सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अश्लील टिप्पणी गरेको आरोपमा पोखराबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-१९ का दुर्गादत्त बाँस्तोलालाई सामाजिक सञ्जाल प्रयोगगरी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीप्रति निकृष्ट शब्द प्रयोग गरेर गालीगलौज गरेको अभियोगमा जिल्ला प्रहरी कास्कीले पक्राउ गरेको हो ।
साइबर क्राइम ब्यूरो काठमाडौंमा बाँस्तोलाविरुद्ध विद्युतीय कारोबार ऐन (साइबर क्राइम) मा उजूरी दर्ता भएपछि ब्यूरोको समन्वयमा पक्राउ गरि कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
‘सामाजिक सञ्जालमार्फत बाँस्तोलाले अश्लील टिप्पणी गरेको उजूरी साइबर क्राइम ब्यूरो काठमाडौंमा परेपछि ब्यूरोको आग्रहमा हामीले पक्राउ गरेका हौँ’ उनले भने, ‘पक्राउ परेका उनलाई आवश्यका अनुसन्धानका लागि साइबर ब्यूरो काठमाडौं पठाउँछौँ ।’
प्रहरी प्रमुख श्रेष्ठले बास्तोलाले अश्लील टिप्पणी गरेको भन्दै उजूरी गर्न केही व्यक्ति जिप्रका कास्कीमा आएपछि साइबर क्राइमको मुद्दा काठामाडौंमा मात्र दर्ता हुने भएकाले मुद्दा दर्ता साइबर क्राइम ब्यूरोमा दर्ता गर्न सुझाएको बताए ।
बाँस्तोलालाई पक्राउ गर्न प्रहरी टोली सोमबार अपरान्ह पुरञ्चौरस्थित उनकै निवासमा गएको थियो । बाँस्तोलाविरुद्ध शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले सम्माननीय व्यक्तिहरूमाथि ज्यादै नीच शब्द र घृणाजन्य टिप्पणी सामाजिक सञ्जालमा गरेको भन्दै जाहेरी दिएका हुन् । सोही जाहेरीका आधारमा उनलाई साइबर क्राइम गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।
बाँस्तोला नेपाली कांग्रेस सकृय कार्यकर्ता र स्थानीय नेतासमेत रहे पनि पटकपटक अनुशासनहीन काम गरेको भन्दै नेपाली कांग्रेस कास्कीले समेत पार्टीबाट निस्कासन गर्न सिफारिस गरिसकेको छ ।
कांग्रेसका सक्रिय सदस्य तथा स्थानीय तहका नेतासमेत रहेका उनलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाहीका लागि जिल्ला कार्य समितिमा सिफारिस भइसकेको नेपाली कांग्रेस कास्कीले जनाएको छ ।
उनी साविकको पुरञ्चौर गाउँ विकास समितिका कांग्रेसका सभापति थिए । उनी गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका-१९ मा कांग्रेसको तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनी पराजित भएका थिए ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७ २०:१४