निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्ने मुख्य योजनाकार गुन्डा नाइके भनेर चिनिएका समीरमानसिंह बस्नेत र सुजन पौडेल (रमेश बाहुन) समूह फेरि सक्रिय भएका छन् ।
दुई वर्षअघि २३ असोज २०७४ मा आफूले मागेको साढे २ करोड रकम नदिएको भन्दै समीरको निर्देशनमा गौचनको हत्या भएको थियो । त्यही समय समीर र रमेश समूहले जसरी निर्माण व्यवसायीमाथि ज्यान मार्ने धम्की दिएर मोटो रकम असुल्दै आएका थिए । त्यही शैलीमा फेरि निर्माण व्यवसायीमाथि मोटो रकम असुल्न तारान्तर फोन आउन थालेपछि समीर र पौडेल समूह सक्रिय भएको उच्च प्रहरी स्रोतको भनाइ छ ।
केही दिनअघिबाट निर्माण व्यवसायी संघका पदाधिकारीलाई इन्टरनेटमार्फत मोटो रकमको माग आइरहेको र नदिए गौचनकै हालत गर्ने भन्दै फोन आइरहेको निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले बताए ।
‘दुईचोटि फोन आयो तर उठाइनँ । अन्य २०–२५ जना व्यवसायी साथीलाई फोन गरेर करोडाैं मागेका छन् । हुलाकी राजमार्गको रकम समेत छुट्याउन धम्की दिएका छन्,’ सिंहले थपे, ‘गौचनको हत्यासमेत आफूहरूले गरेको र नदिए गौचनकै हालत गर्दिने भन्दै धक्की दिन्छन् ।’
दिनदिनै धम्की आएपछि निर्माण व्यवसायी शान्ति सुरक्षाको माग गर्दै गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध महाशाखा पुगेर सामूहिक रुपमा लिखित उजुरी दिएका छन् ।
निर्माण व्यवसायीलाई अज्ञात नम्बरबाट फोन गरेर मोटो रकम माग गर्ने समूहबारे सूक्ष्म अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
‘उनीहरूको फोन गर्ने शैली र धम्कीको भाषा यसअघि समीर समूहले दिने गरेको जस्तै छ । उनीहरूले जेलभित्रै बसेर योजना बुनेको र बाहिर रहेका आफ्ना केटालाई प्रयोग गरेको जस्तो देखिएको छ । हामी अनुसन्धानमा छाैं,’ एक प्रहरी उच्च प्रहरी अधिकारीले भने ।
उनीहरूले सामान्य ठेक्काको काममा २ करोडदेखि ५ करोड माग गरेको र ठूला योजनामा प्रतिशतको हिसाबले माग्ने गरेको प्रहरीको भनाइ छ ।
हुलाकी राजमार्ग निर्माणको लगानीको ३ प्रतिशत छुट्याउन निर्माण व्यवसायीलाई उनीहरूले धक्की दिएका छन् ।
यसरी बनाउँदै छन् जेलभित्रै योजना
गौचन हत्या अभियोगमा १७ मंसिर २०७४ मा पक्राउ परेका काठमाडौं बाफलका समीरमान सिंह बस्नेत २०७१ सालमा हत्या र लागूऔधष कारोबार अभियोगमा पक्राउ परेको र अर्का गुन्डा नाइके रामेछाप दुरागाउँका रमेश बाहुन दुवैजना हाल केन्द्रीय कारागार सुन्धारामा छन् ।
त्यस्तै, नेपालगन्जलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका रिगल ढकालसमेत सुन्धारा कारागारमै छन् । समीरलाई गोलघरभित्र राखिएको छ । प्रहरी स्रोतका अनुसार अहिले निर्माण व्यवसायीबाट पैसा असुल्न यी तीनजनाले जेलभित्रै योजना बुनेका हुन् ।
समीर र रिगललाई गोलघरभित्र राखिएपनि घाम ताप्ने निहुँ पारेर समीर, रमेश र रिगल दिनदिनै निर्माण व्यवसायीबाट कसरी पैसा असुल्ने भन्ने योजनामा व्यस्त रहने गरेको प्रहरी स्रोतको दाबी छ ।
यसरी दिनभर भएको योजना समीरले आफ्ना नजिकका आफन्तमार्फत गुन्डा समूहलाई पुर्याउने गरेको प्रहरी अधिकारीको भनाइ छ । जाडोमा घाम ताप्न बाहिर निकालिने भए पनि तीनैजनाको भेट नहुने सुन्धारा कारागारका प्रमुख वेदनिधि अधिकारीको भनाइ छ ।
‘जाडोमा एक घण्टा जति बाहिर निकालिन्छ । उनीहरूले यस्तो योजना गरे जस्तो त लाग्दैन । त्यही समय भेटघाट भयो कि हामी अुसन्धान गर्छाैं,’ अधिकारीले भने । एक प्रहरी अधिकारीका अनुसार उनीहरूले निर्माण व्यवसायीलाई लक्षित गरेर हतियार व्यवस्थापनको जिम्मासमेत समीरले आफ्ना निकटलाई दिइसकेका छन् ।
समीर निकटसँग प्रहरी–नेता हिमचिम
निर्माण व्यवसायीबाट पैसा असुल्न फोन आउन थालेपछि प्रहरीले समीर, रमेश र रिगलनिकट मानिएका धेरैको सूक्ष्म अनुसन्धान गरिरहेको छ । उनीहरूको कल डिटेल निकालेर समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार गौचन हत्यामा मतियारको भूमिका खेलेका समीरका आफन्तसँग केही नेता र प्रहरी अधिकारीकै समेत निरन्तर संवाद हुने गरेको पाइएको छ ।
गुन्डा नाइके र विभिन्न जघन्य अपराधमा संलग्न उनीहरूलाई एकै ठाउँमा राख्दा आपराधिक गतिविधि गर्न मनोबल बढेको प्रहरीको भनाइ छ । गौचन हत्यामा संलग्न रमेश बाहुन समूहका दुईजना अझै फरार सूचीमै रहेका कारण पनि निर्माण व्यवसायीमाथिको थे्रट बढेको हो । गौचन हत्यामा संलग्न बोका भनेर चिनिएका गंगा लिङ्देन र अजय थापा भने अझै फरार छन् ।
किन राखियो एकै ठाउँ ?
समीर, रिगल र रमेशलाई एकै ठाउँमा राख्न नहुने प्रहरी अधिकारीको भनाइ छ । तीनजनै सँगै हुँदा उनीहरूको मनोबल उच्च हुने प्रहरीको दाबी छ । सुन्धारा कारागार प्रमुख वेदनिधि अधिकारी भने अन्य कारागारमा गोल घर नहुँदा उनीहरूलाई सुन्धारा कारागारमा राखिएको बताए ।
उनीहरूलाई घोल घरबाहिरका अन्य कारागारमा राख्दा सुरक्षा चुनौती अझ बढ्ने उनको दाबी छ । यसअघि समीरलाई नख्खु कारागारबाट मुस्ताङ सारिएको थियो । तर, श्रीमती माया शेरचनले प्रहरीले इन्काउटर गर्न मुस्ताङ सरुवा गरेको भन्दै सर्वाेच्च अदालतमा निवेदन दिएकी थिइन् ।
सर्वोच्चमा उपस्थित हुन बोलाइएका समीरलाई हाल सुन्धारामै राखिएको छ । त्यस्तै, हत्या अभियोगमा जुम्ला कारागार राखिएका रिगललाई केही महिनाअघि सुन्धारा कारागारमा ल्याइएको हो ।
यसरी उदाए समीर
नाइके समीरमान सिंह काठमाडौं बाफलका स्थानीय हुन् । प्रहरीका अनुसार सुरु सुरुमा उनी बाफल क्षेत्रमा मात्रै सक्रिय भएर गुन्डागर्दी गर्दै आएका थिए । २०६८–६९ सालतिर बस्नेत समाखुसी क्षेत्रलाई आधार बनाउँदै आएका अर्का गुन्डा कुमार श्रेष्ठ (कुमार घैंटे)सँग मिलेर काम गर्न थाले ।
घैंटे र बस्नेत मिलेर विभिन्न ठेक्कापट्टामा हात हाल्नुका साथै व्यवसायीबाट फिरौती रकम असुल्ने अभियान तीव्र पारेको प्रहरीको बुझाइ छ । ३ भदौ २०७२ मा घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि बस्नेत केही खुम्चिएका थिए ।
यसपछि बस्नेतसमेत इन्काउन्टरको भयले भारत पसेको प्रहरीको बुझाइ छ । भारतमै रहँदा २०७३ सालमा रूपन्देहीका मनोज पुनसँग बस्नेतको भेट भयो ।
पुन रूपन्देहीमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि आक्रमण गरेर भारत पुगेका थिए । पुनसमेत भारतमा बसेर रूपन्देहीका व्यवसायीलाई धम्की दिने र उनीहरूसँग पैसा उठाउने काममा लागेका थिए ।
पुनको सहयोगीका रूपमा नेपाली सेनाका भगौडा श्याम गुम्बे, सोम आले र लोप्साङ तामाङसमेत थिए । पहिले मनोजकै आक्रणबाट घाइते भएका दुर्गा तिवारीलाई लोप्साङले २०७३ सालमा फेरि गोली हानी हत्या गरेका थिए । मनोज समूहको सुटर देखेर बस्नेत पनि पुनसँगै मिलेर काम गर्न लालायित भएको प्रहरीको भनाइ छ ।
बस्नेत र पुन भारतमा बसे पनि उनीहरूका सुटरको भूमिकामा रहेका लोप्साङ लामा, सोम आले मगर, श्याम गुम्बे र अम्बर राना मगर भने नेपालमै थिए । उनीहरूले बस्नेत र पुनको इसारामा गोली हान्ने काम गरेको प्रहरीको भनाइ छ ।नेपाली सेनामा रहँदा हतियारबारे ज्ञान लिएका अम्बर राना मगर, श्याम गुम्बे र सोम आले मगरलाई बस्नेत र पुनले सुटरका भूमिका दिएका थिए ।
पुन र सोम मगर पनि प्रहरीको इन्काउन्टरमा मरिसकेका छन् । अन्य चारजनामध्ये लोप्साङ र बुढाथाेकी भद्र बन्दी गृहमा र श्याम गुम्बे र अम्बर राना नक्खु कारागारमा छन् । त्यस्तै, रमेश बाहुनले पनि २०६३ सालपछि नेपाली सेना छाडेर गुन्डागर्दी क्षेत्रमा प्रवेश गरेका थिए । छोटो समयमै आफ्नो समूह बनाएर उनी गुन्डागर्दीबाटै चर्चामा आएका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६ २२:०५