जुत्ता खोज्दाखोज्दै अमेरिकाजस्तो देश पनि कसैले छोड्ला ? पक्कै पनि पत्याउन गाह्रो पर्ला । तर आज हामी यस्ता एक व्यवसायीका बारेमा प्रस्तुत छौँ, जो जुत्ता खोज्दाखोज्दै अमेरिका छोडेर नेपाल आई चर्चित व्यवसायी बनेका छन् । उनी हुन् सस्तो डिल डट कमका संस्थापक अमुन थापा ।
आजभन्दा १० वर्षअगाडि जब अमुन थापा कलेजको भ्याकेसन पारेर नेपाल आए । नेपाल आएपछि किनमेल गर्न बाहिर हिँड्न नरुचाउने उनलाई एक जाेर जुत्ताले मात्रै दिनभर बजारबजार डुलायो । चित्तबुझ्दो जुत्ता नपाएपछि उनी आफैँ जुत्ता खोज्दै मार्केट चहारे तर पनि पाएनन् ।
रित्तै फर्किएका थापा अमेरिकामा हुँदा मोबाइलमा औँला घुमाएर किनमेल गरेको सम्झन्छन् । अनि आफूजस्तै नेपालमा सानो सामान किन्न पनि दिनभर बजारबजार चहार्नुपर्ने मानिसहरूको बाध्यता सम्झन्छन् ।
थकित बन्दै जुत्ता किन्न घुम्नुपरेको रिसले झोक्किँदै घर आइपुगेका अमुनले बजारबजार डुल्दा भोगेको दु:खलाई बिजनेस बनाउने आइडिया पनि सँगै लिएर आए । अनि अठोट गरे- नेपालमै बसेर बजारबजार डुल्नुपर्ने बाध्यताकाे अन्त्य गर्ने ।
थापा सम्झन्छन्, ‘बिजनेस गर्ने त भनेँ तर कसरी गर्ने ? अनि सपनाको देश अमेरिका कसरी छोड्ने ?’ प्रश्नले उत्तर नपाउँदै थापा अमेरिका छोडेर नेपालमै केही व्यवसाय गर्छु भन्नेमा पुगिसकेका थिए । यसरी जुत्ता खोज्दाखोज्दै फुरेको आइडियाकै कारण नाै वर्षअगाडि बिजनेस गर्ने हुटहुटीले नै जन्मियो अमुनको सस्तो डिल डट कम ।
सन् २०११ मा एउटा कोठाबाट सुरुवात भएको सस्तो डिलले नाै वर्षको समय पार गरेसँगै नेपालमा अनलाइन सपिङको नयाँ आयाम पनि थपेको छ । सम्भवत: नेपालमै सबैभन्दा धेरै लगानी भएको ई-कमर्स हो सस्तो डिल । १ लाख ५० हजारबाट सुरु भएको सस्तो डिलमा अहिले १२ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेकाे छ ।
डेढ लाखबाट कराेडौँमा पुर्याउन सफल सस्तो डिलका संस्थापक थापा नेपालमा ई-कमर्सको विस्तारमा सस्तो डिलले अहम् भूमिका खेलेको बताउँछन् । उनी भन्छन्, ‘आज हामी पायोनियर ई-कमर्स व्यवसायी बन्न सफल भएका छौँ । विदेशी चर्चित ई-कमर्स फ्ल्पिकार्ट नेपाल भित्र्याउन सफल भएका छौँ, यसले नेपालको ई-कमर्स दुनियाँमा नयाँ जीवनशैलीको सुरुवात गराएकाे छ ।
काेभिड–१९ का कारण चैतदेखि सुस्ताएका उद्योग व्यवसायहरू असोजसम्म आइपुग्दा कति बन्द भए भने कति बन्द हुने अवस्थामा पुगे । तर, सस्तो डिललाई भने कोरोनाकाल जादुमय नै बन्याे । थापा भन्छन्, ‘हाम्रा लागि कोरोनाकाल जादुजस्तै भयो । ई-कमर्सको प्रयोग न्यून रहेको मुलुकमा प्रत्येक व्यक्तिले ई-कमर्स खोज्न थाले । अनलाइनबाट किनमेल गर्न थाले । कोभिडले अन्य उद्योग थलिइरहँदा ई-कमर्सले भने छलाङ नै मारेको छ ।’
हुन पनि कोरोनाको समयमा नै सस्तो डिलले फ्ल्पिकार्टजस्तो ठूलो ई-कमर्ससँग सहकार्य गर्ने मौका पायो । कुनै बेला केटाकेटीको जमात भनेर होच्याउनेहरू आज उनैको प्रशंसा गर्दा प्रफुल्लित हुन्छन् अमुन । प्रशंसामा पुलकित बनेका अमुन सस्तो डिललाई काठमाडौँमै मात्र सीमित गर्ने सोचाइमा भने छैनन् ।
शिक्षा, स्वास्थ्य, रोजगार, प्रविधि विकास सबै काठमाडौँ केन्द्रित भएकोमा पटक्कै खुसी छैनन् उनी । त्यसैले पनि अबको केही वर्षभित्रै सस्तो डिललाई नेपालका कुनाकुनासम्मै पुर्याउने याेजनामा छन् ।
दिन दुई गुणा रात चौगुणाको रूपमा फस्टाएका ई-कमर्सहरूमध्ये यस कम्पनीले अबको १८ महिनादेखि वार्षिक १ अर्ब रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।
'गरे के हुँदैन र ?' भन्ने सोचाइका थापा आफूजस्तै १० वर्षअगाडि विदेशिने रहर पलाएका युवाहरूलाई नेपालमै बिजनेसम्यान बनाउने वातावरण तय गर्न लागिपरिरहेका छन् ।
उनी भन्छन्, ‘म पनि कुनै समय विदेशको मोहले विलासितापूर्ण जिन्दगी अमेरिकामा नै बिताउने भन्दै अमेरिका हानिएको थिएँ । विदेशी भूमिमा पसिना बगाउँदै पढ्नुमा समस्या सबैलाई हुन्छ । म डाक्टरको छोरो भए पनि काम गर्दै पढ्थेँ । त्यति बेला थाहा पाएँ- नेपालमा जस्तो विदेशमा आरामदायी जीवन जिउन सकिँदैन रहेछ । विदेशमा त भागदौडको जिन्दगी रहेछ ।’
जब उनी नेपाल आए, यहाँको सानोसानो दु:ख पनि आइडिया बनेर दिमागमा आउन थाल्यो । चटपटे खाइरहेको या मजस्तै जुत्ता किन्न बजारबजार दौडिएका मानिसहरूलाई देख्दा सहज जीवनशैली बनाउने गज्जबको आइडिया आयो उनकाे दिमागमा । अनि सुरुको पाइला राखे उनले ई-कमर्सको दुनियाँमा ।
ई-कमर्सको दुनियाँमा पाइला राखेको छोटो समयमै 'पायोनिर' बन्न सफल उनी हरेक नेपाली युवाले उद्यमी बन्ने सपना देख्नुपर्ने बताउँछन् । विदेश जाने र टन्न पैसा कमाएर बस्ने सोचलाई परिवर्तन गर्दै नेपालमै उद्यमी बनेर टन्न कमाउने सपना देख्नुपर्ने उनकाे सुझाव छ ।
ई-कमर्सले नेपाली बजारमा राम्रो स्थान पाएकोमा खुसी देखिएका थापा ५० हजारभन्दा बढी ई-कमर्समा रहेका अवैधानिक वेबसाइटले भविष्यमा निम्त्याउन सक्ने जोखिमप्रति भने चिन्तित देखिन्छन् । उनी भन्छन्, 'अवैधानिक वेबसाइटले गर्दा नै अझै यसकाे विश्वसनीयतामा ढुक्क हुने अवस्था छैन । कतिपय फ्रड पनि छन् जसले नेपालमा भर्खरै सुरु भएको अनलाइन सपिङको चलनलाई धर्ममराउन सक्छ ।’
थापा ई-कमर्सलाई व्यवस्थित गर्दै लैजान थप नीति नियम बनाएर सरकारले ई-कमर्सलाई नैतिक घेरामा बाँध्न आवश्यक भएको बताउँछन् । यो सँगै थापा ई-कमर्सको प्रयोग गर्दा हरेक सेवाग्राहीले आफूले प्रयोग गर्ने कम्पनीका बारेमा यकिन जानकारी लिएर मात्रै कारोबार गर्न आग्रह गर्दछन् ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७ १७:३७