प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा पेश गरेपछि रुपन्देही आन्दोलित छ ।
यसमा गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासीका जनताको मौन समर्थन देखिएको छ भने राप्तीपारीका जिल्लामा खुसियाली छाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी घोषणा गर्दा दाङमा आन्दोलन र बुटवलमा दीपावली सँगसँगै भयो । तर यसपटक स्थायी राजधानीको प्रस्ताव दाङ देउखुरी राख्दा राप्ती पश्चिम मौन छ भने रुपन्देहीमा आन्दोलन चर्किने क्रममा छ ।
स्थायी राजधानी प्रस्ताव लगत्तै मुख्यमन्त्री शंकर पोखरेलले जिल्लाका नेकपा नेताहरुलाई खुसीयालीका कुनै पनि गतिविधि नगर्न आग्रह गरेपछि राप्ती पारीका जनताहरु मौन खुसीमा रमाएका छन् । कुनै दीपावली, खुसीको ¥याली नभएपनि राजधानी प्रस्तावले खुसी मिलेको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
स्थायी राजधानी प्रस्तावपछि सम्भावित पूर्वधारको कहाँ र कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे तयारी थालेको गाउँपालिका अध्यक्ष सुवेदीले बताए ।
बाँके–बर्दियाका जनप्रतिनिधि के भन्छन् ?
प्रदेशको अस्थायी राजधानी बुटवल तोकिएकोमा सबैभन्दा बढी बाँके र बर्दियाका जनताले विरोध जनाएका थिए ।
प्रदेश राजधानी अपायक भएको भन्दै कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज समेत बेला बेला उठेका थिए । बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय नगरसभाबाटै गरेको थियो ।
त्यस्तै बाँकेकै नेपालगन्ज उपमहानगरपालिकाले पनि प्रदेशको राजधानी नेपालगञ्ज बनाउन पहल गर्ने र सम्भव नभए कर्णाली प्रदेशमा गाभिने लिखित निर्णय गरेको थियो ।
बुटवल अपायक पर्ने बताएका यी नगरपालिकाका नगरप्रमुख अहिले दाङ देउखुरी प्रस्तावपछि सरकारले सुझबुझपूर्ण ढंगले प्रस्ताव अघि सारेको बताउँछन् ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावत प्रदेशको स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव भएपछि खुसी भएको बताए ।
‘हाम्रो माग पाएक पर्ने स्थानमा स्थायी राजधानी हुनुपर्छ भन्ने थियो । बहुसंख्यक जनता कर्णाली प्रदेशबाट बसाई सराई आएको र नजिक सहज रुपमा जान सकिने भएकाले कर्णाली प्रदेशमा जानुपर्छ भन्ने हाम्रो माग थियो,’ उनले भने, ‘तर प्रदेश सरकारले सेन्टरमा पर्ने गरी देउखुरी प्रस्ताव गरेकोमा हामी खुसी छौं र हाम्रो पूर्ण समर्थन छ ।’
कोहलपुरका जनताको भेषभुषा, सामाजिक परिस्थिती, सांस्कृतिक एवं सामािजक रहनसहन सबै कर्णाली प्रदेशका जनताहरुसँग मिल्ने भएकाले पनि बुटवल स्थायी राजधानी भएमा कर्णालीमा गाभिने भनि नगरसभाबाटै निर्णय गरेको उनले बताए ।
कोहलपुरबाट २ घण्टामा कर्णाली प्रदेशको राजधानी सुर्खेत जान सकिने भएपनि बुटवलमा आउन ७ घण्टा लाग्ने भएकाले बाँकेका जनताले प्रदेश बाटै अलग हुने बताउँदै आएका थिए ।
बर्दिया गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सीले प्रदेशको स्थायी राजधानी देउखुरी प्रस्तावप्रति पूर्ण समर्थन रहेको बताए ।
‘हामीलाई बुटवलमा आउँदा ३ सय ५० किलोमिटरको दुरी पथ्र्यो । कामकाजले जानु पर्दा एकै दिनमा नसक्ने अवस्था थियो । तर देउखुरी हुँदा हामीलाई धेरै सहज हुनेछ,’ उनले भने ।
गेरुवा बर्दियाको सबैभन्दा टाढाको गाउँपालिका हो । राजापुर नगरपालिकाकी उपप्रमुख मनकलाकुमारी चौधरीले देउखुरी प्रस्तावले खुसी भएको बताइन् ।
‘हामीलाई बुटवलमा एक दिनको कामले जाँदा ३ दिन समय खर्चिनुपथ्र्यो । देउखुरी एकै दिनमा गएर आउन सकिन्छ,’ उनले भनिन्, ‘सबैतिर पायक पर्ने भनेको दाङ देउखुरी हो । हामी खुसी छौ ।’
बैजनाथ गाउँपालिका बाँकेका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले दाङ देउखुरीको प्रस्तावमा समर्थन रहेको बताए ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७ १४:१३