खानेपानी तथा सरसफाइमन्त्री बिना मगर नेकपा अध्यक्ष प्रचण्डकी बुहारी भएकै कारण जति विवादमा तानिन्छिन्, त्योभन्दा बढ्ता आफ्नै बोली र गतिविधिले फस्छिन् । मन्त्रालय सम्हालेको मध्यान्तरतिर आइपुग्दा उनका नयाँ कामले न आकर्षण थप्न सकेको छ, न त पुरानाले निप्ट्यारा पाएका छन् ।
मन्त्री मगर निरन्तर ढाँटको खेतीमा रमाइरहेको जस्तै लाग्छ । जस्तो, मन्त्री हुनेबित्तिकै २०७४ फागुनमा मेलम्ची खानेपानी आयोजना निर्माणस्थल पुगेर घोषणा गरिन्, ‘२०७५ को दसैँसम्ममा मेलम्चीकाे पानी काठमाडौं पुग्छ ।’ उनले भाषण गरेझैँ भइदिएको भए काठमाडौंका धारामा मेलम्चीको पानी आउन थालेको तीन वर्ष भइसक्थ्यो । भइदियो कतिसम्म भने, त्यहीबीचमा इटालीको निर्माण कम्पनी सीएमसी भाग्यो । परियोजनामा कमिसनको चर्को प्रसङ्ग बाहिरियो । अनि बहालवाला सचिवले मन्त्रीविरुद्ध कमिसनखोर भन्ने आरोप पनि लगाउन भ्याए ।
७ फागुन २०७५ मा सचिव गजेन्द्र ठाकुरले भनेका थिए, ‘सीएमसीलाई थप ३ अर्ब दिएर धरौटीसमेत फिर्ता गरेर काममा ल्याउन मन्त्रीले दबाब दिनुभयो । मैले कानुन र देशहितविपरीत यस्तो निर्णय हुन सक्दैन भनेर अडान राखेको थिएँ । मेरै सरुवा गरिएछ ।’
त्यसको जवाफमा ८ फागुनमा मन्त्री मगरको सचिवालयले भनेको थियो, ‘सीएमसीका मान्छेले एक्स्ट्रा लागत र थप समयावधिका लागि डिस्प्युट बोर्डमा १ अर्ब ६५ करोड क्लेम गरे । त्यसमा मन्त्रालयले पुनरावेदन गर्यो । पछि बोर्डले ३६ करोड सीएमसीलाई दिनुपर्ने भनेर निर्णय गर्यो । यही ३६ करोडमा सचिवले कमिसन मागेका थिए ।’
मन्त्री मगर र सचिव ठाकुरको जुहारीले कमिसनको पोल मात्रै खोलिरहेको थिएन, राजनीतिक र प्रशासनिक चेहरासमेत छर्लङ्ग पारिरहेको थियो ।
यो सबै घटना देखेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय योजना आयोगको कार्यक्रममा ४ वैशाख २०७६ मा भने, ‘मन्त्रालयले मलाई गलत ब्रिफिङ गरेको रहेछ ।’
सचिवसँगको विवाद मात्र होइन, प्रधानमन्त्रीले नै माफी माग्नुपर्ने अवस्था मन्त्री मगरले सिर्जना गरिन् । खासमा उनले जहाँ जे बोल्यो, त्यही विवादमा आउँछ । अर्थात् बिना भन्नु नै विवादजस्तो भएको छ ।
कतिपय हावादारी योजना सुनाउनसमेत मन्त्री मगरले छााडिनन् । असम्भव त होइन् तर काम नै नगरी गफ दिने शैलीको गतिलो उदाहरण थियो ६ वैशाख २०७६ को उनकाे भनाइ । त्यस दिन, १४ वटा हिमशृङ्खलाका २८ हिमनदीको पानी बल्क र बोटल वाटरमा बेच्ने सपना सुनाइन् । त्यसले नेपालको व्यापारघाटा न्यूनीकरण गर्नेसम्मका गफ दिन भ्याइन् । र, भनेकी थिइन्, ‘हिमनदीको पानी बेच्नेबारे सम्भाव्यता अध्ययन गर्न टेण्डर आह्वानसम्मको तयारी भइरहेको छ ।’
हुनलाई यो आफैँमा सम्भव र गर्नुपर्ने योजना थियो तर मन्त्री मगरले जसरी भनिन्, त्यो पत्याउने आधार त थिएन नै, उनीसँग यसको ठोस योजनासमेत थिएन ।
मन्त्री मगरसँग जोडिएको अर्को विवाद छ एक सहसचिवसँग जोडिएको । हुनलाई सबै कर्मचारीले मन्त्रीविरुद्ध बोल्ने हिम्मत गर्दैनन् । हिम्मत गरेर नै मन्त्रीको मनमौजी निर्णय र कार्यशैलीविरुद्ध बोलेका थिए, सहसचिव राजनराज पाण्डेले । २०७५ साउन–पुसको अर्धवार्षिक कार्यसम्पादन मूल्यांकनमा उनले लेखे, ‘माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूबाट म घूस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको ।’
सो घटना सामाजिक सञ्जालमा पनि सार्वजनिक भयो । सहसचिव पाण्डे काण्ड चर्किर्नुमा ४ चैत २०७५ का लागि पाण्डे जापानको एक कार्यक्रमको यात्रामा रोक लाग्नु मुख्य थियो ।
छ महिना मन्त्रालयमा काम नपाएको झोंक पनि २०७५ माघकाे पहिलो सातामा पाण्डेले निकाले । सो काण्ड चर्किंदै गएपछि ८ माघमा निजी सचिव गुणराज श्रेष्ठले विज्ञप्ति निकालेर खण्डन गरे । तर पाण्डे काण्डले खानेपानीमन्त्री मगरको बठ्याइँमाथि प्रश्न भने उठाइदिएको छ ।
अर्को विवाद भने आफ्नै घरबेटीसँग जोडिएको छ । मेलम्ची खानेपानीको पाइप बिछ्याउने बूढानीलकण्ठ क्षेत्रको परियोजना उनले घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनलाई दिएकी थिइन् ।
विवादको चरम चुलीमा पुगेकी मगरलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्री ओलीले प्रयास नगरेका पनि होइनन् । पटकपटक अध्यक्ष प्रचण्डसँग छलफलसमेत गरे । तर, प्रचण्डले फिर्ता गराउन चाहेनन् । प्रचण्ड फिर्ता गराउने मनशायमा भए पनि मन्त्री मगरले सासू सीता दाहालबाट दबाब बढाएर पद थमौती गरेको चर्चा पनि नेकपामा चल्यो । पार्टीका वरिष्ठ महिला नेतृहरू पम्फा भुसाल, रेखा शर्मा, जयपुरी घर्ती, शशी श्रेष्ठलगायतलाई बाहिरै राखेर प्रचण्डले सिंहदरबार पठाएकी मन्त्री मगर औसतभन्दा पनि कमजोर कार्यसम्पादनमा देखिन्छिन् ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७ २१:०१