सुदूरपश्चिममा आज ४१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । डडेल्धुरा र धनगढीमा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो ।
डोटीको शिखर नगरपालिकाका क्वारेन्टाइनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । धनगढी प्रयोगशालामा भएको परीक्षणमा भने गौरीगंगा नगरपालिका ५ की १५ वर्षीया किशोरीमा सङ्क्रमण पुष्टि भएको हो ।
एकै स्थानीय तहका ४० सङ्क्रमित
सोमबार डोटीको एउटै स्थानीय तहमा ४० जना नयाँ सङ्क्रमित फेला परेका छन् । डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा शिखर नगरपालिकाका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
असार २५ र २६ गते भारतका विभिन्न क्षेत्रबाट आएर क्वारेन्टाइनमा रहेकाहरूलाई संक्रमण देखिएको शिखर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
‘उनीहरू सबै भारतबाट आएका हुन्’ स्वास्थ्य शाखा प्रमुख हरि शाहले भने ‘तर, भारतको एउटै ठाउँका भने होइनन् ।’ सङ्क्रमितहरू भारतको मुम्बई, पुना, बैंग्लोर, चेन्नइलगायतका क्षेत्रबाट आएको शाहले बताए ।
उक्त टोलीमा १२६ जना रहेको र सबैको असार ३१ गते स्वाब संकलन गरिएको उनले बताए । ‘१२६ जनामध्ये सोमबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ,’ उनले भने ‘२० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आएको छैन ।’
उनीहरू सबै अहिले स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमै रहेको शाहले जानकारी दिए । सोमबार थपिएका नयाँ सङ्क्रमितसँगै शिखर नगरपालिकामा संक्रमितको सङ्ख्या १४० पुगेको छ । तीमध्ये ९५ जना डिस्चार्ज भइसकेका छन् ।
‘अहिले पनि ४५ जना सङ्क्रमितहरू आइसुलेसनमै छन्,’ उनले भने ‘उहाँहरूलाई हामीले हाम्रो निगरानीमा राखेका छौँ ।’ उनले शिखर नगरपालिकामा अझै पनि भारतबाट आएका ५०५ जनाको कोरोना परीक्षण हुन बाँकी रहेको बताए । अहिले शिखरले २५ वटा क्वारेन्टाइनमा ५०५ जनालाई राखेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७ १९:५३