सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन कार्य फेरि रोकिएको छ । यसअघि परीक्षण क्षमता पर्याप्त नहुँदा रोकिएको स्वाब सङ्कलन कार्य बीचमा सुचारु भए पनि अहिले भीटीएम (स्वाब राख्ने भाँडो) नहुँदा रोकिएको हो ।
थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भीटीएम) नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब सङ्कलन मंगलबारदेखि पूर्ण रूपमा रोकिएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।
‘स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भीटीएमको मौज्दात सकिएको छ’, डाक्टर अवस्थीले भने, ‘भीटीएम सकिएपछि अहिले पूर्ण रूपमा स्वाब सङ्कलनको कार्य पनि रोकिएको छ ।’
उनले भीटीएम संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरिएको बताए । मंगलबारयता सुदूरपश्चिम प्रदेशमा शंकास्पद र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको समेत स्वाब सङ्कलन हुन सकेको छैन ।
यसअघि सङ्कलन गरिएका २ हजार ६६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकाेमा अब धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी-पीसीआर मेसिनमा स्वाब नभएर परीक्षण नै बन्द हुने देखिएको छ ।
यसअघि सुदूरपश्चिममा प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले ५ दिनका लागि स्वाब सङ्कलन रोकिएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७ १४:१०