सप्तरीको राजविराजमा समुदायमा कोरोना फैलिएपछि लकडाउन कडा गरिने भएको छ ।
सरकारले ४ महिनादेखि गरेको लकडाउन अन्त्य गरेकै दिन बुधबारदेखि राजविराज नगरपालिकाले लकडाउन कडा गर्ने निर्णय गरेको हो ।
राजविराज– ६ स्थित घरमै कोसी ग्यास र खाद्य बिज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्यु भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दै जाँदा थप २ जनामा कोरोना पुष्टि भएपछि लकडाउन कडा गर्न चौतर्फी दबाब बढेकाले नगरपालिकाले लकडाउनकाे पूर्ण पालना गर्ने, गराउने निर्णय गरेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
हालसम्म मृतकको परिवारका पाँच सदस्य, पसलमा काम गर्ने ५५ वर्षीय कामदार, छिमेकी ५३ र ४८ वर्षीय दम्पती, मृतकको स्वामित्वको सफटेक कलेजका व्यवस्थापक ३७ वर्षीय पुरुष, अस्पतालको पोषण गृहमा कार्यरत उनकी श्रीमती ३२ वर्षीया नर्स, उनीहरूको घरमा काम गर्न जाने अस्पतालकी स्वीपर ३६ वर्षीया महिला गरी ११ जनामा कोरोना संक्रमण देखा परिसकेको छ । बुधबार क्वारेन्टाइनमा बसेका अन्य १२ जनामा समेत कोरोना देखिएको छ ।
स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख यादवले संक्रमितको सम्पर्कमा रहेका झण्डै १ सय जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको बताए ।
अस्पतालमा कार्यरत नर्स र स्वीपरमा बुधबार कोरोना देखिएपछि अस्पतालमा कार्यरत १ सय ९८ जना कर्मचारी चिकित्सकको परीक्षण गर्न लागिएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ११ चैतदेखि भएको लकडाउन नेपालभर अन्त्य भएपछि ठप्प रहेका होटल व्यवसाय, बजार खुल्ने भएका छन् भने राजविराजमा जेठको अन्त्यदेखि खुकुलो भएको लकडाउन कडा हुने भएको छ ।
नगरपालिकाले अत्यावश्यक कामबाहेक बाहिर निस्किन प्रतिबन्ध जारी गर्दै नगरभित्रको सरकारी, गैरसकारी कार्यालय, बैंक, वित्तीय संस्था, बजार, पसल बन्द गरी लकडाउनको पूर्ण पालना गर्न विज्ञप्ति जारी गर्नुका साथै माइकिङसमेत गरेको छ ।
नगरपालिकाको यो निर्णयअनुसार अब बजार, पसल खोल्न तथा अति आवश्यक कामबाहेक घरबाट निक्लिन पाइने छैन । पछिल्ला दिनमा बढ्दै गएको कोरोना संक्रमण घटेमा र स्वाबको रिपोर्ट सन्तोषजनक आएमा फेरि लकडाउन खुकुलो हुने तर अहिले अर्को सूचना जारी नहुञ्जेलसम्म लकडाउन कडा हुने नगर प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।
कोरोना भाइरसका कारण ५ महिनाको अवधिमा सप्तरीको राजविराजका एक पुरुषसहित नेपालका ४० जनाले ज्यान गुमाएका छन् । सप्तरीमा संक्रमितको संख्या ४ सय ४ पुगेको छ ।
संक्रमितमध्ये २३ महिलासहित २ सय ८९ जना निको भएका छन् । हाल १० महिलासहित ८४ जना राजविराजस्थित आइसोलेसन केन्द्रमा छन् । मृतक परिवारका ५ जनासहित बाँकी घरमै आइसोलेसनमा छन् ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७ १५:४१