स्थानीय सरकार गठनसँगै जिउँदो शहीद गोकर्ण तिवारीले ९ वर्षदेखि जिल्ला विकास समिति मकवानपुरमा खाइपाइ आएको नोकरी खोसिएको छ । स्थानीय सरकारले आर्थिक अभाव देखाउँदै करार अवधि थप गर्न नसक्ने बताएपछि तिवारीले जागिरबाट हात धुनु परेको हो ।
हेटौंडा–८ कमानेका तिवारीलाई २०६२/०६३ को जनआन्दोलनमा काठमाडौंको कोटेश्वरमा तीन गोली लाग्यो । उनका दुवै खुट्टा र पेटको बाँयापट्टि १–१ गोली लाग्यो । उनले लामो समयको अस्पताल बसाइपछि मुस्किलले पुनर्जीवन पाए । तिवारीको एउटा खुट्टा राम्रोसँग चल्दैन ।
देशमा आमूल परिर्वतन ल्याउन आन्दोलनमा होमिएका तिवारीले परिवर्तनपछि आफैं मर्कामा पर्नुपर्ला भन्ने कल्पनासमेत गरेका थिएनन्।
तिवारी २०६४ सालमा जिल्ला विकास समिति मकवानपुरको सामाजिक विकास महाशाखाका सहायकमा नियुक्त भएका थिए। तर, स्थानीय सरकार गठनपछि उनले जागिरबाट हात धुनु पर्यो । उनले धेरै ठाउँमा जागिर नखोसिदिन पहल गरे
कसैले उनलाई सान्त्वना दिएनन् ।
जिविस पछिल्लो संरचनाअनुसार जिल्ला समन्वय समिति भएपछि जागिर खुवाउन नसक्ने जवाफ मात्रै आइरह्यो ।
तिवारीले पसल सुरू गरे । पसल सञ्चालनमा श्रीमती र परिवारको सहयोग छ ।
‘राज्यले यतिसम्म अपहेलना गर्नुहुँदैन । घाइतेको व्यवस्थापन गर्नुपर्छ,’ तिवारी भन्छन्, लोकतान्त्रिक अभ्यासमा कुनै पनि विकृति हुनुहुन्न । जनताले स्वच्छ न्यायको आभास गर्ने वातावरण हुनुपर्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६ २२:१७