नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बझाङले फेरि कोरोना संक्रमित देखिएकै स्थानमा कायृक्रम गरेको छ । संक्रमण बढ्दै गएको स्थितिमा पार्टीबाट जिल्लामा आयोजना हुने भेला, सभासम्मेलन बन्द गर्ने भने पनि नेकपा बझाङले फेरि संक्रमित देखिएकै वडामा आइतबार २ ठूला कार्यक्रमको आयोजना गरेको हो । प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहको आतिथ्यतामा दुर्गाथली गाउँपालिका- ५ र ७ मा कार्यक्रम आयोजना गरिएको हो ।
सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड पनि नपनाई नेकपाले कार्यक्रम गरिएको दुर्गाथलीका स्थानीय अनिल जप्रेलले बताए । उनका अनुसार २ वडामा आयोजित कार्यक्रममा करिब २ सय स्थानीय सहभागी थिए । दुर्गाथली- ५ मा नै शनिबार र आइतबार गरी २९ जना कोरोना संक्रमित थपिएका थिए । त्यस्तै, अर्को कार्यक्रम आयोजना गरेको वडा ७ नम्बरमा पनि ३ जना संक्रमित रहेका छन् ।
महामारीका बेला पनि चुनावको झल्को दिने गरी दलहरूले पार्टी प्रवेशको होडबाजी चलाएपछि सामाजिक सञ्जाल र मिडियामार्फत नेकपा बझाङ र नेपाली कांग्रेसी बझाङविरुद्ध विभिन्न टिकाटिप्पणी भइरहेका छन् । नेकपाले शनिबारदेखि कार्यक्रम नगर्ने बताएको थियो । तर, प्रतिनिधिसभा सदस्य सिंहले त्यसको भोलिपल्ट नै सयौँ स्थानीय भेला गरी २ वटा वडा कार्यालय उद्घाटन गरेका छन् ।
कांग्रेसले भन्यो : भेला हुने कार्यक्रम बन्द गर्याैँ
सयौँ नेताकार्यकर्ता र स्थानीय भेला गरी जिल्लाभर कार्यक्रम गर्दै हिँडेको नेपाली कांग्रेसले पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालको विरोधमा सहमति जनाउँदै आफ्ना कार्यक्रम बन्द गरेको जनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङका पूर्व सभापति सत्यराज भण्डारीले आइतबार अन्तिम कार्यक्रम मष्टामा गरेको र अब पार्टीका सदस्यको सदस्यता नविकरणबाहेक अन्य कार्य बन्द गरेको बताए । उनले कोही पार्टी प्रवेश गर्ने भए पनि वडामा बोलाएर मात्रै टिका लगाएर स्वागत गरिने बताए ।
२ पार्टीबीच आरोपप्रत्यारोप
महाअधिवेशनको तयारी हुँदा जिल्लामा पूर्वनिर्धारित कार्यक्रमको निरन्तरता भन्दै कोरोना महामारीमा पनि कांग्रेसले संगठन विस्तार, पार्टी प्रवेश, छलफल कार्यक्रम जारी राख्यो । यसैबीचमा काठमाडौंबाट हतारिएर आएका नेकपा नेताद्धय भैरवबहादुर सिंह र भानुभक्त जोशीले एकपछि अर्को कार्यक्रम गर्दै गए ।
बाढी पहिरोका पीडितलाई क्षतिपूर्ति दिने नाममा नेकपाले पार्टी प्रवेशका कार्य गर्यो । यी दुबै पार्टी अहिले सञ्चारमाध्यममा एकअर्कालाई आरोपप्रत्यारोप लगाइरहेका छन् । कांग्रेसले नेकपालाई सत्तासिन दल भएर पनि सरकारको निर्णय मान्दैन भनिरहेको छ भने नेकपाले कांग्रेसले पार्टी प्रवेशको होडबाजी चलाएको, झुटा सूचना प्रवाह गरेको ठूलाठूला भेला आयोजना गरको आरोप लगाइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७ १५:१३