सरकारले लकडाउन खोलेको ८ दिनपछि लगभग बजारमा सबै प्रकारका पसल व्यवसायहरू सञ्चालनमा आएका छन् । गत ८ साउनदेखि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएसँगै अहिले धमाधम व्यापार व्यवसायदेखि ठूला होटल तथा रेष्टुरेन्टहरू पनि खुल्न थालेका छन् ।
चार महिना लामो लकडाउनपछि व्यवसायहरू पुनः सञ्चालनमा आएका हुन् । यातायात, साना तथा ठूला बजार र संघसंस्था तथा होटल र रेष्टुरेन्टहरू खुलिसकेका छन् । साना क्याफे र होटलहरू यसअगाडि नै खुलिसके पनि ठूला होटल तथा रेष्टुरेन्टहरू भने बिहीबारदेखि नै औपचारिक रूपमा सञ्चालनमा आएका छन् ।
व्यापार व्यवसाय सञ्चालनमा आएसँगै बजारमा मान्छेको भीड बढ्न थालेको छ । सडकमा बसेर व्यापार गर्ने फुटपाथका व्यापारीदेखि आलिसान भवनहरूमा सञ्चालित ठूूला मार्केटहरूमा उल्लेख्य मात्रामा भीडभाड बढ्न थालेको छ ।

सरकारले लकडाउन खोल्ने समयमा अत्यावश्यकबाहेकका अन्य व्यवसायहरू बन्द नै रहने निर्देशन नै जारी गरे पनि अहिले अधिकांश खुलिसकेका छन् ।
सरकारले होटल तथा रेष्टुरेन्टलाई टेक अवे र होम डेलिभरीका लागि खोल्न अनुमति दिएसँगै आजदेखि उनीहरूले सेवा सुरु गरेका छन् । त्यस्तै सरकारले सिनेमा हल, विद्यालय खोल्ने अनुमति दिएको छैन ।
खुले यी क्षेत्रहरू
सरकारले लकडाउन खोलेसँगै अनुमतिप्राप्त तथा अनुमति नपाएका क्षेत्र पनि अहिले धमाधम खुलिरहेका छन् । अनुमतिप्राप्त क्षेत्रहरूमा कृषि तथा पशुपक्षी व्यवसायअन्तर्गतका तरकारी पसल, तरकारी डेलिभरीदेखि लिएर उत्पादन तथा प्रशोधन केन्द्र, डेरी उद्योगलगायत खुलेका छन् ।
त्यस्तै ढुवानी उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोरहरू पनि खुलेका छन् । यद्यपि केही डिपार्टमेन्टल स्टोर र व्यक्तिगत पसलहरू भने जोखिमलाई मध्यनजर गर्दै अझै खोलिएका छैनन् ।
योसँगै फोहोरमैला व्यवस्थापनका कार्यहरू, बैंक तथा वित्तीय संस्था तथा बीमा सेवाहरू, नर्सरी, विकास निर्माणका आयोजनाहरू, ठूला होटल तथा रेष्टुरेन्ट र सरकारी तथा गैरसरकारी, नीजि कार्यालयहरू सञ्चालनमा आइसकेका छन् ।

अत्यावश्यकबाहेकका व्यवसायहरू स्वीमिङ पुल, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, स्पा, सैलुन र व्युटिपार्लर, सार्वजनिक पुस्तकालय र संग्रहालय, सबै प्रकारका प्रदर्शन, भेला समारोहहरूलाई भने सरकारले अझै निषेध गरेकाे छ ।
निषेधित पनि सञ्चालनमा
सरकारले लकडाउन खोल्ने निर्णय गरेकै दिन कस्ताकस्ता क्षेत्र सञ्चालनमा आउन पाउने र कस्ता क्षेत्र सञ्चालनमा आउन नहुने भनेर स्पष्ट खुलाए पनि अहिले सबै प्रकारका क्षेत्रहरू निर्वाध रूपले सञ्चालनमा आइरहेका छन् ।
सडकमा पैदल यात्रा गर्न सरकारले छुट दिए पनि सभा, समारोह, भेला पार्टी आदि गर्न निषेध गरेको छ । तर अधिकांश संघसंस्थाहरूले सभा समारोह गर्दै आएका छन् ।
जस्तो केही समयअगाडि नेपाल टेलिकमले पनि १ सय जनाजति पत्रकार तथा कर्मचारीलाई एउटै हलमा उपस्थित गराएर प्रेस मिट कार्यक्रम गर्याे । त्यस्तै, विभिन्न संस्थाहरूले सरकारको निर्णयलाई अटेर गर्दै समारोहहरू आयोजना गरिरहेका छन्, जहाँ न त भौतिक दूरी कायम गरिएको हुन्छ न त मुखमा मास्क नै देखिन्छ ।
त्यस्तै, सार्वजनिक सवारीसाधन पनि यात्रुको चाप बढ्ने समयमा भने नियमविपरीत सबै सिटमा मानिस राखेर बिनामास्क/स्यानिटाइजर सडकमा गुडिइरहेका छन् ।
अधिकांश चालक, सहचालकमा तथा कतिपय यात्रुमा पनि कोरोनाको भय देखिँदैन ।

त्यसो त ब्युटिपार्लर, सैलुन आदिलाई पनि सरकारले निषेधित क्षेत्रमा राखेर खोल्न नहुने भने पनि अहिले अधिकांश ब्युटिपार्लर तथा सैलुन खुलिसकेका छन् । कोरोनाको उच्च जोखिम कायमै रहँदा पनि यस्ता पसलहरूमा कुनै सुरक्षा नअपनाई सञ्चालन भइरहेका छन् ।
अनुगमन फितलो, छैन सुरक्षा
लकडाउन खुल्यो । बजार, व्यवसाय, संघ, संस्था सबै खुले । सडकदेखि चिया पसलसम्म र होटलदेखि रेस्टुरेन्ट र लजसम्म सञ्चालनमा आइसके । तर, सुरक्षाको तयारी भने कहीँकतै देखिँदैन । सार्वजनिक यातायातमा लागू हुनुपर्ने नियम खुल्लमखुल्ला उल्लंघन भइरहेका छन् ।
निषेध गरिएका व्यवसाय पनि निर्वाध रूपमा बिनासुरक्षा सञ्चालनमा आइरहेका छन् तर सुरक्षाको जिम्मा पाएका निकायहरू नै कडा रूपमा प्रस्तुत नहुँदा कोरोनाको जोखिम उच्च हुँदै गएको छ ।
होटल एसाेसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले सरकारको नियमबमोजिम नै होटलहरू खोलिने बताइन् । उनले भनिन्, ‘सम्पूर्ण होटल सञ्चालकहरूले सरकारको सुरक्षा रणनीति अपनाएर नै आजबाट सञ्चालनमा ल्याएका छन् । संघ तथा सरकारी निकाय दुवैको संयुक्त पहलबाट खोलिएका होटल तथा रेष्टुरेन्टहरूको अनुगमन तथा निरीक्षण गरिनेछ ।’

उनले यदि कुनै होटल तथा रेष्टुरेन्टले सुरक्षा नअपनाई सञ्चालन गरेको खण्डमा संघले नै काराबाहीका लागि सिफारिससमेत गर्न सक्ने बताइन् ।
त्यसो त सार्वजनिक यातायातको अनुगमन पनि ट्राफिक प्रहरी र नगर प्रहरी तथा यातायात व्यवसायी महासंघकाे पहलमा गरिने भनिए पनि अनुगमन गरेको पाइँदैन । सार्वजनिक सवारीसाधन बिनासुरक्षा निवार्ध रूपमा सञ्चालन भइनै रहेका छन् । सार्वजनिक सवारी सुधार अभियानकर्मी प्रेमबहादुर थापा सार्वजनिक सवारीसाधन अनुगमन नगरिँदा यात्रुको स्वास्थ्यमा सरासर खेलबाड भइरहेको बताउँछन् ।
शुक्रबारबाटै लागू हुनेगरी सरकारले बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकामा सवारी भित्रन नदिने निर्णय गरेको छ । तर निर्णय गरेकै दिन यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरु बताउँछन् ।
सरकार आफैले गरेको निर्णय कार्यान्वयनमा कडाइ नगर्दा उपत्यकामा कोरोना संक्रमणको दर ह्वात्तै वढ्ने भन्दै जनस्वास्थ्यविद्ले समेत सर्तकता वढाउनुपर्ने औंल्याएका छन् ।
‘भर्खरै रत्नपार्कबाट माइतीघरसम्म गाडी चढेर आएँ, गाडीमा सबै सिटमा यात्रु थिए, चालक सहचालक दुवैको मुखमा मास्क थिएन, न त ढोकामा स्यानिटाइजर नै, भाडा बढी असुल्ने तर सावधानी नअपनाउने सवारीको अनुगमन कसले गर्ने ?,’ उनले भने, ‘अनुगमन नहुँदा याुत्र थप असुरक्षित बनेका छन् ।’
भयावह अवस्था सिर्जना हुन सक्ने
सडकमा भीडभाड बढ्दै जाँदा कोरोनाको जोखिम झनै बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक शेरबहादुर पुन बताउँछन् ।
‘लकडाउन खुकुलो भएको हो, अहिले संक्रमण पनि केही कम भएको हो तर जोखिम हटेको छैन,' उनले भने,' समुदायिक स्तरमा कोरोना फैलिएमा अवस्था हिजोको भन्दा त्रासदीपूर्ण हुन सक्नेछ । लकडाउन खुलेपछि हिँड्दा हुन्छ, कोरोनाको जोखिम हरायो भन्ने मनोवैज्ञानिक प्रभाव परेको जस्तो देखिन्छ, जसले गर्दा भीडभाड बढ्दै गएको छ । मानिस जमघटमा छन् । तर यो गलत हो । यसले भोलिको दिनलाई झन् भयावह बनाइरहेको छ ।’
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७ १५:३४