कोराना भाइरस (कोभिड–१९) को कारण १० चैतदेखि सरकारले गरेको लकडाउन बिहीबारदेखि अन्त्य भयो । लकडाउन सुरु भएदेखि नै कारागारमा रहेका कैदीसँग उनीहरूका आफन्तको भेटघाटमा कारागार प्रशासनले रोक लगाएको छ ।
सरकारले लकडाउन अन्त्य गरे पनि कारागार प्रशासनले अझै आफन्तलाई कारागारभित्रै पुगेर कैदीहरूसँग भेटघाटको अनुमति भने दिएको छैन । तर, बिहीबार बिहान करिब ११ बजेको थियो । १० चैतदेखि सधैँ सुनसान देखिने डिल्लीबजारस्थित सदरखोरभित्रको माहाैल भने भिन्न थियो ।
कोही कैदी अचम्ममा परेझैँ जिब्रो टोकिरहेका थिए, कोही ‘पावर हुनेको यस्तै हो,’ भनिरहेका थिए । कोही सोचमग्न अवस्थामा थिए । कारण थियो– श्रीमती हत्या अभियोगमा २०७१ सालदेखि सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला एकाएक छुट्नु ।
उनी छुट्न र जेल बस्नुमा अन्य कैदीहरूको सरोकारको विषय केही थिएन । तर, कारागारबाट कैद सजाय भुक्तान गरेर घर फर्निनेहरूलाई अन्य कैदीहरूले खादा ओढाएर नै बिदा गर्ने चलन छ । कोइरालाको हकमा पनि कैदीहरूले त्यही गरे । खादा ओढाएरै बिदाई गरे । कोइरालाले जवाफमा हात हल्दाउँदै बिदा मागे ।
कोइराला छुट्ने खबरले सञ्चारकर्मीहरू कारागारबाहिर गेटमा कुरिरहेका थिए । उनीभित्रबाट बाहिर पुग्दा उनकी प्रेमिका तारा रेग्मी सेतो कार लिएर कारागारको गेटमै पुगिन् ।
कोइराला प्रेमिका रेग्मीले चलाएको बा१८च ५४१७ सेतो कार चढेर डिल्लीबजारबाट सञ्चारकर्मीलाई हात हल्लाउँदै केही प्रतिक्रिया नदिई गए । उनकी प्रेमिका रेग्मीले भने आफ्नो प्रेम विवाह कोइराला जेल जानुपूर्व नै भइसकेको प्रतिक्रिया दिइन् ।
१५ असारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई ८ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला गरेपछि उनी कारागारका अन्य कैदीलाई अचम्मित पार्दै जेलमुक्त भएका हुन् ।
यसअघि कोइरालालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादले ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । उच्च अदालत पाटनले समेत २३ मंसिर २०७२ मा कोइरालाको सर्वस्वसहितको फैसलालाई नै सदर गरेको थियो ।
यस्तो थियो घटना
कोइरालाले २७ पुस २०६८ मा श्रीमती गीता ढकालको बूढानीलकण्ठस्थित आफ्नै घरमा हत्या गरेका थिए । गीताको हत्याको 'क्लु' भने कसैले फेला पारेका थिएनन् । हत्या भएको एक दिनपछि २८ पुसको बिहान मकवानपुरको पालुङमा एउटा लास जलेको अवस्थामा स्थानीयबासीले भेट्टाए ।
स्थानीय सूर्यबहादुर दोङले सडकबाट ३० मिटरभित्र जंगलमा साे लास फेला पारेका थिए । आफ्नै क्षेत्रमा आधा जलेको लास देखेपछि उनीहरूले लास भेटेको स्थानलाई निगरानी राखेका थिए । उता ६ माघमा गीताका बुबा हरेराम ढकालले आफ्नी छोरी गीताको अपहरण कोइरालाले नै सम्पत्ति लिन गरेको भन्दै प्रहरीमा जाहेरी दिइसकेका थिए ।
प्रहरीले कोइरालामाथि गोप्य रूपमा निगरानी गरिरहेको थियो । त्यसको २ दिनपछि ८ माघमा कोइराला फेरि त्यही लास जलाएको ठाउँ पुगे । लास जलाएको ठाउँमा उनले शंकास्पद गतिविधि देखाएपछि स्थानीयवासीले नियन्त्रणमा समेत लिन खोजे ।
पछि आफू सशस्त्रको हाकिम हुँ भनेर उनी फर्किएका थिए । पालुङबाट फर्किंदा उनी नागढुंगाबाट ८ माघ २०६८ मा पक्राउ परेका हुन् । पालुङमा भेटिएको लासको अनुसन्धानपछि लास गीताको भएको पुष्टि भएको थियो । पछि विधिविज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणबाट समेत लास गीताकै भएको पुष्टि भयो ।
८ माघसम्म अपहरण र हत्या आफूले नगरेको बयान प्रहरीलाई दिने कोइरालाले पछि हत्या आफैँले गरेको बयान प्रहरीलाई दिएका थिए । पछि उनले अदालतमा भने हत्या नगरेको इन्कारी बयान दिए । तर, प्रहरी अनुसन्धान र बाँकी प्रमाणका आधारमा अदालतले कोइरालाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
प्रहरीको अनुसन्धानबाट कोइरालाले गीताको हत्या घाँटी थिचेर गरेको र पूर्वयोजनाअनुसार नै पेट्रोल छर्किएर गीताको शव नष्ट गर्न खोजेको पत्ता लागेकाे थियो । गीता र रञ्जनको २०५१ मा मागी विवाह भएको हो । गीताबाट रञ्जनका २ छोरा आर्यन कोइराला र आयुष कोइराला छन् ।
सर्वोच्चको फैसलाको चौतर्फी विरोध
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गरेको फैसला भने १५ असारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको इजलासले कोइरालाको सजाय घटायो ।
तर, हत्या र हत्यापछि शवलाई नै नष्ट गर्नेसम्मको कार्यमा संलग्न देखिएका कोइरालाको आधी सजाय कटौती गरेर जेलमुक्त गरेपछि भने न्यायालयकै चौतर्फी बिरोध भएको छ । कतिपय कानुन व्यवसायी नै सर्वोच्चको उक्त फैसला गलत भएको दाबी गर्छन् ।
सर्वोच्चको फैसलामा भनिएको छ, ‘कोइरालालाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने हो कि भन्ने विचार गर्दा मृतक गीता ढकालबाट जन्मिएका २ सन्तानको शिक्षादीक्षा, संरक्षण र अभिभावकविहीन हुँदा उनीहरूमा दूरगामी असर पर्ने र सजाय चर्को देखिएको चित्तमा लागेको हुँदा पुनरावेदन प्रतिवादीलाई साविक मुलुकी ऐन अदालती बन्दाेबस्त १८८ नम्बर तथा हाल प्रचलित फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १७ क बमोजिम ८ वर्ष ६ महिना सजाय गर्दा पनि मक्सद पूरा हुन्छ ।’

अपराधका बारेमा भने सर्वोच्च मौन छ । अझ पूर्वयोजनाअनुसार गरेको हत्यालाई समेत भवितव्य र आवेगको रूपमा व्याख्या गर्न खोजिएको छ ।
उसो त प्रहरीले घटनास्थलको सुरुको मुचुल्कामा समेत रञ्जनले गीताको सुत्ने कोठामा सिरानी वा अन्य कुनै वस्तुले घाँटी थिचेर हत्या गरेको खुलाएको छ ।
सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चको फैसलामा त्रुटि देखाउँदै पुनरवलोकन दर्ता गराइसकेको छ । पुनरवलोकनमा प्रधानन्यायाधीश संलग्न इजलासले साविक मुलुकी ऐनको १८८ नम्बर महलको अपव्याख्या गरेको दाबी गरेको छ ।
मुलुकी ऐनको १८८ नम्बर प्रयोग गरेर कम सजाय गर्ने फैसला प्रथम दृष्टिमै गलत भएको सरकारी वकिलको दाबी छ । कोइरालाले पत्नी गीता ढकाललाई मानसिक र शारीरिक यातना दिएर प्रेमिका तारा रेग्मीको सल्लाहमा मारेर लास जलाएको दाबी सरकारी वकिलको छ ।
पुनरवलोकन निवेदनलाई सर्वोेच्च अदालतको संयुक्त इजलासले पुनः सुनुवाइ गर्नका लागि निस्सा दिएमा मात्र अब यो मुद्दा ब्युँतनेछ ।
महान्यायाधिवक्ताको कार्यालयको पुनरावेदनमा सर्वोच्चको संयुक्त इजलासले निस्सा दिएर पुनः सुनुवाइ गरी उच्च अदालतको फैसलामा तोकिएअनुसारको कैद सजाय सदर भएको अवस्थामा भने रञ्जनले फेरि ११ वर्ष थप कैद बस्नुपर्नेछ ।
यस्ताे छ फैसलाकाे पूर्ण पाठ
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७ १६:४८