बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी आइतबार २८ जनाले ज्यान गुमाए । ३ हजार बढी घर क्षतिग्रस्त भए । आइतबार साँझ अकस्मात् आएको हावाहुरीले सबैभन्दा बढी भौतिक र मानवीय क्षति बाराका भरबलिया, पुरैनिया, धर्मनगर, हर्दिया र तेलकुवा गाउँमा गर्योे । हावाहुरीले भत्काएको संरचना बनाइदिने जिम्मा हाल सरकारले नेपाली सेनालाई दिने निर्णय गरेको छ ।
यस्तै, गत साउनमा आएको पहिरोमा परी रसुवाको टिमुरेमा पाँचजनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा चारजना सिन्धुपाल्चोकका थिए । १७ साउन २०७१ मा सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोमा परी १ सय ४५ जनाले ज्यान गुमाएका थिए । सय बढी घरमा क्षति पुगेको थियो ।
२०७२ सालमा आएका भूकम्पमा ८ हजार बढीको ज्यान गयो । लाखौंको संख्यामा घरहरूमा क्षति भयो ।
नेपालमा विभिन्न समयमा आएका प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेको संख्या अधिक छ । नेपाल प्रहरीको तथ्यांकका अनुसार नेपालमा आगलागी, बाढी, पहिरो, हावाहुरी, चट्याङ, महामारी, हिमपात, शीतलहर, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण मानिसले दैनिकजसो ज्यान गुमाउने गरेका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७३ देखि हालसम्म प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३२० जना पुगेको छ ।
त्यसमध्ये सबैभन्दा बाढी, पहिरो, चट्याङ र आगलागीबाट मर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७३ यता बाढी–पहिरोमा परी ३६९ जनाले ज्यान गुमाएका छन् भने चट्याङबाट मर्नेको संख्या २५२ रहेको छ । यस्तै, आगलागीबाट १८५ जनाले ज्यान गुमाएका छन् ।
क्षतिको कारण कमजोर भौतिक संरचना
प्रहरीका अनुसार विभिन्न प्राकृतिक विपत्तिमा भौतिक संरचना निर्माणमा ध्यान नदिँदा क्षति हुने गरेको देखिएको छ । आइतबार बारा र पर्सामा आएको हावाहुरीमा समेत भौतिक संरचनाकै कारण ठूलो क्षति भएको प्रहरीको भनाइ छ ।
प्रहरी प्रवक्ता एसएसपी उमेश जोशीका अनुसार बारा र पर्सामा अधिकांश क्षतिग्रस्त घर पिलर नहाली निर्माण गरिएका कारण हावाहुरीले ढालेको हो । त्यस्तै, आगलागीमा समेत मान्छेको लापरबाहीका कारण धेरै ठाउँमा धनजनको क्षति हुने गरेको उनको भनाइ छ ।
प्राकृतिक विपत्ति कहिले आउँछ भन्ने पूर्वजानकारी नहुने भए पनि यसबाट बच्न पहिला नै केही सतर्कता अपनाएमा विपत्तिबाट बच्न सकिने उनको तर्क छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५ २३:०९