सत्तारूढ दलभित्र सत्ता सञ्चालनको विषयमा व्यापक असन्तुष्टि चल्दै गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई ढुक्क भएर काम गर्नको लागि निर्देशन दिएका छन् । शनिबार मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
उनले पार्टी पनि नफुट्ने र सरकार पनि नढल्ने भएकोले ढुक्कसँग काम गर्नको लागि आग्रह गरेको बैठकमा सहभागी केही मन्त्रीले बताएका छन् । 'तपाईंहरू ढुक्क भएर काम गर्नु, केही उथलपुथल हुनेवाला छैन,' प्रधानमन्त्रीको भनाइ उद्धृत् गर्दै सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले भने, 'तपाईंलाई अन्योल नहोस् भनेर मैले बोलाएका हुँ।'
ओलीले अर्को दिन मन्त्रीहरूसँग यस विषयमा थप छलफल गर्ने प्रतिबद्धतासमेत गरेका छन् । 'अर्को दिन फेरि कुरा गरौँला आज ढिला भयो, ढुक्कसँग काम गरे हुन्छ' ओलीले मन्त्रीहरूलाई भनेका थिए ।
उनले कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण र कोरोना संक्रमण न्यूनीकरणको लागि काम गर्नको लागि पनि निर्देशन दिएका छन् । बाढी पहिरोको सम्भावना देखिउको भन्दै उनले जोखिम न्यूनीकरणको लागि काम गर्न पनि आग्रह गरेका थिए ।
मन्त्रीहरूलाई बालुवाटार बोलाउनुअघि प्रधानमन्त्रीले शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७ २१:३६