अविरल परेको वर्षका कारण म्याग्दीमा गएको पहिरोमा परेर बेपत्ता भएको २० जनाको शव भेटिएको छ ।
शुक्रबार बिहानपख गएको पहिरोमा परी धवलिगिरी, मालिका र रघुगंगा गाउँपालिकामा ३४ जना बेपत्तामध्ये २० जनाको शव भेटिएको हो ।
बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले शनिबार दिउँसोसम्म पहिरोमा पुरिएर बेपत्ता भएका २० जनाको शव फेलापारेका हुन् ।
पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकीको शव शनिबार भेटिएको हो ।
जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रमुख डीएसपी किरणजङ कुँवरले हालसम्म धवलागिरी–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको बताए ।
उनका अनुसार धवलागिरी–६ कल्लेनीका १८ वर्षीय प्रकाश केसी, राम्चेका सुकना लामगादे, आशीष दामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको छ ।
प्रहरीका अनुसार बिमकी विष्णु शर्मा, ईच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, विष्णु नेपाली, सन्दीप नेपालीको शव भेटिएको छ ।
लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो । मराङको रिखको पहिरोमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीय दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन् ।

कल्लेनीका ५१ वर्षीय जनिमा केसी र १६ वर्षीय सबिन पुनको खोजी भइरहेको छ । दुखुखोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की ४० वर्षीया गीता रोकाको अवस्था पनि अज्ञात छ ।
बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् ।
पहिरोमा परेर घाइते भएका मराङका २ र बिमका १ जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पहिरोमा परी गम्भीर घाइते भएका केहीलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । केही घाइतेहरूको बेनी अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७ १९:०८