गत आर्थिक वर्षमा अनपेक्षि रूपमा वैदेशिक व्यापार घट्यो । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापार सुरुवातका केही महिना आयात व्यापार घटाउने रणनीतिका साथ व्यापार घटाएको बताए पनि बीचमा भने अघिल्लो वर्षको तुलनामा व्यापार बढ्यो र वर्षको अन्तिममा कोरोना कहरका कारण लक्ष्यमा अवरोध भयो ।
सरकारले भन्सार राजस्व अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढी उठाउने लक्ष्य निर्धारण गरेको थियो । सामान्य अवस्थामा २० प्रतिशत राजस्व र आयात बढ्दै गएको अवस्थामा ३० प्रतिशत राजस्व वृद्धिको योजनाले व्यापार घटाउने सरकारको रणनीतिक योजना थियो भन्ने कुरालाई पुष्टि गर्दैन । यद्यपि, गत आवमा अनपेक्षित रूपमा करिब १६ प्रतिशतको आयात व्यापार घट्यो । परिणामत: व्यापारघाटा पनि त्यसैगरी व्यापारघाटा पनि ।
प्रति महिना १ खर्ब ६ अर्ब रूपैयाँको मासिक आयात व्यापारबाट सुरु भएको गत वर्षको आयात व्यापार वर्ष अन्त्यको महिनामा ९५ अर्ब रूपैयाँमा रह्यो । वर्षभर औसत ९७ अर्ब रूपैयाँको व्यापार भयो । मंसिर महिनामा सबैभन्दा बढी १ खर्ब ३० अर्ब रूपैयाँको व्यापार भयो भने वैशाखमा सबैभन्दा कम ४२ अर्ब ६० करोड रूपैयाँको मात्र व्यापार भएको देखिएको छ ।
कुन महिना कतिको आयात व्यापार ?
गत आव २०७५/०७६ मा १ खर्ब १८ अर्ब रूपैयाँको औसत व्यापार भएको थियो । आव २०७६/०७७ मा मासिक २१ अर्ब रूपैयाँ न्यून आयात भएको देखिएको छ । आव २०७६/०७७ को अघिल्लो आर्थिक वर्षको तुलनामा ४ महिना बढी व्यापार भयो भने ८ महिना कम व्यापार भयो । २ महिना त अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५० प्रतिशत मात्र व्यापार भयो ।
आब २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा साउन महिनाको १४ अर्ब रूपैयाँ कमीको सामान आयात भएकाेमा भदौको मात्र व्यापारमा भने अघिल्लो वर्षको तुलनामा ११ अर्ब रूपैयाँले बढी सामान आयात भयो । आव २०७५/०७६ को भदौमा १ खर्ब ११ अर्ब रूपैयाँको सामान आयात भएकाेमा आव २०७६/०७७ को भदौमा १ खर्ब २२ अर्ब रूपैयाँको सामान आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । त्यस्तै, कात्तिक, मंसिर र फागुनमा पनि आव २०७५/०७६ को तुलनामा क्रमश: १०, १५ र ५ अर्ब रूपैयाँले सामान बढी आयात भएको छ ।
अन्य महिनामा भने व्यापार घटेको देखिएको छ । आव २०७५/०७६ मा सबैभन्दा बढी आयात असोज महिनामा १ खर्ब ४१ अर्ब रूपैयाँको भएको थियो । आव २०७६/०७७ मा महिनामा भने ३६ अर्ब रूपैयाँले कमी आएको छ ।
महिनागत आयात व्यापार विश्लेषण
भन्सार विभागका महानिर्देशक सुमन दाहाल फागुनसम्मको तथ्याङ्कका आधारमा अघिल्लो आवबराबरकै आयात हुने स्थिति रहे पनि कोरोना कहरका कारण १५ प्रतिशतसम्म न्यून आयात भएको बताउँछन् । पहिलो महिना अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले न्यून देखिएको व्यापार फागुन महिनामा आउँदा ४ प्रतिशत मात्र न्यून देखिएको थियो । वर्ष अन्तिममा भने करिब १६ प्रतिशतले कमी आयो ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७ १०:३२