राहत कोष सञ्चालन कार्ययोजना गत आर्थिक वर्षमा नै अघि बढायो ।
९० जना जनप्रतिनिधिले ५ हजार देखि ५० हजार रूपैयाँ जम्मा गर्दा कोषमा एकै पटक २० लाख रूपैयाँ जम्मा भयो
कर्मचारी र जनप्रतिनिधिबाट रकम जम्मा गर्न सुरु गरिएपछि बल्ल रकम उठ्छ भन्ने निष्कर्ष छलफलबाट निकालिएपछि जनप्रतिनिधिका लागि न्यूनतम ५ हजार रूपैयाँ तोकेर रकम जम्मा गर्न थालियो । कर्मचारीले भने संयुक्त रूपमा तीन दिनको तलब जम्मा गरे । ९० जना जनप्रतिनिधिले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जम्मा गर्दा कोषमा एकै पटक २० लाख रूपैयाँ जम्मा भयो ।
यो रकम पुग थिएन । नगरपालिको तर्फबाट जम्मा गरिएको रकम उल्लेख गरेर सर्वसाधारण, उद्योगी-व्यवसायीलाई सहभागिताका लागि आह्वान गर्यो नगरपालिकाले । कसैले ५ हजार रूपैयाँ जम्मा गरिदिए त सक्नेले डेढ लाख रूपैयाँसम्म । सर्वसारधाणले समेत राहत कोषमा उपलब्ध गराएको रकमसहित करिब १ करोड रूपैयाँ नगरपालिकाले जम्मा गर्यो । नगद उपलब्ध नगराउनेका लागि खाद्य सामग्री उपलब्ध गराउने सुविधा पनि थियो । नगरपालिकाले खाद्य बैंक सञ्चालनमा ल्यायो ।
वडा कार्यलयमा पनि खाद्य बैंकको शाखा विस्तार गरिएपछि राहत दिनेलाई पनि सहज भयो भने वितरण पनि सहज बन्यो । ७० लाख रूपैयाँ बराबरको खाद्यन्न मात्रै वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
०००
हामीले यो सामग्री तय गर्दासम्म तिलोत्तमा नगरपालिकामा ६ सय २९ जना संक्रमितको संख्या पुगेको छ । हालको सक्रिय संक्रमितको संख्या २ सय ९३ जना छ । आठ जनाको मृत्यु भएको छ । अहिले २ सय ९३ जनामध्ये एक जना हुन् नगरप्रमुख घिमिरे ।
फागुन महिनादेखि कोरोनाका कारण देखा पर्ने समसस्यालाई समाधान गर्न व्यवस्थापनमा लागेका घिमिरे १९ असोजमा भने आफैँ सङ्क्रमित हुन पुगे ।
'समयमै क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण, राहत वितरण र कामको वातावरण तय नगरेको भए अहिले नगरपालिकालाई व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण हुने थियो,' नगरप्रमुख घिमिरे भन्छन्, 'अहिले म आफैँ सङ्क्रमित छु, तर समयमा नै ध्यान पुर्याएका कारण नगरपालिका भने करिब स्वस्थ छ ।'
आशाका आधारशिला- १ : नेपालकाे 'वुहान' कहलिएकाे भुल्केले यसरी जित्याे काेराेना
आशाका आधारशिला- २ : काेभिड संक्रमित मेयर, जसले वीरगञ्जलाई ठूलो क्षति हुनबाट जोगाए
आशाका आधारशिला-३ : लकडाउनमा महावीर पुनका १३ आविष्कार
आशाका आधारशिला- ४ : लिली थापा : जसले लकडाउनमा ६० हजार गरिबकाे हातमुख जाेडिदिइन्
आशाका आधारशिला-५ : खुलामञ्चलाई विपन्नकाे भान्साघर बनाउने सारथि
आशाका आधारशिला-६ : आर्यघाटकी सपना जसले कोरोनाकालमा पनि सड्नबाट बचाइन् शवहरूलाई
आशाका आधारशिला-८ : एसिड छ्यापिएकाहरू अस्पतालबाटै गुहार्छन्- 'उज्ज्वल अंकल आइदिनुपर्यो'
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७ १९:०५