मुख्य सचिव लोकदर्शन रेग्मीको तीनवर्षे कार्यकाल सकिन एक महिना र केही दिन बाँकी छँदा सिंहदरबारमा सचिवहरूको दौडधुप सुरु भइसकेको छ । आठ सचिव अहिले त्यो दौडमा देखिन्छन् ।
रेग्मीको कार्यकाल ५ कात्तिकमा सकिँदै छ । उनले पूरै कार्यकाल बिताए साे पदका लागि मुख्य दाबेदार मानिएका परराष्ट्र सचिव शंकर बैरागी, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा मुख्यसचिवको दौडबाट स्वतः बाहिरिनेछन् । २२ असोज २०७२ मा एकै दिन सचिवमा नियुक्त तीनै जना २१ असोजमा एकसाथ सेवानिवृत्त हुनेछन् ।
जुन सूत्र लगाएर रेग्मी तीन वर्षअघि मुख्यसचिव बनेका थिए, बैरागी, अधिकारी र सापकोटा अहिले त्यही बाटोमा छन् । तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीलाई २० फागुन २०७३ मा एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्ति गरेर रेग्मीलाई मुख्य सचिवको बाटो खोलिएको थियो ।
अपर्झटको त्यो नियुक्तिले शान्तबहादुर श्रेष्ठ र शान्तराज सुवेदीको मुख्यसचिव बन्ने सम्भावना तुहाइदियो । प्रतिस्पर्धामा रहेका धनबहादुर तामाङ र राजेन्द्रकिशोर क्षत्रीमध्ये चार महिनामै उमेर हदले बाहिरिने क्षत्री मुख्यसचिव बनाइए । त्यसले रेग्मीको तीनवर्षे मुख्य सचिवको बाटो खुल्यो । ६ कात्तिक २०७४ को मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिव नियुक्त गर्यो ।
आफ्नो पाँचवर्षे कार्यकाल नसकिँदै मुख्यसचिव रेग्मीलाई आकर्षक नियुक्ति दिलाएर राजीनामा गराउने योजनामा उनीहरू छन् । प्रधानमन्त्री केपी ओली सुरुमा मुख्यसचिव हटाउने मनस्थितिमा थिए । २३ जेठमा चार देशका राजदूत सिफारिस गर्दा रेग्मीलाई अस्ट्रेलियाका लागि प्रस्ताव गरेका पनि थिए । तर, रेग्मीले अनिच्छा व्यक्त गरे । कार्यकाल सकिनुअघि राजीनामा गर्न अहिले उनी अमेरिका वा बेलायतको राजदूत वा त्यस्तै आकर्षक नियुक्तिका लागि बार्गेनिङ गरिरहेका छन् ।
निजामती सेवा ऐनको दफा १९ (२) ‘क’मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जना मुख्य सचिव नियुक्त गरिने व्यवस्था छ ।
रेग्मीले आफ्नो कार्यकाल पूरा गरे वरिष्ठताका आधारमा वाणिज्य सचिव चन्द्र घिमिरे स्वतः कामु मुख्य सचिव बन्नेछन् । ‘मुख्यतः यीमध्येकै एक मुख्यसचिव नियुक्त हुन सक्छन्,’ बालुवाटारनिकट स्रोत भन्छ, ‘कर्मचारीतन्त्र सम्हाल्ने क्षमता राख्ने अर्को बलियो उम्मेदवार पनि निस्कन सक्छ ।’
मुख्यतः सचिवद्वय बैरागी र अधिकारी प्रधानमन्त्री ओलीलाई कन्भिन्स गराएर रेग्मीलाई नयाँ नियुक्ति दिलाउन लागिपरेका छन् । रेग्मीले अमेरिका र बेलायतका लागि राजदूत मागे पनि सम्भावना कमै छ । अमेरिकामा निवर्तमान अर्थमन्त्री युवराज खतिबडालाई पठाउने तयारी छ भने बेलायतमा सहसचिव दुर्गाबहादुर सुवेदीले राम्रो काम गरिरहेकाले बिनाकारण उनलाई फिर्ता बोलाउन सहज छैन ।
अन्य नियुक्तितर्फ पनि रेग्मीले आँखा लगाएका छन् । ‘अकारण कसैका लागि बाटो खोलिदिनकै लागि मुख्य सचिवले राजीनामा गर्ने कुरा भएन,’ मुख्य सचिवको सचिवालय स्रोत भन्छ, ‘अहिलेको स्थितिले पूरै कार्यकाल काम गर्ने सम्भावना अधिक छ ।’
ओलीसँग परराष्ट्र सचिव बैरागीको सिधा सम्पर्क छ । मन्त्री प्रदीप ज्ञवालीलाई बाइपास गरेर सिधै प्रधानमन्त्रीसँग सम्बन्ध बढाएको, कतिपय नियुक्ति र निर्णय गरेको आरोप उनीमाथि लाग्दै आएको छ । परराष्ट्र सेवामा मात्र केन्द्रित रहेकाले बैरागीले मुख्य सचिव धान्ने र सिंगो कर्मचारीतन्त्र परिचालन गर्न सक्नेमा प्रधानमन्त्री ओली स्वयम् पनि विश्वस्त छैनन । त्यसैले कार्यकाल सकिन एक महिना बाँकी छँदासम्म उनले कुनै संकेत दिएका छैनन् ।
मुख्यसचिव रेग्मी भने बैरागीप्रति सकारात्मक छन् । तर, अर्का प्रतिस्पर्धी अधिकारी आउने स्थितिमा भने पद नछाड्ने उनले निकटस्थसँग भन्दै आएका छन् । त्यसका लागि उपयुक्त कारण चाहिनेछ ।पर्यटन सचिव अधिकारी चतुर प्रशासक मानिन्छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग उनको विशेष सम्बन्ध छ ।
योगेश भट्टराई मन्त्री हुनुअगावै उनी पर्यटन मन्त्रालय पुगेका हुन् । निर्वाचनलगत्तै सामाजिक संजाल र मिडियामा छताछुल्ल भट्टराई–रिमाल भनाभन स्मरण गर्नेहरूले बालुवाटारले अधिकारीमार्फत मन्त्रालयका निर्णयमा हस्तक्षेप गर्ने गरेको आरोप लगाउँछन् । मन्त्रालयका कतिपय निर्णयअघि सचिव अधिकारीले ‘बालुवाटारको कुरा यस्तो छ’भन्दै अप्ठेरोमा पार्ने गरेको स्रोत बताउँछ ।
सचिवद्वय अधिकारी र घिमिरे दुई वर्षमा तीन–तीनवटा मन्त्रालय चहारे । अधिकारी उद्योग वाणिज्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहुँदै २०७६ साउनमा पर्यटन मन्त्रालय आएका हुन् । घिमिरे पनि स्वास्थ्य तथा जनसंख्या, महिला, बालबालिका तथा जेष्ठ नागरिकहुँदै पुनः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फर्किएका हुन् ।
बालुवाटारले मुख्य सचिवका रूपमा नहेरेकैले यति छिटो सरुवा गरेको हुन सक्ने आँकलन गर्नेहरू पनि छन् । मुख्य सचिव नियुक्त भए पनि सेवा अवधि छोटो रहेकाले सापकोटाको सम्भावना कमै रहेको स्रोत बताउँछ ।
‘मुख्य सचिवका रूपमा हेरिएको भए प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर काम सिकाउनुपर्थ्याे,’ प्रधानमन्त्री कार्यालयका एक सचिव भन्छन्, ‘त्यसैले मुख्यसचिव को बन्छ, अहिल्यै भन्न सकिने अवस्था छैन ।’
रेग्मीले तीनवर्षे कार्यकाल पूरा गरेपछि वरिष्ठताका आधारमा एक नम्बरमा उक्लिनेछन्, उद्योग सचिव चन्द्रकुमार घिमिरे । विषय विज्ञतामा अब्बल मानिए पनि समग्र कर्मचारीतन्त्रको नेतृत्व गर्न सक्दैनन् भन्ने केही वरिष्ठ सचिवको उनीमाथि टिप्पणी छ । उनी भने मुख्यसचिवको लबिईङ गर्न बालुवाटारमा सम्पर्क सूत्र खोजिरहेका छन् । रेग्मीपछि वरिष्ठताका आधारमा आफू मुख्यसचिव हुनुपर्ने उनको दाबी छ ।
पुराना अभ्यासले पनि वरिष्ठताका आधारले मात्र बैरागी, अधिकारी वा घिमिरे मुख्य सचिव नियुक्त हुने सम्भावना कमै छ । ७ असोज २०५९ मा विमल कोइराला मुख्यसचिव नियुक्त भएपछि उनीभन्दा वरिष्ठतम सचिव श्रीकान्त रेग्मीलगायतले राजीनामा दिए ।
२०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले वरीयतामा आठौँ नम्बरका लीलामणि पौडेललाई नियुक्त गरेका थिए । त्यसअघि माधव घिमिरे पनि आफूभन्दा वरिष्ठ सचिवहरू जनकराज जोशी र उमेश मैनालीलाई पन्छाएर मुख्य सचिव बनेका थिए । आफूभन्दा कनिष्ठ मुख्य सचिव बनेपछि जोशी र मैनालीले राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीको विश्वास जित्न सके वरिष्ठताले मुख्य सचिव हुन नरोक्ने बुझेका अन्य सचिवहरू पनि दौडधुपमा लागेका छन् । अर्थसचिव शिशिरकुमार ढुंगाना, शहरी विकास सचिव मधुसुदन अधिकारी, वन तथा वातावरण सचिव विश्वनाथ ओली पनि बालुवाटारसँग सम्बन्ध बढाएर सचिव हुने कसरतमा छन् । ओली वन तथा कृषि समूहका हुन् भने अधिकारी इन्जिनियर सेवाबाट आएकाले प्रशासन चलाउन गाह्रो हुने तर्क गर्नेहरू पनि छन् ।
विगतमा इन्जिनियर कर्णध्वज अधिकारी र कानुन पृष्ठभूमिका तीर्थमान शाक्य र बलराम मल्ल मुख्य सचिव भएकाले त्यति कारणले मात्र उनीहरू नरोकिन सक्छन् । ‘मुख्य कुरा प्रधानमन्त्रीसँग वेब–लेन्थ मिल्नुपर्यो । मन्त्रिपरिषद्मा कानुनसम्मत प्रस्ताव मात्र अघि सार्न सक्ने हुनुपर्छ,’ पूर्वगृहसचिव श्रीकान्त रेग्मी भन्छन्, ‘वरिष्ठता र कार्यसम्पादन भन्ने कुरा हुन् । आफूलाई उपयुक्त लागेको व्यक्ति नियुक्त गर्ने परिपाटी बसिसकेको छ ।’
कतिपयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा बाँस्कोटालाई पनि मुख्य सचिवको दाबेदारका रूपमा लिएका छन् । उनले उद्योग मन्त्रालयमै उपसचिव, सहसचिव र सचिव भएर लामो समय काम गरेकी छन् । उनी भर्खरै मात्र महिला तथा बालबालिका मन्त्रालय पुगेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी भान्जेबुहारी रहेकाले पनि उनको राजनीतिक पहुँच बालुवाटारसम्मै छ ।
पूर्वसचिव रेग्मी मुख्य सचिव मूलतः क्याबिनेट सचिव भएकाले प्रधानमन्त्रीले आफूलाई सजिलो हुने गरी नियुक्त गर्न सक्ने बताउँछन् ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७ ००:०३