दिवसमान सिंह २०२६ सालदेखि बुटवलकाे सेमलारमा परिवारसहित जीवन निर्वाह गरिरहेका छन् ।
बाँझो जमिन खनजोत गरेर टहरो हालेर बसेका दिवसमान दोस्रो पुस्ता अहिले घरमै छ । २०२६ सालमा बसेलगत्तै २०२७ सालमा नापी भयो । त्यही नापीले उनलाई चिर्कटो दियो । चिर्कटो कागजी भरमा सिंहको दोस्रो पुस्ता समेलारमा बस्दै आएको छ ।
२०२६ सालपछि देशमा युगान्तकारी परिवर्तन भए । देशमा पञ्चायतदेखि प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र आयो । यी सबैका साक्षी बने, दिवस ।
निर्वाचन जतिजति बेला आउँथ्यो, दिवसले चुनावी नारामा लालपुर्जा दिने उद्घोष सुनिरहे । लालपुर्जा पाउने उनको आशा हरेक पटक निराशामा बलदियो ।
तर ५० वर्षअघिदेखि लालपुर्जाविहीन दिवसले मंगलबार लालपुर्जा पाए । उनलाई मंगलबार बुटवल उपमहानगरपालिकाले लालपुर्जा थमाइदिँदा उनको खुसीको सीमा रहेन । ५० वर्षदेखिको सपना मंगलबार विपनामा परिणत भयो ।
‘५० वर्ष यही माटोमा बिताएँ । लालपुर्जाका सस्ता नारा धेरै सुनेँ भोगेँ,’ दिवस भन्छन्, ‘सपनाजस्तै लाग्यो यो पल ।’
बुटवल उपमहानगरपालिकाले दिवसजस्तै ४८ जनालाई मंगलबार एकैपटक लालपुर्जा वितरण गरेको छ ।
२०२६ सालभन्दा अगाडिदेखि बस्दै आएका र २०२७ सालको नापीमा गाउँ ब्लकभित्र रहेका बुटवल उपमहानगरपालिका–१५ को सेमलारका ४८ घरधुरीलाई लालपुर्जा वितरण गरिएको हो ।
उपमहानगरभित्र बस्दै आएकाहरूलाई लालपुर्जा सरकारी मापदण्डअनुसार सबै वडाहरूमा वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले कोभिड–१९ का कारण केही ढिलो भएको भए पनि अब क्रमशः सम्पूर्ण वडामा मापदण्डअनुसार लालपुर्जा वितरण गरिने जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाभित्र करिब ६ हजारभन्दा बढी परिवार लालपुर्जाविहीन अवस्थामा छन् ।
५० वर्षसम्म खनजोत गर्दासमेत नपाएकाे लाजपुर्जा ढिलै भए पनि लालपुर्जा पाएपछि खुसी लागेको स्थानीय मीनबहादु रानाले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७ २३:५२