अविरल वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा बाढीपहिरो जाँदा ४३ जना बेपत्ता भएका छन् ।
पहिरोले बगाएर धवलागिरी र मालिका गाउँपालिकाका ३४ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी १ जनाको शव फेला परेको छ ।
विभिन्न स्थानीय तहका जनप्रतिनिधिले १० जनाको मृत्यु भएको जानकारी गराए पनि पुष्टि भइनसकेको डीएसपी कुँवरले बताए । पहिरोले सडक अवरुद्ध गरेपछि प्रहरी घटनास्थल पुग्न समस्या भएको उनले बताए ।
पहिरोका कारण मराङमा रिखका भीमप्रसाद जुग्जालीको घरका ४ र धनबहादुर जुग्जालीको घरका ३ जना बेपत्ता भएका डिएसपी कुँवरले जानकारी दिए । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले ३ वटा घर बगाउँदा ३ जना पनि बेपत्ता भएका छन् ।
त्यस्तै, मालिका गाउँपालिका-७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन् ।
वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छन् । त्यस्तै, बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा ५ जना वेपत्ता भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् ।
भारवाङस्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएपछि आगमन नै ठप्प भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, जिल्लाको रघुगंगा गाउँपालिका-३ पिप्ले र बेनी नगरपालिका जोड्ने मोटरेबल पुल नदीले बगाएको छ ।
बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७ १२:५७