लक्ष्य प्राप्तिपछि डा. राजेन्द्र गौतम र डा. स्मृति पन्तको जोडी अमेरिकाबाट नेपाल आउने योजनामा हुन्छन् । तर, नेपाल आउनुपहिले, गएर के गर्ने ? मनमा अनेक कुरा खेल्छन् ।
विकल्प त अनेक छन् । सामान्य काम गरेरै पनि औसत जीविका चलाउन गाह्रो छैन । पढिएको छ, केही नहुँदा पढाएरै मात्रै पनि पुग्छ, एनजीओ चलाउँ भने पनि खुबी राम्रै छ । आईएनजीओमा राम्रै तलबमा काम गर्ने अवसर पाइन्छ, आत्मविश्वास नभएको होइन ।
तर, अमेरिकामा पुगेर एउटा प्रतिष्ठित विश्वविद्यालयबाट गरिएको पीएचडीसँग आफू जन्मेहुर्केको ठाउँप्रतिको जिम्मेवारीसँग पनि सम्बन्ध भएको महसुस गर्छ यो जोडी । ‘त्यसका लागि हामी के गर्न सक्छौँ ।’
सफलता पाउन गर्नुपर्ने पूर्ण पूर्वसर्त पालना गर्ने गरी अमेरिकामा नै बनाएका योजनालाई कार्यान्वयन गर्ने लक्ष्य बोकेर सन् २०१८ काे जनावरीमा ७ वर्षपछि राजेन्द्र स्मृतिको जोडी ४ वर्षे छोरो लिएर नेपाल फर्कन्छन् ।
अहिले स्मृति पर्यटन शिक्षा क्षेत्रमा छिन्, राजेन्द्र कृषि अनुसन्धान तथा उद्यमशीलता विकास गर्ने क्षेत्रमा कार्यरत छन् । स्मृति पर्यटन विषयमा पीएचडी गर्ने नेपालकै पहिलो महिला हुन् । पीएचडी गर्दा नेपालकै विषयमा गरेको अनुसन्धानले नेपाल फर्कन झन् प्रेरित गरेको तथा फर्कन सजिलो पनि भएको उनी बताउँछिन् ।
धेरै पढ्ने अमेरिका र यूरोप, थोरै पढ्ने खाडी र मलेसिया भनेर लगाउने गरेको परिभाषामा उनीहरू बाधक बनिदिएका छन् ।

अमेरिकामा उच्च शिक्षा हासिल गरेर नेपाली माटोमा वर्षौंको ज्ञान पोख्दै छन् उनीहरू नेपाली किसानको उज्ज्वल भविष्यको सपनासहित ।
केही वर्ष शिक्षामा केन्द्रित हुने अमेरिकामा नै बनाएको योजनासहित स्मृति पर्यटन शिक्षा सुधार गर्न काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै छन् । यसबाहेक, अमेरिकाको आफैँले पढेको विश्वविद्यालयसँग मिली कृषिक्षेत्रमा लैंगिक तथा सामाजिक अनुसन्धान पनि जारी रहेको बताउँछिन् । उनी शिक्षामा लागू व्यावहारिक पाटो पनि छ तर उनले भनेको समानतासम्बन्धी अनुसन्धानमा पनि सक्रिय छन् ।
सैद्दान्तिक पक्ष भनेको नेपालले व्यावहारिक शिक्षानीति लागू गर्न सकेको छैन । नेपाली विद्यार्थीको ट्यालेन्ट के हो, पत्ता लगाउने कोसिसमा कमी छ ।
राजेन्द्रको नेपाल आएपछिको पहिलो काम थियो समृद्धि कृषि अनुसन्धान तथा विकास प्रालिको दर्ता । उनीसहित विभिन्न क्षेत्र आईटी, कृषि, वातावरण, बाली रोग, पर्यटन र मेडिकल क्षेत्रमा विज्ञता हासिल गरेका ७ जनाको समूहले यो कम्पनी खोलेको छ ।
राजेन्द्र प्रबन्ध निर्देशक रहेको यो कम्पनीको उद्देश्य उच्च मूल्य पर्ने बालीहरूको अनुसन्धान तथा प्रवर्द्धन गर्दै निर्यात बढाउने र व्यापार घाटा घटाउने, कृषकको आयस्तरमा वृद्धि गर्ने, क्षेत्रअनुसारको कृषि प्रणाली विकास गर्ने र रोजगारीको नयाँ अवसर सिर्जना गर्ने छ ।
राजेन्द्र आफैँ पढेको विश्वविद्यालय युनिभर्सिटी अफ फ्लोरिडा अमेरिका, कृषि तथा वन विद्यालय जहाँ उनले बीएस्सीसम्मको अध्ययन गरेका थिए, कृषि तथा पशु विज्ञान अध्ययन संस्था र कृषि अनुसन्धान परिषद् नार्कसँगको सहकार्यमा काम गरेको छ कम्पनी ।
कम्पनीको मुख्य काम छ नेपालमा व्यावसायिक भइनसकेका तर प्रचुर सम्भावना भएका बालीहरूको विकास गर्ने तथा व्यावसायिक देखिएर पनि उचित प्रविधि र कौशलताको अभावमा प्रतिस्पर्धी बन्न नसकेका बालीको उत्पादनमा प्रविधिको विकास गर्ने ।
राजेन्द्र पहिला आफूले गरेर देखाउने र पछि कृषकलाई आकर्षित गर्ने योजनामा छन् । स्ट्रबेरी खेतीको प्रविधि विकासमा २ वर्ष समर्पण गरेको जोडी ब्लुबेरी, रास्पबेरी, ब्लाकबेरीलगायतका बालीहरूको अनुसन्धामा जुटिरहेका छन् । यो जोडीलाई अमेरिका र अस्ट्रेलियामा रहेका केही विदेशी र केही नेपाली विज्ञहरूले आफ्नो दक्षताको क्षेत्रबाट सघाइरहेका छन् ।
नेपालमा उत्पादित स्ट्रबेरी उच्च मूल्यमा बेच्न सकिने उनको अनुसन्धानले देखाएको छ । गत आर्थिक वर्षमा लकडाउनका कारण निर्यात गर्न नसकिएको बताउने उनले यस वर्ष खाडी मुलुकमा निर्यातको आरम्भ गर्ने बताएका छन् । खेती पनि विस्तार गर्ने योजना २० रोपनी जग्गा लिजमा खोज्दै उनी हिँडिरहेका छन् ।
हालसम्म उनीहरूले अमेरिकन र अस्ट्रेलियन जातका स्ट्रबेरी आयात गरी परीक्षण गरेका छन् । गौतम आफैँले ७ जातका स्ट्रबेरी उत्पादन गरेको बताए । ४ जिल्लाका १० स्थानमा स्ट्रबेरी खेतीको अनुसन्धान सकेका छन् ।
यता जापनिज र अमेरिकन जातको सुन्तलाको परीक्षण तथा उत्पादन कार्य पनि आरम्भ गरेको जनाएका छन् । मूल्यवान् फलको उत्पादन गरेर आफ्नो मात्र हाेइन, नेपालकै कृषिउपजमा सुन्दर भविष्य देखेका उनीहरू उच्च मूल्य पर्ने फलफूल, बालीको स्रोत केन्द्र स्थापना गर्ने, बेरी तथा फलफूलमा आधारित पर्यटन सुरू गर्ने, स्ट्रबेरी खेतीको विस्तार, प्रविधिको निरन्तर विकास गर्ने लक्ष्यमा छन् ।

उच्च शिक्षा र राजेन्द्र-स्मृतिको जोडी
अर्घाखाँचीका राजेन्द्र र काभ्रेपलान्चोककी स्मृतिको भेट कृषि तथा वन विश्वविद्यालय रामपुरमा भएको थियो । राजेन्द्र अर्घाखाँचीकै सरकारी स्कुलमा ९ कक्षासम्म पढेर काठमाडौंको विश्वनिकेतनबाट एसएलसी दिएका थिए भने नेपाल राष्ट्र स्मृति काठमाडौंकै एक बोर्डिङ स्कुलमा पढेकी थिइन् ।
पढाइको सिलसिलामा नै उनीहरूको भेट भएको थियो । बीएस्सीसम्म एउटै विषय पढेका उनीहरू त्यसपछि भने फर-फरक रोजाइमा रहे ।
बीएस्सीपछि आईएनजीओमा जागिर गर्न थालेकी स्मृति मास्टर्स गर्न फूल स्कलरसिप लिएर थाइल्याण्ड पुगिन् । उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मास्टर्स गरेकी थिइन् । रामपुरबाटै एमएस्सी गरेका राजेन्द्र र स्मृतिको चिनजान सन् २००९ मा विवाहमा परिणत भयो ।
स्मृतिलाई पहिले पनि अमेरिका जाने सम्भावना प्रशस्त भएर पनि प्रयास गरेकी थिइनन् तर पीएचडीका लागि श्रीमान्लाई अमेरिकाका १० प्रतिष्ठितमध्येमा पर्ने विश्वविद्यालय युनिभर्सिटी अफ फ्लोरिडाले फूल स्कलरसिप दिएपछि सन् २०१० मा दुवै जना अमेरिकातर्फ उडे ।
स्मृति भने त्यसको १ वर्षपछि २०११ मा अमेरिकाको फ्लोरिडा पुगिन् । फ्लोरिडा पुगेको केही समयमा नै स्मृतिले पनि युनिभर्सिटी अफ फ्लोरिडामा पर्यटन विषयमा विद्यावारिधि गर्न फेलोसिप पाइन् ।
स्मृतिको पीएचडी र राजेन्द्रको पीएचडीपछि गरिने पोष्ट डक्टरल सँगसगै सकियो । यहीबीचको अर्को उपलब्धि छोरो पनि ४ वर्षको पुग्यो ।

अनि फर्किए नेपाल
नेपाल फर्कन प्रेरित गर्ने धेरै विषय छन् । राजेन्द्रले अमेरिकामा पीएचडीपछि पोष्ट डक्टरलका क्रममा माटोको उर्वर शक्तिको गुणस्तर कायम गर्नेसम्बन्धी अनुसन्धानमा सरिक भए । त्यस समयमा उनले हरेक पल नेपाल सम्झन्थे । केही गएर नेपालमा प्रयोग गरौँ ।
उनलाई सबैभन्दा बढी रहर सैद्धान्तिक सिकाइलाई व्यावहारिक रूपमा उतारेर कृषिलाई व्यावसायिकतिर केन्द्रित गर्ने थियो । स्मृतिको रहर पनि यस्तै थियो । कृषि विषयमा आईएस्सी र बीएस्सी गरेकी उनले आफ्नो अध्ययनबाट गाउँका कृषक लाभान्वित गराउने रहर उनमा थियो । त्यसैले पनि दुवैको सोच मिल्यो ।
गौतम भन्छन्, 'विदेशमा बस्ने हरेक नेपालीलाई नेपालको माया हुन्छ र सम्भवत: नेपालमा बस्नेलाई भन्दा अझ बढी हुन सक्छ । हरेक नेपालीले एक पटक सोचेकै हुन्छ । म नेपाल गएर के गर्न सक्छु भनेर । तर, हरेक व्यक्तिसँग भएको ज्ञान र सीपको उपयोग गर्ने वातावरण नेपालमा अझै बनिसकेको छैन ।
गौतमले आर्जन गरेको कृषि ज्ञान र स्मृतिले पढेको पर्यटन ज्ञान नेपालको आवश्यकतासँग पनि मिल्ने खालको छ । त्यसैले यो जोडीलाई नेपाल फर्कन कति पनि गाह्रो भएन । थुप्रै योजनाहरू र सपनाहरूको पोको बोकेर उनीहरू सन् २०१८ मा नेपाल फर्केर आफ्नो अभियानको सुरुवात गरे ।

कसरी गर्ने कृषिको विकास ?
नेपालमा कृषि उत्पादन किन अपेक्षित हुन सकेन भनेर एउटा मात्रै कारण देखाउँदा राजेन्द्र अनुसन्धानको कमी बताउँछन् । उनले अनुसन्धानबिना गरिने खेतीले किसानको जोखिमलाई बढाउने र किसानलाई अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुने बताउँछन् ।
भिरालो भूबनोट र संवेदनशील पर्यावरणीय परिस्थितिका कारण नेपालको मध्य र उच्च पहाडमा धान, मकै, कोदोजस्ता खाद्यान्न बालीहरू नभई फलफूल र उच्च मूल्य पर्ने अन्य बालीहरू लगाउनुपर्ने उनी बताउँछन् ।
नेपालका लागि तुलनात्मक लाभ भएका बालीको खेती गर्दा बजारको पनि सुनिश्चितता गर्न सकिने, किसानको आयमा सुधार आउने र शिक्षित युवालाई कृषिमा आकर्षित गर्ने उनको भनाइ छ ।
उनी कृषि अनुसन्धान राज्यको प्रमुख प्राथमकिताभित्र पर्नुपर्ने बताउँछन् । कृषि अनुसन्धानमा निजीक्षेत्र र सरकारबीच पर्याप्त सहकार्य हुन सकेमा कृषिउपजमा हुने गरेको व्यापार असन्तुलन घटाउन सकिने उनकाे भनाइ छ । अनुसन्धान केन्द्रित बजेट सरकारले उल्लेखनीय रूपमा बढाउन आवश्यक छ ।

कृषि अनुसन्धान र कृषि विकासको सम्बन्ध डोजर र गाडीको जस्तै हो । डोजरले बाटो खन्छ र त्यही बाटोमा गाडी गुड्छ । यदि गाडीले डोजरका लागि बाटो खोल्नुपर्यो भने त्यो सम्भव हुँदैन । यस्तो उल्टो मोडमा कार्य गर्न समस्या हुन्छ ।
जसरी डोजरले खनेको बाटोमा गाडी गुड्छ, त्यसरी नै अनुसन्धानले खनेको बाटोमा कृषि विकास अगाडि बढ्ने हो । तर, नेपालको परिवेश अत्यन्त फितलो अनुसन्धानको भरमा कृषि विकासको गाडी अगाडि बढिरहेको छ । जुन जोखिमपूर्ण हुन सक्छ । त्यसैले कृषिमा थप अनुसन्धान र शिक्षित पुस्ता पनि आवश्यक छ ।
फोटो : सुशील श्रेष्ठ
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७ २२:१६