प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार अभावमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाका लागि न्याय माग्दै जनकपुरमा भएको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।
दलित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनको क्रममा प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको हो । सयौँको संख्यामा गाउँ–गाउँबाट आएका प्रदर्शनकारी तोडफोमा उत्रिएपछि प्रदेश-२ का मुख्यमन्त्री कार्यालयनजिक अश्रुग्यास प्रहार र हवाय फायर गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।
प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी तोडफोड गर्न खोजेका थिए । प्रहरीले हवाई फायर र अश्रुग्यासबाट कसैको क्षति भएको नभएको बताएको छ ।
आरडीटी रिपोर्ट पोजिटिभ आएपछि २९ जेठमा प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएका धनुषाको हंशपुर नगरपालिका ७ प्रसाहीका १६ वर्षीय सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको थियो । पछि राजुलाई झाडापखालासमेत लागेपछि कोरोना भन्दै चिकित्सकहरू उनको उपचारमा उदासीन रहे । मृत्युपछि उनमा कोरोना नरहेको पुष्टि भएको थियो ।
सदाको घटनाको विषयमा छानबिन गर्न प्रदेश २ काे संसदले अध्ययन विशेष समिति पनि गठन गरेको छ । प्रदेशसभा बैठकमा गत आइतबार प्रादेशिक अस्पताल जनकपुरधाममा भएको घटनालाई छानबिन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरिएको हो ।
समितिमा प्रदेशसभा सदस्य रवीन्द्र बैठा, चमेली देवी दास, सुरीता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य छन् । सभामुख सरोज राय यादवको निर्देशनमा रही समितिले आवश्यकताअनुसार विशेषज्ञलगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्ने, अनुगमन वा निरीक्षण गर्न सक्ने, विभिन्न मन्त्रालय वा कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने र पदाधिकारीहरूसँग छलफल गर्न सक्ने गरी समितिको कार्यविधि बनाइएको सभामुख सरोज कुमार यादवले जानकारी दिए । समितिलाई प्रतिवेदन बुझाउन ५ दिनको समयसीमा दिइएको छ ।
यस घटनाको छानबिन गर्न प्रदेश सरकारले समेत स्वास्थ्य निर्देशनालयका संयोजक डा. हरिश्चन्द्र साहको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिसकेको छ । समितिका सदस्यहरूमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख नवल किशोर झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान छन् ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७ १६:५५