सरकारले विदेशबाट नेपाल आएका नेपालीले आफ्नै खर्चमा बस्नका लागि पहिलो चरणमा उपत्यकामा ४३ वटा होटलको सूची सार्वजनिक गरेको छ । होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले चारतारेदेखि पर्यटकीयस्तरका होटलको सूची सार्वजनिक गरेको हो ।
सरकारले गत शुक्रबारदेखि विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन थालेको छ । स्वदेश आएकालाई प्रदेश र स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको छ भने त्यसबापत खाना र बस्नका लागि खर्च व्यक्तिले नै बेहोर्नु पर्दैन तर उक्त क्वारेन्टिनमा बस्न नचाहने तथा नेपाल आएर आफैँ खर्च गरेर क्वारेन्टाइनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय यसअघि गरिसकेको छ ।
चारतारे होटलको एक बेड भएको कोठाका लागि ८ हजार र २ बेड भएको कोठाका लागि प्रतिबेड ५ हजार ५ सय रूपैयाँ तोकिएको छ । यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार, २ जना बस्न चाहनेका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रूपैयाँ निर्धारण भएको होटल सङ्घले जनाएको छ । यसैगरी दुईतारे होटलमा एक्लै बस्न चाहेका लागि ५ हजार र २ जनाका लागि प्रतिव्यक्ति २ हजार ५ सय रूपैयाँ तय भएको छ । यसमा ४ पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ ।
त्यसैगरी एकतारेका हकमा भने एक्लै बस्न चाहनेका लागि ४ हजार र २ जना बस्दा प्रतिव्यक्ति २ हजार ५ सय रूपैयाँ तोकिएको छ । साथै पर्यटकीयस्तरका होटलको हकमा एक्लैका लागि ३ हजार र २ जनाका लागि प्रतिव्यक्ति २ हजार रूपैयाँ निर्धारण गरिएको भएको छ । सङ्घका अनुसार यो मूल्यमा करसमेत जोडिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७ ०६:५९