‘मिडियम वेभ ५७६ किलोहर्जमा यो रेडियो नेपालको सुर्खेत क्षेत्रीय प्रसारण हो । अब तपाईंहरूलाई केही भाषाभाषीका गीतहरू सुनाउँछौँ । सुरुवातमा लालबहादुर चौधरी र साथीहरूको स्वरमा यो गीत सुन्नुहोस् ।’
चर्चित रेडियोकर्मी तथा साहित्यकार नवराज लम्साललाई २१ वैशाख २०५१ मा पहिलो पटक रेडियो नेपालमा बोलेको यो वाक्यांश मुखाग्र छ । नहोस् पनि किन ? यसअघि धेरै ठाउँमा असफल भइसकेपछि झण्डै विक्षिप्तताको अवस्थामा पाइएको थियो रेडियो नेपालको त्यो जागिर ।
कमजोर आर्थिक पृष्ठभूमिका लम्साललाई जीवन निर्वाह गर्नका लागि जागिर चाहिएको थियो । उनले धेरैतिर प्रयास गरे । लोकसेवा भिडे, संस्थानहरूमा परीक्षा दिए । केही सरकारी र केही निजी बैंक तथा वित्तीय संस्थाहरूमा पनि कोसिस गरी हेरे । लिखितमा सबैतिर नाम निकाले पनि तर सबैतिर मौखिकमा फालिए ।
गोरखापत्रमा उपसम्पादकमा २ पटक नाम निस्कियो । ७ जना माग्दा लिखितमा उनले १ नम्बरमै नाम निकाले तर अन्तर्वार्तामा फेल भए । यो २०४८ सालको कुरा हो । यी तमाम कुराले उनमा चरम नैराश्य उत्पन्न भएको थियो । शक्ति केन्द्रको आशीर्वादविना केही हासिल गर्न नसकिने सङ्केत देखापर्न थालेका थिए ।
यहीबीचमा रेडियो नेपालमा नाम निकालेर सुर्खेत पुगे उनी । त्यसबेला रेडियो नेपालले क्षेत्रीय प्रसारण सुरु गरेकाले सबै कर्मचारी करारमा लिएको थियो । रेडियोमा स्थायी हुन उनले अर्को परीक्षा कुर्नुपर्यो ।
सुर्खेत पुगिसकेपछि काम गरेरै उठ्नुपर्ने दबाब थियो उनमा । तर, त्यो अरूले सिर्जना गरेको दबाब नभई आफैँले आफैँलाई प्रमाणित गर्नुपर्ने थियो । आफ्नै लागि काम गर्नुपर्ने थियो । त्यसैले दिनरात केही नभनी खटे । आज पनि त्यो खटाइमा कमी आएको छैन । त्यही खटाइले नै आज उनलाई यो उचाइसम्म ल्याइपुर्याएको हो ।
लिखितमा नाम निस्किने र अन्तर्वार्तामा फालिने अनन्त शृङ्खलाबाट गुज्रिएका लम्सालले अन्ततः रेडियो नेपालको करार जागिरेबाट करियर अगाडि बढाउने अवसर पाए । अहिले आएर ‘वास्तवमा जिन्दगी त करारले नै उठाउँदो रहेछ’ भन्ने लाग्छ उनलाई ।
‘अरू मान्छेहरू त्यहाँ जागिर खोज्न गएका थिए, म त्यहाँ जिन्दगी खोज्न गएको थिएँ’, लम्साल भन्छन्, ‘त्यस कारण सामान्य जागिरेले गर्नेभन्दा धेरै दुःख गरेँ ।’
अहिले त्यही दुःखको फल पाउँदा उनी सन्तुष्ट छन् । राउटे, मगर, वादी, थारूलगायतका सीमान्तकृत समुदायमा जाने र उनीहरूको संस्कृति खोज्ने, रेकर्ड गर्ने तथा प्रसारण गर्ने, नाटककारहरूसित, कलाकारहरूसित बसेर गीत तथा नाटकहरू उत्पादन गर्नेलगायतका कामहरूमा लागे उनी । उनले काममार्फत् आफूलाई अब्बल प्रमाणित गर्दै लगे । क्रमशः लोकप्रियताको सिँढी पनि चढ्दै गए ।
उनलाई अहिले पछाडि फर्केर हेर्दा लाग्छ कि त्यसबेला मान्छेले व्यावसायिकता खोजेनन्, आफ्नो मान्छे खोजे । यो संस्कार अद्यापि कायम छ । देश यो अवस्थामा पुग्नुको मुख्य कारक नै यही संस्कार हो भन्ने लाग्छ उनलाई ।
लम्साल भन्छन्, ‘लिखितमा राम्रो गरिएको छ । हातमा स्नातक तहको सर्टिफिकेट पनि छ तर ८ कक्षा फेल भई भारतबाट ३ हजार भारुमा सर्टिफिकेट किनेर ल्याएकाहरू परीक्षामा पास भएर आफू फेल भएको सुन्दा कस्तो लाग्यो होला ? कल्पना मात्र गर्न सकिन्छ । यस्तो थियो हामीले ल्याएको लोकतन्त्र !’
लम्साल करिव साढे २ वर्ष सुर्खेत बसेर काठमाडौं सरुवा भए । यहाँ काठमाडौंको क्षेत्रीय प्रसारण केन्द्रबाट काम सुरु गरे । सुर्खेतमा राम्रै गरेकाले यहाँ अग्रजहरूको प्रेरणा पाइन्छ कि भन्ने थियो तर त्यसको उल्टो माहोल पाए । प्रोत्साहित गर्नेभन्दा पनि खुट्टा तान्नेहरू बढी भेटिए । त्यसपछि उनलाई ‘मैले त अघोषित रूपमा धेरै दुश्मनहरू कमाइसकेको रहेछु’ भन्ने लाग्यो ।
‘लाइभ फोन इन’ कार्यक्रमको नामले प्रसारण भइरहेको कार्यक्रमलाई पछि ‘मधुवन’ नामकरण गरियो । जुन कार्यक्रमले नवराज लम्साललाई नवराज लम्साल बनायो, त्यो कार्यक्रम मधुवन नै थियो ।
मधुवनबाट लाइभ कविता सुनाउने काम भयो । त्यस समयमा फोनबाट लाइभ कविता सुनाउने कार्यक्रम चलाउनु कुनै चानचुने काम थिएन । यो कार्य त्यतिकै चुनौतीपूर्ण पनि थियो ।
मधुवनका अतिरिक्त लम्साल अर्को कार्यक्रम पनि चलाउँथे । कार्यक्रमको नाम थियो, ‘सुर सङ्गम ।’ सुुर सङ्गममा कथाहरू वाचन गरिन्थे । यसका पनि आफ्नै खाले श्रोताहरू थिए तर मधुवन जस्तो लोकप्रियता भने यसले पाउन सकेन ।
उनलाई रेडियोबाट प्रशंसक मात्र कमाएको छु जस्तो लाग्थ्यो तर अघोषित रूपमा धेरै वैरी कमाइसकेको र दुश्मनीको रेखा सुरु भइसकेको उनले पत्तै पाएनन् । त्यसपछि दोहोरो सङ्घर्ष सुरु भयो- काम गरेर आफूलाई प्रमाणित गर्दै लैजाने र षड्यन्त्रकारीहरूको सामना गर्दै अघि बढ्ने ।
मधुवन जस्तो लोकप्रिय कार्यक्रमलाई क्षेत्रीयबाट केन्द्रीय प्रसारणमा लैजान १६ वर्ष लागेकोबाटै रेडियोभित्र रेडियोबाहेक अरू केके चल्थ्यो भन्ने कुराको सहज अनुमान लगाउन सकिने उनको भनाइ छ ।
लम्सालले धार्मिक, राजनीतिक, साहित्यिक, सामाजिकलगायतका सबै किसिमका कार्यक्रम चलाए । उनले ४ वर्ष धार्मिक कार्यक्रम चलाए । लम्सालले समसामयिक कार्यक्रम ‘घटना र विचार’ पनि चलाए । यति मात्र होइन, उनले समाचार वाचन पनि गरे । अहिले पनि गर्छन् । साहत्यिक कार्यक्र मधुवन त विगत २३ वर्षदेखि निरन्तर चलेकै छ ।
विभिन्न किसिमका सामाजिक सञ्जालहरू सक्रिय रहेको आजको सूचना प्रविधिको युगमा पनि मधुवनको लोकप्रियतामा कुनै कमी आएको छैन । ‘साइँली रिमै चौँरी गाई, झर्यो रिमै मधुवनैमा...’ जनकविकेशरी धर्मराज थापाको आवाजमा रहेको यो सुमधुुर गीतको लयसँगै आउने लम्सालको सुललित आवाजको प्रतीक्षामा उसैगरी बस्छन् श्रोताहरू आज पनि ।
यद्यपि, पहिले रेडियोमा कान लाएर सुन्थे भने अहिले इन्टरनेटको सहायताले पनि विभिन्न माध्यमबाट सुन्न थालिएको छ धेरै कार्यक्रम ।
त्यस्तै, ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम विल्कुलै नयाँ अवधारणा थियो, नयाँ प्रयोग पनि । यस किसिमको रेडियो कार्यक्रम दक्षिण एसियामै पहिलो भएको उनी बताउँछन् ।
यसरी एउटै मान्छेले सबै विधामा उही दक्षताका साथ काम गरेका उदाहरणहरू विश्वमै विरलै मात्र भेटिन्छन् । लम्साल भन्छन्, ‘पानीको धर्म बग्नु हो, म बगिरहेँ । जहाँ खाली ठाउँ भेट्टाएँ, भरिँदै गएँ ।’
भूकम्पका बेला सबै जना डराएर भागाभाग गरिरहेको अवस्थामा उनी भने स्टुडियोभित्र रहेर रातभर बोलिरहे । अहिलेको कोरोनाकालमा पनि ४८ दिन अफिसमै बसेर उनीसहित ७ जनाको टिमले सिंगो रेडियो नेपाल धान्यो ।
पेसाप्रतिको इमान्दारी र कामप्रतिको यही लगावले नै उनलाई सबै किसिमका प्रतिकूलतासित जुध्दै अगाडि बढ्ने प्रेरणा र जोश दिइरहन्छ रे !
हतियार धारिलो बनायो भने कहीँ न कहीँ काम लाग्छ भन्ने मान्यता राख्ने लम्साल आफ्नो हतियारमा कहिल्यै खिया नलागोस् भन्ने चाहन्छन् । रेडियोकै माध्यमबाट लोकप्रियताको शिखरमा पुग्नु र त्यो उचाइमा टिकिरहनु चानचुने कुरा पक्कै पनि होइन ।
लम्सालको क्षमता त छँदै छ, उनलाई केही त्यस्ता संयोगहरूले पनि साथ दिएका छन्, जसले गर्दा उनले विविध क्षेत्रमा आफूलाई परीक्षण गर्ने अवसर पाए र अरूले पत्याउने माहोलसमेत बन्यो ।
संसद लाइभको त्यो क्षण
संसदको २०औँ अधिवेसनमा राजा वीरेन्द्र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आउने कार्यक्रम थियो, जुन कार्यक्रमलाई ध्रुव थापा र तीर्थ भण्डारी मिलेर लाइभ गर्ने तयारी थियो । ४ बजेबाट लाइभ गर्नुपर्ने तर प्रस्तोताहरू ३ बजेसम्म पनि आइपुगेनन् । पछि खोजी गर्दै जाँदा दुवै जनालाई पखाला भएको जानकारी आयो ।
त्यो अन्योलको बीचमा लाइभमा जाने नामहरूको खोजी हुन थाल्यो । विकल्प खोज्दै जाँदा लम्सालको नाम आयो । लाइभ राम्रो भयो ।
त्यस्तै, लाइभकै अर्को संयोग पनि छ । २०५४ वैशाखमा सोलुखुम्बूबाट लाइभ गर्ने कार्यक्रम थियो । सोलुखुम्बू जिल्ला विकास समिति र सल्लेरी गाविसले रेडियोलाई पैसा तिरिसकेका थिए । ११ बजेदेखि १ बजेसम्म लाइभ गर्ने कार्यक्रम थियो ।
भोलिपल्ट पाण्डव सुनुवारलगायतको टिम लाइभका लागि आउने कार्यक्रम थियो तर मौसममा आएको खराबीका कारण जहाज उड्ने अवस्था भएन । काठमाडौंको टोली काठमाडौंमै रोकियो । अघिल्लो दिन नै एक जना प्राविधिकसहित सोलु पुगेका लम्सालको काँधमा त्यो लाइभको जिम्मेवारी आयो ।
उनले लगातार १ घण्टा ५५ मिनेट एक्लैले लाइभ गरे । त्यसपछि मान्छेहरूले ‘यो मान्छे बोल्नकै लागि जन्मिएको हो’ भन्न थाले । लम्साल भन्छन्, ‘त्यसपछि विस्तारै बाटो खुल्दै आयो ।’
उनलाई अहिले आफूले जे गर्दा पनि आँखा चिम्लेर समर्थन गर्ने प्रशंसकहरूभन्दा पनि समालोचनात्मक चेत भएका प्रतिक्रियाहरू मनपर्छन् रे ! ‘पहिला प्रशंसाबाट फुर्किने बानी थियो’, लम्साल भन्छन्, ‘अहिले आलोचनात्मक प्रतिक्रियाहरू मनपर्न थालेका छन् ।’
आँखा चिम्लेर आफूले जे गर्दा पनि मनपराउनेहरू धेरै भए पनि कमजोरी सुधार गरी अगाडि बढ्नका लागि भने समालोचनात्मक प्रतिक्रिया फलदायी हुने उनको बुझाइ छ ।
मधुवनबाट सिक्ने र प्रेरणा लिनेहरूको जमात ठूलो छ । मधुवन सुनेरै कविताको कखरा सिक्नेहरू भेट्दा खुसी लाग्ने गरेको उनी बताउँछन् ।
२०४० सालमा अध्ययनका लािग काठमाडौं आएका लम्सालले संस्कृत माध्यमिक विद्यालय रानीपोखरीबाट २०४३ सालमा एसएलसी दिए । त्यसपछि वाल्मीकि विद्यापीठमा र रत्नराज्यलक्ष्मी क्याम्पसमा एकसाथ अध्ययन अगाडि बढाए ।
वाल्मीकिको आँगन सानो लागेर आरआर गएको बताउने लम्सालले उच्च तहको अध्ययन पनि संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट एकसाथ अगाडि बढाए ।
साहित्यकार नवराज
लम्सालको रेडियोकर्मीजतिकै अर्को सशक्त परिचय परिचय छ साहित्यकारको । उनको साहित्यिक व्यक्तित्व पनि अग्लो नै छ तर रेडियोको लोकप्रियता यति धेरै छ कि उनको साहित्यिक परिचय छायामा परेको आभास हुन्छ । उनी कविता, गीत र गजल लेखनमा उत्तिकै सशक्त कलम चलाउँदै आएका छन् ।
बुबाले लय हालेरै रामायण, महाभारत वाचन गरेको सुन्दासुन्दै उनमा साहित्यको लत कतिखेर र कसरी पर्यो, पत्तै भएन । संस्कृतको अध्ययनले त्यसमा थप मलजलको काम गरेको उनी बताउँछन् ।
उनी गद्य र पद्य दुवैमा समान रूपले कलम चलाउँछन् । दुवै उत्तिकै मनपराउँछन् । भन्छन्, ‘दुवैमा लगाव छ, दुवैप्रति उच्च सम्मान पनि छ । तर, गद्य हुँदैमा कविता हुन्छ जस्तो लाग्दैन र पद्य मात्र हुँदैमा पनि कविता हुन्छ जस्तो पनि लाग्दैन । यसका लागि अर्कै चिज चाहिन्छ ।’
के हो त त्यो अर्कै चिज भनेको ? लम्साल साहित्य संवेदनासित जोडिएर आउनुपर्ने धारणा राख्छन् । अहिलेको साहित्य धेरै हदसम्म नारा र तथ्याङ्कमा सीमित भएको उनको बुझाइ छ । कविले कविताका प्राविधिक पक्षभन्दा पनि समयको संवेदनामा ध्यान दिनुपर्ने उनको धारणा छ ।
‘कविता गाली पनि हो, गरिबी पनि हो र यौन पनि हो’, लम्साल भन्छन्, ‘तर, त्यो समयको चिन्तनसँग आएन भने साहित्य हुँदैन ।’
त्यसैले साहित्य साहित्य नै हुनुपर्छ भन्ने मान्यता छ उनको । समाचार होइन, नारा र गाली होइन कविता भन्ने लम्साल एनजीओ/आईएनजीओ र समाचारको भाषा अनि साहित्यको भाषा फरक हुनुपर्छ भन्छन् ।
साहित्य समसामयिक नभएर सार्वकालिक हुनुपर्ने धारणा राख्छन् उनी । जहिले सुन्दा पनि ताजा हुने, शाश्वत कविता लेखिनुपर्छ, सीमित आयुको कविताको काम छैन भन्छन् उनी ।
२०४१ सालमा ‘अरुणोदय’ पत्रिकामा पहिलो कविता प्रकाशन गरेका लम्सालका अहिले ७ वटा साहित्यिक कृतिहरू प्रकाशित छन्, जसमा २ वटा महाकाव्य, ३ वटा कवितासङ्ग्रह र ३ वटा गीतिसङ्ग्रह छन् ।
जिन्दगीको अनन्त दौडमा आफ्नै मिहिनेत, सङ्घर्ष र क्षमताले उठेको बताउने लम्साल आफ्नो जीवनबाट सन्तुष्ट छन् । भन्छन्, ‘चोट लागेका बेला, दुखेका बेला फलानोले मलाई उठायो, मलाई सहारा दियो भनेर गौरव गर्नुपर्ने र शिर झुकाउनुपर्ने पात्र छैनन् । आफ्नै बलबुतामा उठेकाले यो उचाइ मलाई प्रिय छ ।’
जीवनमा समस्या पर्दा सहायता गर्ने कोही नभेटिए पनि प्रगतिपथमा बार लगाउनेहरू, बाटोमा पर्खाल बनेर खडा हुनेहरू धेरै भेट्टाए उनले । तर, निरन्तरको लगाव र सङ्घर्षले ती सबै विघ्नबाधाहरू छिचोलेर अगाडि बढ्न सफल भए । जुन रेडियोमा उनलाई ‘अन एयर’ हुनै नदिनेसम्मको षड्यन्त्र भएको थियो, अहिले उनी त्यही रेडियो नेपालका समाचार महाशाखाका प्रमुख छन् ।
साहित्यमा उनको छुट्टै पहिचान छ । काम त उनले अन्त पनि गरे तर यहाँ सङ्घर्ष गरेको र यहीँबाट सफलता पाएकाले पनि होला, रेडियो नेपालमा जस्तो स्वाद अन्त कतै आएन रे उनलाई ।
उनलाई नभेटेकाहरू पनि अनुहारले चिन्छन्, अनुहार नदेखेकाहरू आवाजले चिन्छन्, आवाज पनि नसुनेकाहरू नामले चिन्छन् ।
नेपालमा नवराज लम्सालको नाम नसुनेको व्यक्ति विरलै भेटिएला । ‘यो सबै त्यही करारको जागिरको कमाल हो’, मुहारभरी चमक ल्याउँदै भन्छन्, ‘वास्तवमा जिन्दगी त करारले नै चम्काउँदो रहेछ ।’
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७ ०८:१९