सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीमा दुई पक्षबीच भएको झडपमा १५ जना घाइते भएका छन ।
जग्गासम्बन्धी विवाद उग्र हुँदै झडप भएको घटनास्थलमा रहेका सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरूलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
बिहानैदेखि दुई पक्षबीच पटकपटक झडप भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजबाट प्रहरी टोली त्यहाँ पुगेको छ ।
प्रहरी नायब उपरीक्षक भारतीका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड अश्रुग्यासको सेल प्रहार गरेको छ । यसैगरी सशस्त्र प्रहरीले पनि चार सेल अश्रुग्यास प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए । डीएसपी भारतीले स्थिति अहिले नियन्त्रणमा रहेको बताए ।
अझै पनि दुई पक्षबीच झडपको सम्भावना रहेको स्थानीयले जानकारी दिएका छन् । घटनास्थलमा एक सयभन्दा बढी नेपाल र सशस्त्र प्रहरी परिचालित रहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७ १३:०५