युथ रिपोर्टर शिलापत्रडटकमले सुरु गरेको युवालक्षित स्तम्भ हो । यो स्तम्भमा दूरदराजमा रहेर सामाजिक जागरण र समाज रुपान्तरणमा भूमिका खेलिरहेका युवावर्गका सूचना संकलन सीप, लेखन कला र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गरी उनीहरूका अंकुराउँदै गरेका सिर्जनात्मक चेतलाई प्रोत्साहन गर्ने खालका सामग्री प्रकाशन गर्नेछौँ । यो अभियानमा जोडिएर सहकार्य गर्न शिलापत्रडटकम आह्वान गर्दछ । (सं.)
लकडाउन विशेषगरी दुई प्रकारका मानिसमा भिन्नभिन्न प्रकारले लागेको छ– खान पुग्ने वर्ग र नपुग्ने वर्ग । खान पुग्ने वर्गलाई अहिले भ्याकेसन भइरहेको छ भने नपुग्ने वर्गलाई भोकमरी लागिरहेको छ ।
दुवै कोरोनाको कहरबाट बच्न घरभित्र थुनिएका छन् । दुवैले कहरपूर्ण अवस्थालाई कटाउन विभिन्न उपायहरू लागाइरहेका छन्, कोही दिन काट्न त कोही भोक मार्न ।
यति हुँदाहुँदै पनि समाजमा यी दुई पृथक वर्गमा एउटा कुरा भने समान छ । त्यो हो नारी उत्पीडन । अब मर्ने बाँच्ने ठेगान नभएको अवस्थामा नारी अधिकारका कुरा गर्नु तपाईंलाई बेतुककाे लाग्न सक्छ । हो पनि । किनभने अहिले सबैलाई बाँच्नु छ कोरोनालाई जितेर । सबै जित्नकै लागि घरघरमा बसेका छन् । तर जित्नका लागि प्रयासरत तपाईं हामीले नै गर्दा ७० प्रतिशत महिला जीवनप्रति हारिरहेका छन् ।
सोच्दा सामान्य लाग्ला तर कोरोनाको कहरले लकडाउन भएको ५ महिनाको समय हेर्नुभयो भने आफ्ना परिवारका सदस्य, आफ्नै नातेदार र आफ्नै छिमेकीबाट लुछिने महिला तथा बालबालिकाको संख्या सामान्य समयको तुलनामा दोब्बरले बढेको छ । जसबाट मृत्यु हुनेको संख्या पनि उस्तै छ ।
अब त बलात्कार मात्रैले पुगेन ।
अपराधको अपडेट भर्सन पनि आइसक्यो, जसरी हामी फेसबुक म्यासेन्जर नयाँ भर्सन अपडेट गर्छौं । त्यस्तै, महिलाप्रतिको उत्पीडन पनि अपडेट भइसक्यो । अपराधको तौरतरिका परिवर्तन भइसक्यो ।
पहिले बलात्कार गर्नु, मोहनी लगाउनु, सानैमा बालविवाह गर्नु र एकभन्दा बढी श्रीमती ल्याएर साना बालबालिकाहरूलाई प्रताडित गर्नु अपराधको एउटा प्रक्रिया थियो । अब त्यसमा परिवर्तन आएर एसिड हान्ने, अप्रत्यक्ष रूपमा श्रीमान्बाटै श्रीमती बलात्कार हुने, दिनभर परिवारको चाकर, स्याहारसुसार गर्नुपर्ने आदि यावत कुराहरूले नारीलाई अगाडि उठ्न दिएको छैन । भलै समाज बदलिएर शिक्षित नै किन नहोस्, अपराधको तरिका पनि शिक्षित रूपमै विकास भइरहेको छ ।
पहिलो त म शिक्षित भनाउँदा ठालुहरूको घरमै भएको विभेदबाट सुरु गर्छु । घरमा डाक्टर, इन्जिनियर पढ्दै गरेका छोराछोरी छन्, श्रीमान् पनि ठूलै जागिरे । पैसाको अभाव नै छैन । त्यस घरकी बुहारी कति भाग्यमानी । सबैकाे मुखमा यो वाक्य झुण्डिएकै हुन्छ ।
अनि त्यही घरकी बुहारी आमाले लकडाउनभरि बिहानदेखि रातिसम्म १६ घण्टा स्याहार सुसार गरेको कसैले देख्दैनन् । अझ लकडाउनको बेला त सबैको घरमा सानातिना पार्टी नै भइरहेको हुन्छ । दिन बिताउन तास खेल्नेहरू पनि उस्तै ।
तर तिनै तास खेल्ने श्रीमान्, ससुरा र छोराछोरीलाई चार पटकसम्म मिठामिठा परिकार खुवाउनु, बिरामी भएँ भन्न नपाउनु, त्यसमाथि परिवारका मस्तीपूर्ण जीवनका लागि खटिइरहनु के यी कुराहरू कमी छैनन् नारीको दासत्वका लागि ?
यो त भयो धनि अनि शिक्षित घरमा नारीको दासत्व । अब गरिबको घरमा पनि उस्तै छ । कमाइ छैन । कमाइ नभएकै कारण अहिले महिलालाई कुट्ने पिट्नेलगायतका घर कलह ८० प्रतिशतले बढेका छन् ।
घरमा अनि बाहिर कसलाई विश्वास गर्ने ?
लकडाउनको समयमा ६ महिनाकी बालिकादेखि ७० वर्षीया वृद्धासम्म घरका आफ्नैबाट बलात्कृत भएका घटना समाचारमा दिनहुँ पहिलो हेडलाइन बनिरहन्छन् । कति आमाहरू त आफैँले ९ महिनासम्म गर्भमा राखेर जन्माई हुर्काएको छोराबाटै प्रताडित बन्नुपरिरहेकाे अवस्था छ ।
बाहिर भक्तिभावले मन्दिर जाने महिला आदर्श पात्र पुजारीबाट बलात्कृत हुन्छन् । अरु बाहिरी मान्छेको त कुरै छाेडौँ । सँगै जिउने सँगै मर्ने कसम खाएका प्रेमीप्रेमिकाहरू आफ्नै प्रेमीबाट लुछिन्छन् । धर्मका नाममा, झारफुकका नाममा, प्रेमका नाममा अनि आफन्तको नाममा । त्यसले यहाँ कोही नारी पनि सुरक्षित छैनन् ।
शिकारीका शिकार महिला
अहिले समाज बदलियोे भनिन्छ । महिला पनि पुरुषसरह छन् । हुन पनि हो, राष्ट्रको सम्माननीय पदमा पनि महिला नै छन् । राष्ट्रपतिदेखि न्यायाधीशसम्ममा महिला पुगिसकेका छन् ।
तर अहिले पनि उनीहरूमा पुरुषत्व हावी हुन छाडेको छैन । अधिकांश महिला आफ्नैै श्रीमान्ले एसिड हानेर पीडित बनेका उदाहरणहरू समाजमा प्रशस्तै छन् । त्यस्तै प्रेमको टुसा पलाउने उमेरसम्म नभएका किशोरकिशोरी प्रेम नगरेको भन्दै अधबैंसे पिशाचहरूबाट एसिडको शिकार हुन्छन् ।
कलकलाउँदो भविष्य फक्रिन नपाई मुर्झाउने बनाउँँछन् । अपराध भन्दै अपराधीलाई सजाय दिए पनि महिलालाई भने समाजले नै बाँचुञ्जेल सजाय दिइरहन्छ । एसिडपीडितलाई थप पीडा पुर्याउन नानाथरीका आक्षेप किशोरीमाथि नै लगाइन्छ ।
स्वतन्त्र बनाएर पनि बन्दी जीवन जिउन बाध्य पारिन्छ । के यो नारी शोषण होइन ? हो भने समाजमा पीडित नारीलाई नै किन लान्छना लगाइन्छ । किन बोल्दैन समाज त्यस्ता नरपिशाचलाई जिउँदै फासी डोरीमा झुण्ड्याउन ।
केवल ८ वर्षको सजाय बिताएर फेरि समाजमा निर्धक्क हिँड्नलाई किन समाजले बहिष्कार गर्न सक्दैन ? अनि न्यायालयले किन सजाय बढाउन सक्दैन ? के यही काफी छैन शिक्षित समाजको मौनता नारी शोषित हुनलाई ?
सृष्टिलाई कुदृष्टि किन ?
नारी सृष्टिकर्ता हुन्, यो भनिरहनु नपर्ला । तर, तिनै सृष्टिकर्ताबाट सृष्टि भएकाले नै कुदृष्टि राख्नु कहाँसम्मको न्यायसंगत हो । यो अहिलेको मात्र होइन, नेपाली धार्मिक ग्रन्थहरूदेखि शिक्षित समाजसम्ममा सृष्टिकर्तामाथि भएका कृदृष्टिलाई समाज र विद्वान्हरूले सजिलै पचाउँदै आएका छन् ।
यहाँ आफैँले जन्माएको छोरोबाट, सन्तानबाट आमा डराउनुपर्छ, इज्जत जोगाउनुपर्छ । अनि आफ्नै दाजुभाइ र श्रीमान्बाट ।
महिनावारी भएकै कारण छाउपडीमा बस्नुपर्छ । शिक्षित समाजमा भने छाउपडीको बदल्लिएको स्वरुपअनुसार कोठामै बस्नुपर्छ । मन्दिर जान, पूजा गर्न हुँदैन । यो हाम्रो संस्कृति हो, मान्नुपर्छ । तर मन्दिर जान नदिनु, पूजा नगर्नुले मात्रै ५ दिनसम्म प्रसवपीडाले छटपटाएकाहरूलाई आराम मिल्ला त ?
कार्यालयमा महिलालाई महिनावारी भएकै कारण बिदा दिइन्छ । अनि त्यही रगतबाट जन्मिएकाहरू लुगामा देखिएको त्यही रगतलाई छिल्लिँदै अपहेलना गर्न पछि पर्दैनन् ।
भर्खरै महिनावारी भएकी सानी बच्चीलाई सुरुमै महिनावारीबारे खुलस्त कुरा गर्नबाट लुकाइन्छ । थोरै लुगामा रगतका टाटा देखिनु इज्जत नै लुटिनुसरह हो भनेर सिकाइन्छ । खोइ किशोरीमैत्री समाज ?
नारीले नारी भएकै कारण यस्ता अनगिन्ती शोषण यही हाम्रो शिक्षित समाजबाटै झेल्नुपर्ने अवस्था छ । तर पनि किन चुप छन् यहाँका न्यायालय, सरकार अनि शिक्षित भनाउँदाे समाज ?
नारीले नारी भएकै कारण गर्व गर्ने दिन कहिलेसम्म पर्खनुपर्ने हो ? त्यसैले भनिदेऊ सरकार ! म सुरक्षित अनि निर्भीक जीवन जिउन कुन ठाउँ जाऊँ... ?
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७ १९:४३