नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारदेखि सुरु हुने भनिएको स्थायी कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) एजेण्डा नबन्ने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक भएका छलफलपछि सो एजेण्डा तय नहुने भएको हो । भोलिदेखि बैठक सुरु हुने भनिए पनि अझैसम्म एजेण्डा तय भइसकेको छैन ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा स्थायी कमिटी सदस्य विष्णु रिमालले केन्द्रीय कमिटीले निर्णय गर्ने अधिकार सचिवालयलाई दिइसकेकाले एजेण्डा बन्न नसक्ने जनाएका हुन् ।
‘पुस १५–१९ को केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको छ, कार्यदलले सचिवालयमा प्रतिवेदन पेस गरिसकेको छ, अब एमसीसीका बारेमा सचिवालयले नै निर्णय लिन्छ,’ रिमालले शिलापत्रसँग भने, ‘स्थायी कमिटीमा कुरा उठन सक्छ तर त्यसको औपचारिक रूपमा अर्थ हुने भने छैन ।’
उनका अनुसार सचिवालयलाई जिम्मा दिइएको विषयलाई स्थायी कमिटीमा लैजान प्रक्रियासम्मत पनि छैन ।
अमेरिकी सहयोग एमसीसीका बारेमा सत्तारुढ नेकपाभित्र निकै नै किचलो भएपछि गत पुस १५–१९ मा बसेको केन्द्रीय कमिटीले पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले सचिवालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन सचिवालयमा नै टुंग्याएर प्रतिनिधिसभामा छलफल चलाउने पक्षमा ओली र दाहाल लगभग सहमत भइसकेका छन् ।
यसअघि नै स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्नका लागि प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षसमेत रहेका प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेललाई एजेण्डा तय गर्नका लागि निर्देशन दिएका थिए । जसअनुसार अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले हालसम्म पनि एजेण्डा तय गर्न नसकेपछि दुवै अध्यक्ष बितेका ३ दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् ।
‘स्थायी कमिटीको छलफलको विषय के हो ? भन्ने अहिलेसम्म एजेण्डा तय भइसकेको छैन, अध्यक्षद्वयबीच छलफल जारी छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शिलापत्रसँग भने ।
उता, स्थायी कमिटी बैठकमा बलियो बन्नका लागि प्रधानमन्त्री ओलीले पूर्वमाओवादीनिकट नेताहरूसँग पनि निरन्तर छलफल गरिरहेका छन् । टोपबहादुर रायमाझीलाई बालुवाटार निवासमा नै भेटेका ओलीले स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र मणि थापालगायतलाई आफ्ना प्रतिनिधिमार्फत काबेरी होटल, गौशालामा छलफलसमेत गरेका थिए ।
‘पार्टी एकतालाई कसरी मजबुत बनाएर लैजाने भन्नेमा हामीबीच छलफल भएको हो, स्थायी कमिटीलाई मर्यादित र बलियो एकताको सन्देश दिनका लागि उक्त छलफल भएको हो,’ पौडेलले शिलापत्रसँग भने ।
अर्का स्थायी कमिटी सदस्य थापाले भने सो भेटघाट योजनावद्ध नभई संयोगले भएको जनाएका छन, उक्त छलफलमा रायमाझी, पौडेल र थापासहित प्रधानमन्त्रीका सल्लाहकारद्वय रिमाल र राजन भट्टराईलगायत उपस्थित थिए ।
त्यसो त स्थायी कमिटी बैठकमा एमसीसी एजेण्डा नबन्ने भए पनि प्रधानमन्त्री ओलीले सो सम्झौताबारेमा जवाफ दिन प्रचण्डसँग आग्रह गरेका छन् । ‘तपाईहरूले (कांग्रेस–माओवादी सरकार)ले सो सम्झौता गरेकाेले आफू त्यसबारेमा धेरै जानकार नभएको भन्दै स्थायी कमिटीमा आवश्यक परे प्रचण्डले दिनुपर्ने तर्क प्रधानमन्त्रीले गर्नुभएको छ,’ प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले शिलापत्रसँग भने, ‘पार्टीमा प्रचण्डले र संसदमा आफूले जवाफ दिने प्रधानमन्त्रीको भनाइ आएको छ ।’
उनका अनुसार स्थायी कमिटी बैठकमा ओलीले केही कुरा बोले पनि सदस्यहरूले उठाएका प्रश्नको जवाफ भने प्रचण्डले दिने सम्भावना छ ।
अमेरिकासँग २९ भदौ, २०७४ मा एमसीसी सम्झौता हुँदा काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार थियो, सो सरकारमा मुख्य घटकको रूपमा तत्कालीन नेकपा माओवादी केन्द्र रहेको उल्लेख गर्दै सो सम्झौताका बारेमा स्थायी कमिटीमा उठ्न सक्ने प्रश्नको जवाफ प्रचण्डले दिनुपर्ने तर्क प्रधानमन्त्री ओलीको रहेको उनीनिकट स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७ १५:०६