राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्ड सुुचारु गर्न २ दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर क्षति पुर्याएपछि सोमबारदेखि राजमार्ग अवरुद्ध भएको छ ।
खोलामा थुुप्रिएको माटो ढुुङ्गा सफा गरी बुुधबार बेलुुकासम्म सडक खुुल्न सक्नेछ ।
‘सो ठाउँमा सफा गरी पानी डाइभर्ट गरी तार जाली राख्न काम सुुरु भइसकेको छ । बुुधबार बेलुुकासम्म राजमार्ग सञ्चालनमा आउन सक्छ,’ सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । उनले भने, ‘खोलामा लोडर र एक्साभेटर झरिसकेको छ, तारजालीमा ढुङ्गा राख्न सुरु भइसकेको छ ।’ पुलमा क्षति मात्र पुर्याएको हुनाले सो ठाउँमा बेलिब्रिज राख्न नमिल्ने उनले स्पष्ट पारे ।
सो राजमार्गको चितवन-धादिङ खण्डमा पहिरो जाने क्रम जारी रहेको उनले बताए । पृथ्वी राजमार्गमा करिब २ सय ठाउँमा पहिरो गएका छन् । यो राजमार्ग खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तह लगायतसँग छलफल भइरहेको जानकारी उनले दिए ।
लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको
छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्णरूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
बाढी र वर्षाका कारण देशका विभिन्न ३५ ठाउँमा अझै पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ । तिनलाई खुलाउन प्रयास अगाडि बढेको जनाइएको छ ।
पूर्ण सञ्चालनमा ल्याउन आवश्यक उपकरणसहित जनशक्ति परिचालन गरिसकिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता सापकोटाले जानकारी दिए । वर्षा हुने क्रम सामान्य हुँदै गएपछि अबको बढीमा २ हप्ताभित्र मुलुकभरिका सबै अवरुद्ध सडक पूर्णमा रूपमा सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको जानकारीसमेत उनले दिए ।
सडक विभागका अनुसार राजधानीलाई मुलुकका अन्य भूभागसँग जोड्ने मुख्य राजमार्गका रूपमा रहेको पृथ्वी राजमार्गको जोगीमारा-मौवाखोला खण्डमा रहेको मौवाखोला पुलमा क्षति पुर्याउँदा सो राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी अरनिको राजमार्गको सिरिसे, जम्बु, झ्याले, डाङलाङमा पहिरो र बाढीका कारण सडक भाँसिदा सो राजमार्ग अवरुद्ध भएको छ । ती सडक खुलाउन प्रयास अगाडि बढाइएको सापकोटाले जानकारी दिए ।
त्यसैगरी ठाउँठाउँमा गएको पहिरोका कारण राजधानीलाई कम समय र दूूरीमा तराईसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बल्खु-कुलेखानी-हेटौँडा सकडको इन्द्रसरोवर भन्ने ठाउँमा र कान्ति लोकपथको घट्टेपख, बागधारा, शिलालेख र छपेलीमा पहिरो जाँदा ती २ सडक मङ्गलबार बिहानदेखि अवरुद्ध भएका छन् ।
त्यस्तै, बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको गौँडे पुलमा पहिरो जाँदा सो राजमार्ग अवरुद्ध छ ।
त्यसैगरी बेनी-जोमसोम-कोरोला सडकखण्डमा म्याग्दी दाना र म्याग्दी गलेश्वर भन्ने ठाउँमा पहिरो जाँदा र म्याग्दीकै घोप्टे भीरमा पहिरोले बेली ब्रिज बगाउँदा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
त्यस्तै, रौतहटको चन्द्रपुर-गौर सडकखण्डको सपगाढास्थित कजवेमा बाढीले क्षति पुर्याउँदा सो सडक अवरुद्ध भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७ ०६:१०