नेपाली राजनीति र साहित्यका क्षेत्रमा सुप्रसिद्ध नाम हो, लोकेन्द्रबहादुर चन्द । विभिन्न समयमा ४ पटक नेपालका प्रधानमन्त्री बनिसकेका चन्द कुशल शब्द–शिल्पीसमेत हुन् । नेपालकै ठूलो र प्रतिष्ठित मानिने मदन पुरस्कार प्राप्त चन्द शालीन, सादगी र भद्र राजनीतिज्ञ मानिन्छन् ।
पञ्चायतकालमा २ पटक तथा त्यसपछि २ पटक गरी ४ पटक देशका प्रधानमन्त्री भइसकेका चन्दसँग राजनीतिको लामो अनुभव त छ नै साहित्यमा पनि उनको निकै लामो र महत्त्वपूर्ण योगदान छ ।
उनको ‘बाह्रौँ खेलाडी’ कृति अत्यन्त लोकप्रिय भएका कारण कतिपयले उनलाई सम्बोधन गर्दा नै ‘बाह्रौँ खेलाडी’ पनि भन्ने गर्छन् । बाह्रौँ खेलाडी किनारीकृत खेलाडी जस्तो मानिए पनि निर्णायक खेलाडी पनि बन्न सक्छ खेलमा ।
उनै राजनीतिज्ञ तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दको समग्र व्यक्तित्व आजको ‘व्यक्तित्व’ स्तम्भमा उतार्ने कोसिस गरिएको छ ।
जन्म र बाल्यकाल
३ फागुन १९९६ सुदूरपश्चिमको बैतडी जिल्लाको कुरुकुटिया बसुलिङ्गामा मध्यम वर्गीय ठकुरी परिवारमा जन्मिएका हुन् लोकेन्द्रबहादुर चन्द । खेती किसानी गर्ने परिवारमा जन्मिएका उनी १२ ठकुरीमध्ये एक चन्द परिवारमा जन्मिएका भनेपछि उनको पारिवारिक अवस्था नाजुक थिएन भन्ने प्रस्ट हुन्छ नै ।
खाने, लगाउने कुनै समस्या नभएको परिवार भएकाले चन्दको बाल्यकाल र शिक्षामा कुनै अप्ठ्यारो अवस्था नआउनु स्वाभाविक थियो । त्यसबेलाको चलनचल्तीअनुसारका ‘जिम्मुवाल’ थिए उनका बाबुबाजे ।
शिक्षा
चन्दको पारिवारिक पृष्ठभूमि आर्थिक रूपले सम्पन्न र शैक्षिक हिसाबले सचेत भएका कारण उनले ५ वर्षको उमेरदेखि नै पढाइ सुरु गर्न पाए । उनले आफ्नै बुबा र नन्दराम वस्तीबाट धुलो पाटीमा अक्षर लेख्न सिकेका हुन् ।
पछि भारतीय गुरु उस्ताद बुलाकीरामबाट उनले शिक्षा लिए । उनका पहिलो औपचारिक गुरु उनै उस्ताद बुलाकीराम थिए ।
त्यसबेला भारतीय गुरुहरूले नै धेरै नेपालीलाई पढाउँथे । नेपालमा शिक्षालयहरू प्रशस्त खुलिसकेका थिएनन् र पढाउने गुरुहरूको पनि अभाव थियो ।
उनलाई सम्झना छ, भारतीय गुरुहरूले विद्यार्थीलाई निकै पिट्थे । बच्चाको चञ्चलता, अटेरीपना आदिका कारण गुरुले पिटेको होला भन्ने ठान्छन् चन्द ।
उनी मात्र होइन, उनका परिवारका सबैजसो र आफन्त पनि उनकै घरमा बसेर पढ्थे । उनको सम्झनामा भएअनुसार त्यसबेला उनलाई पढाउनेमा साधु रामनारायण गिरी र अर्का एक जनासमेत थिए ।
उनले भाषा पाठशालामा पढे सुरुमा । त्यहाँ ‘ठूलो नेपाली वर्णमाला’ भन्ने पुस्तक पढाइ हुन्थ्यो । अरू पुस्तक भने भारतीय नै पढ्नुपर्थ्यो ।
उनी प्राथमिक तह पार गरेपछि कक्षा ६ देखि भारतको पिथौरागढ पढ्न गए । उनका कान्छाबाका छोरा र उनी पिथौरागढमा डेरा बसेर पढ्थे । कलिलो उमेर, घरदेखि टाढा बसेर पढ्नुपर्ने, स्वाभाविक रूपमै बालमस्तिष्कमा घर र परिवारको यादले सताउँथ्यो नै । तथापि, उनको कर्म अध्ययन थियो र पढ्नकै लागि उनी त्यहाा पुगेका थिए ।
उनीहरूलाई खाना बनाइदिने २ जना थिए ।
चन्द विद्यालयमा पढ्दा खेलकुदका सौखिन थिए । उनलाई फुटबल, ब्याडमिन्टन र क्रिकेटमा विशेष रुचि थियो । तर, फुटबल र क्रिकेट उनले बढी खेले । विद्यालय तहमा पढुन्जेल उनी निकै राम्रा फुटबल खेलाडी थिए ।
उनलाई याद छ, विद्यालयमा पढ्दा छात्र र छात्रा अलग्गै हुन्थे । छात्राका लागि गल्र्स स्कुल हुन्थ्यो ।
उनले पिथौरागढबाट एसएलसी समान तह अर्थात् म्याट्रिक पूरा गरे । त्यसपछि नेपाल नै आए । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा सन् १९६३ मा आईए भर्ना भए ।
त्यसबेलै घरमा आमा बित्नुभयो, पारिवारिक समस्या र उल्झन आए । उनले घर जानुपर्ने भयो ।
ऊबेला राजमार्ग बनिसकेको थिएन । भारतको बाटो हुँदै हिँड्नुपर्ने बाध्यता थियो । लामो समय लाग्थ्यो काठमाडौंदेखि बैतडी आउजाउ गर्न ।
काठमाडौं आइरहन समस्या भएपछि चन्द उतै अर्थात् भारततिरै हानिए उच्चशिक्षा अध्ययन गर्न ।
भारतको नैनीताल बैतडीबाट नजिक पनि पर्ने हुँदा उतै गएर स्नातक पूरा गरे– राजनीतिशास्त्र र अर्थशास्त्रमा । त्यहीँ उनले बीएलसमेत गरे ।
उनी नैनीतालमा क्याम्पस पढ्दादेखि नै राजनीतिप्रति आकर्षित भएका थिए । तर, त्यसबेला दलीय राजनीतिको गुञ्जायस नै थिएन । विद्यार्थी हकहितका सवालमा अगाडि सर्ने गर्थे चन्द । त्यस क्रममै विद्यार्थी सङ्गठन बनाउने र विद्यार्थीका सवालमा अघि बढ्ने गरे ।
जागिरयात्रा : शिक्षक र वकिल
सन् १९६१ तिर नै आईए पढ्दै पढाइ थाँती राखेर जब उनी घर गए, उनले गाउँकै एउटा विद्यालयमा केही समय पढाए । उनको पढाइ टुट्दै गएकामा उनी निकै चिन्तित भए । नियमित भइरहेको आफ्नो पढाइमा आमाको मृत्युपछि पटकपटक विश्राम लाग्यो तर उनले पढाइलाई पूर्णविराम लाग्न भने दिएनन् ।
उनले जब बीएल पूरा गरे, अब वकिल बन्ने उनको सपना सुरु भयो । अधिवक्ताको लाइसेन्स प्राप्त गर्न ६ महिनासम्म प्राक्टिस गर्नुपर्थ्यो ।
उनी काठमाडौं आएर अधिवक्ताको प्राक्टिस गरे र अन्ततः अधिवक्ताको लाइसेन्स हात पारे ।
केही समय उनले वकालत पनि गरे ।
अब राजनीतिमा
उनी पुनः घर फर्किए । ऊबेलाको पढालेखा व्यक्ति, त्यसमा पनि भद्र र शालीन स्वभावका, गाउँलेले लोकेन्द्रलाई नेतृत्वतिर प्रोत्साहन गरे । उनी २०२५ सालमा लिस्किता गाउँ पञ्चायतका उपप्रधानपञ्च बने । अब उनको प्रत्यक्ष राजनीतिक यात्रा सुरु भयो ।
चन्दले राजनीतिमा प्रवेश गरेयता पछाडि फर्किनुपरेन । हुँदाहुँदा पञ्चायतका अन्तिम प्रधानमन्त्री बनेका चन्द बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि समेत २ पटक प्रधानमन्त्री बनिसकेका छन् ।
उनको राजनीतिक यात्राले उचाइ लिँदै र फराकिलो बन्दै गयो । उनी उपप्रधानपञ्च बनेको समयमै अर्थात् त्यही वर्ष बैतडी जिल्ला सभा सदस्य बने । २०२७ सालमा बैतडी जिल्ला पञ्चायतका अध्यक्ष बने भने २०३० सालमा महाकाली अञ्चल पञ्चायत अध्यक्ष बने ।
२०३१ सालमै उनी राष्ट्रिय पञ्चायत सदस्य बने भने २०३२ सालमा राष्ट्रिय पञ्चायत उपाध्यक्ष, २०३४ सालमा पनि राष्ट्रिय पञ्चायत उपाध्यक्ष बने ।
उनको राजनीतिक यात्रामा ठेस लाग्ने कुनै सम्भावना नै थिएन । सुदूरपश्चिमका राजनीतिक ‘हिरो’ बन्ने तरखरमा थियो उनको यात्रा ।
उनी २०३६ सालमा राष्ट्रिय पञ्चायतका कार्यकारी अध्यक्ष (सभामुख) बने । एक वर्षपछि नै उनी अध्यक्ष बने राष्ट्रिय पञ्चायतका ।
२०३७ सालमा भएको राष्ट्रिय पञ्चायतमा सदस्य निर्वाचित भए ।
२७औँ प्रधानमन्त्री
२०४० सालमा प्रधानमन्त्री थिए, ‘चतुर नेता’ सूर्यबहादुर थापा । राजा महेन्द्रले नै विश्वास गरेका नेता थिए सूर्यबहादुर । उनलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो थिएन पक्कै । तर, सूर्यबहादुर थापालाई समेत हटाएर चन्द प्रधानमन्त्री बने, २०४० सालमा ।
चन्दका अनुसार त्यसबेला अर्थात् पञ्चायतकालमा पनि सरकार, संसद (राष्ट्रिय पञ्चायत)मा पक्ष र विपक्ष हुन्थे । चन्दहरू प्रतिपक्षमा थिए । चन्दको नेतृत्वमा सूर्यबहादुर थापामाथि अविश्वासको प्रस्ताव ल्याइयो र थापालाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारियो ।
च्यसपछि ४४ वर्षको उमेरमै चन्द मुलुकका २७औँ प्रधानमन्त्री बने । उनी त्यसबेला ३३ महिना अर्थात् २०४० असारदेखि २०४२ चैतसम्म मुलुकका प्रधानमन्त्रीका रूपमा रहे ।
चन्द सम्झिन्छन्, ‘हामीले थापाजीको काम, शैलीका बारे जनकपुर र काठमाडौंमा विरोधसमेत गर्यौँ । उहाँ प्रधानमन्त्रीबाट हट्नुभयो र प्रतिपक्षमा आउनुभयो ।’
तर, सूर्यबहादुर थापाको प्रतिपक्षी भूमिका ‘सशक्त’ भएको चन्दको भनाइ छ । उनले भनेको ‘सशक्त’बाट अनुमान गर्न सकिन्थ्यो कि चन्दलाई सूर्यबहादुर थापाले निकै सकस बनाएका थिए उनको ३३ महिने उक्त प्रधानमन्त्रीत्वकालमा ।
‘के सूर्यबहादुरले निकै अप्ठ्यारो बनाउनुभयो तपाईंलाई ?’
यस प्रश्नको उत्तरमा उही सदाबहार मुस्कानसहित जवाफ आयो, ‘अब प्रतिपक्षमा रहनेले के गर्लान् ? कसो होला ? त्यो त सामान्य अनुमान लगाउन सकिहालिन्छ नि !’ तथापि, चन्दले कसैको, कहीँ र कतै पनि तीखो आलोचना भने गरेनन् । बरु भने, ‘राजनीतिमा यी र यस्ता कुरा सामान्य र स्वाभाविक नै त हुन् ।’
२०४३ सालमा सम्पन्न राष्ट्रिय पञ्चायत निर्वाचनमा उनी पुनः सदस्य निर्वाचित भए ।
मुलुकमा पञ्चायतविरोधी आन्दोलन चर्किंदै थियो । २०३७ सालमा आन्दोलन मत्थर पार्न राजा वीरेन्द्रले ‘जनमतसङ्ग्रह’को तुरुप फालेका थिए । उक्त तुरुपमा पासा ‘सुधारिएको पञ्चायत’तिरै पल्टाइयो ।
राजनीतिक रूपमा केही खुकुलोपना महसुस गरे पनि जनता पूर्ण रूपमा लोकतन्त्र नल्याई नछाड्ने लडाइँमा थिए ।
यसैबीच २०४६ सालमा पुनः चर्को आन्दोलन सुरु भयो । तत्कालीन वाम घटकहरू र कांग्रेसले संयुक्त आन्दोलनको घोषणा गरे ।
मरिचमानसिंह प्रधानमन्त्री थिए । मरिचमानबाट आन्दोलन मत्थर पार्न सम्भावना देखेननु सायद तत्कालीन राजा वीरेन्द्रले । आन्दोलनरत पक्षसँग संवाद र सहमतिका लागि मध्यस्थकर्ता हुन सक्ने लोकेन्द्रबहादुर चन्दलाई ठाने वीरेन्द्रले । र, २०४६ साल चैतमा २ साताका लागि चन्द पुनः प्रधानमन्त्री बने ।
कतिपयले चन्दलाई ‘१५ दिने प्रधानमन्त्री’ पनि भन्ने गरेका छन्, त्यही सन्दर्भलाई लिएर । तर, चन्द भने त्यो छोटो समयको प्रधानमन्त्रीत्वमा गर्व गर्छन् । भन्छन्, ‘अगाडिका कसैले नगरेका र नसकेका काम मैले १५ दिनमा पूरा पनि त गरेँ । यस कोणबाट कसले हेर्यो ?’
त्यसबेलाका आन्दोलनकारी पक्ष कांग्रेस र संयुक्त वाममोर्चासँग चन्दले अनेकौँ पटक वार्ता गरे ।
राजा वीरेन्द्रले आन्दोलनरत कांग्रेस र संयुक्त वाममोर्चाका नेताहरूसँग कुरा गर्न भने । आन्दोलनकारीरूलाई देश, स्वाधीनता र सार्वभौमिकता चाहिएको हो कि होइन ? सोध्नु भने राजाले । यी कुरा उनीहरूलाई चाहिएको हो भने मात्र यिनीहरूले मागेको दिन आफू तयार रहेको राजाले बताए ।
त्यसपछि चन्दले तीव्र स्तरमा आन्दोलनकारीसँग वार्ता गर्न अलग(अलग टोली बनाएर खटाए । चन्द भन्छन्, ‘कांग्रेसबाट कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र संयुक्त वाममोर्चाबाट सहाना प्रधान, राधाकृष्ण मैनाली आउनुभयो । बैठकमा म पनि बसेँ । सहमति हुने लगभग निश्चित भएपछि गणेशमान सिंह पनि आउनुभयो ।’
२६ चैत २०४६ राती ११ बजे राजा वीरेन्द्रबाट बहुदलीय व्यवस्था घोषणा भयो । राजनीतिक दलहरूमाथिको प्रतिबन्ध हटाइयो । खुला राजनीतिक वातावरण बन्ने निश्चित भयो । यद्यपि, नयाँ संविधान नबनुन्जेल उही पञ्चायती संविधान नै लागू थियो ।
त्यस संविधानअनुसार नयाँ सरकारका लागि बाटो खोल्न चन्दले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्थ्यो । तर, जटिल परिस्थिति उत्पन्न भएमा राजाले खास काम दिएर अन्तरिम सरकार गठन गर्न सक्ने र त्यो सरकार बढीमा ३ महिना कायम रहन सक्ने वा जुन दिन जिम्मा दिएको काम पूरा हुन्छ, त्यो सरकारले राजीनामा दिने भन्ने व्यवस्था संविधानमा थियो ।
नयाँ सरकार गठनका बारे वार्ता चल्दै थियो नेपाल प्रज्ञाप्रतिष्ठानमा । अन्तिम कुरा हुने बेला आफूले जान आवश्यक नभएको महसुस हुँदाहुँदै चन्द वार्ता भइरहेको ठाउँमा गए ।
उनलाई बहुदलेहरूले घेरे । सैनिक वरिपरि ‘स्ट्याण्ड बाई’ थिए । धन्न ! केही भएन ।
‘दरबारबाट हेलिकोप्टर पठाएर रेस्क्यू गर्न सोधिएको थियो’, चन्द भन्छन्, ‘मैले पर्दैन भनेँ ।’
उनी सकुशल रहे । उता, सम्झौता पनि सफल भयो ।
त्यसपछि उनलाई पुनः गर्वको अनुभूति भयो । कारण, धेरैजसो नेपालको राजनीतिक विवाद र मतभेदमा भारत हावी हुने गथ्र्यो । तर, त्यस दिन नेपालभित्रैबाट, नेपालीहरू नै बसेर आफैँ आफ्ना समस्या, विवाद र मतभेद समाधान गरेका थिए ।
‘त्यस बखत मेरो पहलमा जे भयो, त्यो नेपालको इतिहासमै महत्त्वपूर्ण थियो’, चन्द भन्छन्, ‘आपसी विवाद र मतभेदको समाधान हामी आफैँ गर्न सक्छौँ भन्ने महत्त्वपूर्ण सन्देश त गयो नि विश्वमा !’
बहुदलमा समेत प्रधानमन्त्री
निर्दलीय पञ्चायती व्यवस्थामै २ पटक प्रधानमन्त्री बनिसकेका लोकेन्द्रबहादुर चन्द पुनः बहुदलपछि पनि २ पटक प्रधानमन्त्री बने । उसो त अनुदार प्रधानमन्त्रीका रूपमा परिचित सूर्यबहादुर थापा पनि बहुदलपछि प्रधानमन्त्री बने । त्यसभन्दा पनि रमाइलो त २०१७ सालमा शिशु प्रजातन्त्र मार्न राजा महेन्द्रलाई सल्लाह दिने र सहयोग गर्ने डा. तुलसी गिरीसमेत ४४ वर्षपछि पुनः सरकार प्रमुख बनेर आए ।
राजनीतिको बाटो सधैँ सरल मात्र हुँदैन भन्ने उदाहरण थिए यी । राजनीतिको बक्र यात्राले पनि हो चन्दलाई पुनः पुनः प्रधानमन्त्री बनाएको ।
प्रजातन्त्र पुनस्र्थापनापछि सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवाद र जुँगाको लडाइँले ५ वर्षे स्थिर सरकारका लागि जनादेश पाएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार ३ वर्षमै मध्यावधि निर्वाचनमा होमियो । उक्त निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि मिलिजुली सरकारको विकल्प रहेन । ९ महिना धेरै सिट ल्याउने नेकपा एमालेले एकलौटी सरकार चलाए पनि त्यसपछि भने मिलिजुली सरकारकै भर रह्यो, २०५६ को आमनिर्वाचनसम्म ।
यसबीचमा हो ‘पञ्चायत’का पक्षपोषक मानिएका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूको समेत सत्तामा हालिमुहाली चलेको । साना दलका रूपमा रहेका राप्रपालगायतका दल नै त्यसबेला सरकार निर्माणका निर्णायक दल बने । हो, यहीबेला सूर्यबहादुर थापादेखि लोकेन्द्रबहादुर चन्दसम्मले पुनः सरकारको नृतृत्व गर्ने अवसर पाए ।
यही क्रममा लोकेन्द्रबहादुर चन्द २०५३ सालमा तेस्रो पटक मुलुकका प्रधानमन्त्री बने । उनी यसबेला केही महिना प्रधानमन्त्री बनेका थिए ।
थाहै नपाई जिम्मेवारी
१८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ घोषणा गरे । देउवाले स्थानीय निर्वाचन गराउन नसक्ने निवेदन दरबार समक्ष गरेपछि राजालाई उनलाई अक्षम घोषणा गर्न सजिलो बनाइदियो ।
देउवालाई हटाएपछि चन्दलाई बोलाए राजा ज्ञानेन्द्रले र सरकारको नेतृत्व लिइदिन भने । अचानक सोच्दै नसोचेको कुरा उनमा आइलाग्यो । भन्छन्, ‘मैले कुनै पत्तो नै पाइनँ । अचानक राजाले बोलाएर सरकारको नेतृत्व लिइदिन भनेपछि नाइँ भन्न पनि सकिनँ ।’
चन्दका अनुसार राजाले त्यसबेला सशस्त्र द्वन्द्वरत नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएका थिए । तर, चन्दलाई भने माओवादीसँगै अन्य संसदवादी राजनीतिक दलहरूलाई पनि ‘कन्भिन्स’ नगरी समस्या समाधान हुन्छ भन्ने विश्वास थिएन ।
भन्छन्, ‘वार्ताका पहल त मैले निकै गरेँ तर सफल भएनन् । मेरो जिम्मेवारी पूरा नहुने देखेपछि मैले राजीनामा गरेँ ।’
उनीपछि सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए राजाले । तर, चन्दलाई भने राजाको यो काम अस्वाभाविक लाग्यो । ‘मबाट सम्भव नभएपछि राजाले बुझ्नुपर्थ्यो कि अन्य राजनीतिक दलका नेतालाई सरकार सुम्पिनुपर्छ तर राजाले यो कुरा नबुझेको हो ।’
उनको आसय कांग्रेस वा एमालेकै नेतालाई सरकारको जिम्मेवारी दिइनुपर्छ भन्ने थियो । तर, राजा ज्ञानेन्द्रले उनको प्रस्ताव मानेनन् । त्यसबेला नेकपा एमालेका नेता माधवकुमार नेपालको नाम प्रधानमन्त्रीमा सिफारिस गरेको चन्द बताउँछन् । राजाले जंगलमा (माओवादी) र सरकारमा (एमाले) दुवैतिर कम्युनिस्ट रहनु आफ्नालागि घातक हुने निष्कर्ष निकाले तर्सिएका चन्दको बुझाइ छ ।
यस पटक पनि उनी २० महिना नै प्रधानमन्त्री बने ।
१९ माघ : राजालाई हस्तक्षेप नगर्न सल्लाह
१९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले मुलुकको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिने निर्णय गरे । त्यसको केही दिनअघि मात्र राजाको यस्तो कदमको सङ्केत पाएका थिए चन्दले । यस्तो अवस्थामा राजाले प्रत्यक्ष शासनको लोभ गर्नु र अप्रिय निर्णय लिनु उपयुक्त नुहुने कुरामा उनी प्रस्ट थिए ।
चन्दले राजालाई सुझाव पठाए– यस्तो अप्रिय कदमका लागि अहिले उपयुक्त समय होइन । कुनै पनि हालतमा यस्तो नगरियोस् ।
तर, चन्द मात्र थिएनन् राजाका सल्लाहकार । चन्दभन्दा भयानक निकटकाहरू थिए राजालाई यस्तो कार्य गर्न उत्प्रेरित गर्ने । अनेक स्वार्थ समूह र व्यक्तिका कारण राजा ज्ञानेन्द्रले अन्ततः त्यही अप्रिय निर्णय गरी छाडे अर्थात् निरङ्कुश शासक बन्ने महत्त्वाकाङ्क्षामा सर्वसत्तावादी बने ज्ञानेन्द्र ।
चन्द आफूलाई राजाले महान् वा चतुर तथा कूटनीतिज्ञका रूपमा नभएर सामान्य सहजीकरण र मध्यस्थता गर्न सक्ने व्यक्तिका रूपमा हेरेर उक्त जिम्मेवारी दिएको बताउँछन् । उनी आफूलाई पदप्रति अनाशक्त व्यक्तिका रूपमा दाबीसमेत गर्छन् । उनका अनुसार उनले जे जति राजनीतिक जिम्मेवारी पाए, त्यो समय र परिस्थितिले दिएको जिम्मेवारी भएको बताउँछन् ।
आलङ्कारिक राजाका पक्षमा
२०६२/०६३ को दोस्रो जनआन्दोलन भयो । १९ दिनसम्म चलेको आन्दोलनका कारण मुलुक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा प्रवेश गर्यो ।
जनताबाट जनताका लागि जनताकै संविधान बनाउने नेपाली जनताको लामो समयदेखिको चाहना पूरा गर्न भनेर २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । चन्द पहिलो संविधानसभामा सभासद् निर्वाचित भए ।
गणतन्त्रका लागि मतदान भयो । केहीले गणतन्त्रको विपक्षमा मतदान गरे । राप्रपा, जो ‘मण्डले’हरूको पार्टी भनेर चिनिन्थ्यो अर्थात् राजावादीहरूको पार्टी भनेर चिनिएको थियो, त्यसकै नेता चन्दले भने गणतन्त्रकै पक्षमा मतदान गरे ।
माथि नै भनिएझैँ राजनीतिको यात्रा सरलरेखामा हुँदैन भन्ने कुराको पुनः पुष्टि भयो । राजनीतिक माहोल र मुलुकको तत्कालीन अवस्थालाई मध्यनजर गर्दै राजनीतिक नेतृत्वले निर्णय गर्नुपर्ने अवस्था पनि आउनेरहेछ । चन्दको गणतन्त्रलाई भोटले यही कुरा बताउँछ ।
यद्यपि, चन्दलाई अहिले पनि उक्त निर्णय सही र आवश्यक लाग्दैन । उनले दोस्रो जनआन्दोलनका क्रममा न त राजतन्त्रका विरुद्ध वा गणतन्त्रका नाममा आन्दोलन भएको थाहा पाए, न धर्मनिरपेक्षताका सवाल नै उठेका सुने आन्दोलनका क्रममा । तर, अचानक राजतन्त्र हटाइयो, धर्मनिरपेक्षतामा मुलुकलाई ठेलियो र संघीयतामा धकेलियो ।
‘यी कुनै पनि कुरा दोस्रो जनआन्दोलनका क्रममा उठेका थिएनन्’, चन्द भन्छन्, ‘किन र कसरी यी निर्णय भए, अचम्म लागेको छ ।’
उसो त चन्दलाई यस्ता महत्त्वपूर्ण र ऐतिहासिक निर्णय लिइँदा निश्चित प्रक्रिया अपनाइनुपर्थ्यो भन्ने लाग्छ । ती प्रक्रिया नअपनाई गरिएका यस्ता निर्णयप्रति उनको असन्तुष्टि पनि कताकती छल्किन्छ ।
उनी अझै पनि राज संस्थालाई निरन्तरता दिइनुपर्ने धारणामा छन् । हाम्रो सामाजिक व्यवस्थामा पनि परिवारमा कुनै व्यक्ति केन्द्रका रूपमा रहेकै हुनाले मुलुकको अभिभावकका रूपमा राज संस्थालाई आलङ्कारिक वा सांस्कृतिक रूपमै भए पनि राख्न सकिने उनको तर्क छ । ‘राष्ट्रपतीय प्रणालीमा पनि राजसंस्थालाई अटाउने बाटो निकाल्न सकिन्छ’, चन्द भन्छन्, ‘यसका लागि जिम्मेवार राजनीतिक दलहरूको इच्छाशक्ति आवश्यक छ ।’
साहित्ययात्रा
लोकेन्द्रबहादुर चन्द ४ पटक प्रधानमन्त्री भएका राजनीतिज्ञ हुन् तर उनको व्यक्तित्व राजनीतिकभन्दा पनि साहित्यिक अझ चम्किलो छ । उनी कुशल साहित्यकार पनि हुन् । उनका एक दर्जन साहित्यिक कृति प्रकाशित छन् भने केही पुस्तक प्रकासनको तयारीमा छन् ।
उनको साहित्ययात्रा भारतमा विद्यालयमा पढ्दैदेखि सुरु भएको हो । पिथौरागढमा पढ्दै गर्दा उनले हिन्दी भाषामा कविता लेखेका थिए । उनलाई डेरामा ट्युसन पढाउने गुरु आफैँ कवि थिए । उनै कवि गुरुले चन्दालाई कविता लेख्न प्रोत्साहन गरेका चन्द बताउँछन् ।
उनलाई मधुरो याद छ, उनको पहिलो कविता फूल र नदीको विषयमा थियो । तर, त्यसबेला उनले नेपालीमा नभएर हिन्दीमा कविता लेखेका थिए । भन्छन्, ‘बेलायतमा भएको भए अंग्रेजीमा लेख्थेँ होला, भारतमा थिएँ, हिन्दीमा लेखेँ ।’
उनले २०१७ सालदेखि मात्र हो नेपाली भाषामा साहित्य लेख्न थालेको । कविता लेखिरहेका चन्दलाई २०१८ सालमा आएर कथा लेख्न भन लाग्यो । त्यसबीचमा केही कथा लेखे उनले । यही क्रममा एकाङ्कीतिर उनको कलम दौडियो । उसो त उनले पूर्णाङ्की पनि लेखेका छन् तर प्रकाशन भएको छैन ।
चन्दको कलम कविताबाट कथा, एकाङ्की, पूर्णाङ्की हुँदै अब प्रहसनतिर मोडियो । उनले केही प्रहसनहरू पनि लेखे समयक्रमसँगै । एउटा प्रहसन ‘ठकठकेहरू’माथि त टेलिफिल्म नै बन्यो ।
उनले साहित्य लेख्दालेख्दै साहित्यका सबै विधामा कलम चलाए । काव्य (कविता) त उनले लेखनको सुरुवातमै लेखेका हुन् । त्यसपछि आख्यान (कथा) लेखे, विस्तारै नाटक (एकाङ्की/पूर्णाङ्की) पनि लेखे । अब लेख्न बाँकी थियो, निबन्ध ।
उनले निबन्ध पनि लेखे । ‘बाह्रौँ खेलाडी’, जुन उनको अत्यन्त चर्चित र लोकप्रिय निबन्ध कृति हो र उनको अर्को परिचय पनि बनेको छ, यो कृति प्रकाशन गरे । खासमा यो कृति व्यंग्य भएको तर धेरैले मनपराइदिएको उनको भनाइ छ ।
उनले ‘विसर्जन’ लेखे र यस कृतिले २०५४ सालको मदन पुरस्कार पनि प्राप्त गर्यो । तर, चन्दलाई विसर्जनले भन्दा बाह्रौँ खेलाडीले नै आजसम्म बढी चर्चा, लोकप्रियता र सम्मान दिइरहेको उनकै स्वीकारोक्ति छ ।
‘बाह्रौँ खेलाडी’ र ‘कुर्सी’ (व्यंग्य निबन्धसङ्ग्रह), ‘नेताका साथी’ (व्यंग्यप्रधान एकाङ्की), ‘हिउँको तन्ना’, ‘विसर्जन’, ‘रात्रि भोज’, ‘पाहुना घर’, ‘द लेमिङ्ग्स’ (अंग्रेजी) (कथासङ्ग्रह), ‘अपरिचित’, ‘सन्ध्यावली’, ‘तिम्रो झलक’, ‘इन्द्रधनुष’ (हिन्दी) (कवितासङ्ग्रह) उनका हालसम्म प्रकाशित कृतिहरू हुन् ।
अबको लेखन
चन्दले अहिले उमेरले ८ दशक पार गरेका छन् । निवासभित्रै लौरो टेकेर मर्निङ वाक गर्ने र घरभित्रै रमाउने गरेका छन् धेरैजसो समय । तथापि, उनको लेखनप्रतिको समर्पण र ऊर्जा भने अझै युवा नै छ ।
उनी आज पनि एउटा सामाजिक उपन्यास लेखिरहेका छन् । उक्त उपन्यास अन्तिम चरणमा पुगेको उनको भनाइ छ । उपन्यासको न्वारन गरिसकेका छन्, ‘अपराजिता ।’
नामबाटै अनुमान लगाउन सकिन्छ कि उक्त उपन्यास कुनै हार्न चनाहने वा नहार्ने महिलामाथि लेखिएको छ ।
केही पुराना लेख, रचनाका पाण्डुलिपि पनि छन् चन्दसँग । तिनलाई व्यवस्थित गरेर प्रकाशन गर्न राम्रो सम्पादक र प्रकाशकको खोजी पनि गरिरहेका छन् चन्द ।
सम्मान र पुरस्कार
चन्दले मदन पुरस्कारलगायत विभिन्न सम्मान, पुरस्कार र विभूषण प्राप्त गरेका छन् ।
त्रिशक्ति पट्ट १ र २, गोरखा दक्षिण बाहु २, नाइट ग्राण्ड क्रस (बेलायत), कोरोनेसन मेडल, सामाजिक सेवा पदक, वीरेन्द्र–ऐश्वर्य सेवा पदक आदि सम्मान र पुरस्कार प्राप्त गरेका छन् चन्दले ।
अभिभावकीय सन्देश
चन्द नेपाली राजनीति र साहित्यका क्षेत्रमा अब अभिभावक बनिसकेका छन् । लामो राजनीतिक यात्रा र साहित्य लेखन अनुभव सँगालेका चन्दबाट नेपाली राजनीतिक नेतृत्व र साहित्यिक व्यक्तिहरूले सिक्नुपर्ने धेरै कुरा छन् । उनीबाट ग्रहण गर्नुपर्ने सन्देशहरू प्रशस्त छन् ।
भलै, चन्दको राजनीतिक धार, विचार वा दर्शन फरक किन नहोस्, उनीबाट राज्य सञ्चालनका विषयमा, राष्ट्रियताका विषयमा र राजनीतिक, कूटनीतिक विषयमा लिनुपर्ने कुराहरू पक्कै छन् ।
उनी वर्तमानमा राष्ट्रका लागि सबै पक्षको एक मत, ऐक्यबद्धता, मिलेमतो आवश्यक रहेको बताउँछन् । हरेक सङ्कटका घडीमा सबै पक्षको सबल र सशक्त एकता अनि सहकार्यले मात्र देश र जनता बलियो हुने चन्दको विश्वास छ ।
‘व्यक्ति वा समूहलाई आजका दिनमा गौण ठान्नुपर्छ’, चन्द भन्छन्, ‘सिस्टम महत्त्वपूर्ण र प्राथमिक कुरा हो । सिस्टम बलियो र प्रभावकारी नहुन्जेल जुनै व्यवस्था वा नेतृत्व आए पनि केही हुँदैन ।’
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७ ०८:००