प्रदेश-२ मा पछिल्लो २४ घण्टामा १ सय ७४ व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । जसमा ७ महिला र १ सय ६७ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय २३ पुगेको छ । आज संक्रमण पुष्टि भएकाहरूमध्ये सप्तरी जिल्लाका १६ जना, महोत्तरी जिल्लाका १२ जना, सर्लाही जिल्लाका १ सय २० जना, रौतहट जिल्लाका ११ जना, बारा जिल्लाका ७ जना र पर्सा जिल्लाका ८ जना रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
यस प्रदेशमा सोमबारसम्म २६ हजार ३ सय १२ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा १ हजार ३ सय २३ जना संक्रमित भएका छन् भने १२ हजार ६ सय ९ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै, १२ हजार ३ सय ८० जनाको नतिजा आउन बाँकी रहेको छ ।
आरडीटीतर्फ अहिलेसम्म १० हजार ८ सय ६७ जनाको परीक्षण गरिएकोमा ४ सय १६ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने १० हजार ४ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको सचिव घिमिरेले बताए ।
प्रदेशमा संक्रमित १ हजार ३ सय २३ मध्ये सबैभन्दा बढी रौतहटका ४ सय ८ जना रहेका छन् । त्यस्तै, ३ सय ७० जना सर्लाहीका, १ सय २२ जना पर्साका, १ सय ४ जना महोत्तरीका, १ सय १ जना धनुषाका, ९२ जना सप्तरीका, ७७ जना बाराका र ४९ जना सिरहाका व्यक्ति छन् ।
प्रदेश २ को आठवटै जिल्लाका विभिन्न ठाउँहरूमा निर्माण गरिएको ३१ हजार ३ सय ४६ बेड क्षमताका ४ सय १८ वटा क्वारेन्टाइनमा अहिले २० हजार ९ सय २ जनालाई राखिएको छ भने ५ हजार ७ सय १३ जनालाई होम क्वारेन्टाइनमा पठाइएका छन् ।
प्रदेशका आठवटै जिल्लाको विभिन्न ठाउँहरूमा सञ्चालनमा रहेको १ हजार ३ सय ८३ बेड क्षमताको आइसोलेसनमा ७ सय ६५ जना बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले जानकारी दिए । प्रदेश-२ मा आज मात्रै २३ जना व्यक्तिहरू निको भएसँगै यस प्रदेशमा अहिलेसम्म २ सय २६ जना व्यक्तिहरू उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७ १७:२६