लकडाउन भएयता २ महिना कोठामै थुनिएर बसेको र कसैले खान-बस्न छ कि छैन ? भनेर नसोधेको मनोरञ्जन क्षेत्रमा काम गर्दै आएकी ललिता तामाङ (नाम परिवर्तन) बताउँछिन् । ठमेलको एउटा नाइट क्लबमा काम गर्दै आएकी तामाङ रात्रिकालीन मनोरञ्जनका क्षेत्रमा काम गर्ने युवतीलाई समाजले नराम्रो नजरले हेर्ने भएका कारण पहिचान लुकाएर काम गर्दै आएको गुनासो गर्छिन् ।
'लकडाउन भएको २ महिनाभन्दा धेरै भयो, साहुले एक पटक पनि के गर्दै छौ ? भनेर फोनसम्म गरेका छैनन्', तामाङले भनिन्, ‘घर जाऊँ, इज्जत जाने डर छ, काठमाडौं बस्न सक्ने अवस्था छैन । अब कोठामै भोकले कुन दिन मरिन्छ होला । लास कसले उठाउन हो, थाहा छैन ।'
जीवनमा ठूलो पृथ्वीको भार भएको, न खुलेर बाँच्न पाउने, न त म यो क्षेत्रमा काम गर्दै छु भन्न सकिने उनको भनाइ छ । उनले भनिन्, 'काम नभएपछि पैसा हुँदैन । घर भाडा कहाँबाट ल्याए तिर्नु ? दिनैपिच्छे समस्या थपिँदै गएको छ । के गर्नु, न मरी जान सकिन्छ, न त बाँचेर गरी खान पाइन्छ । कस्तो दुविधाको दिन आयो !’
मुस्किलले राम्रो क्लबमा काम पाएको भन्दै तामाङले २ महिनाको तलब लिन बाँकी रहेको बताइन् । त्यो पनि लकडाउनमा साहुले नदिएको उनको गुनासो छ । 'हामी त रमाइलोका बेला प्रयोग गर्ने साधन जस्तो मात्र भयौँ', उनको गुनासो छ, 'गत चैतदेखि घरभेटीले भाडा मागेर बसिसक्नु बनाएको छैन । काममा नगएपछि पैसा छैन, कहाँबाट ल्याएर भाडा तिर्नु भन्ने चिन्ताले सताउन थालेको छ ।'
गोंगबुमा रहेको एउटा होटलमा काम गरेर जीवन बिताइरहेकी रुकुमकी सविता पुन (नाम परिवर्तन)को व्यथा पनि उस्तै छ । घरको आर्थिक अवस्था कमजोर भएको हुँदा पढाइलाई निरन्तरता दिनका लागि रात्रिकालीन मनोरञ्जन क्षेत्रमा काम गर्दै आएको सविता बताउँछिन् । रात्रिकालीन क्षेत्रमा काम गरेर बीबीएस पढ्दै गरेको उनले बताइन् ।
‘एक वर्षमा दुईवटा रेस्टुराँमा काम गरे पनि कहीँ राम्रो तलब दिएनन् । जसोतसो गाउँकै दाइले भनेर राम्रो ठाउँमा काम पाएकी थिएँ । त्यो पनि कोरोना भाइरसले गर्दा गत फागुनदेखि नै बन्द भयो । मेरो त विजोक भयो’, उनले भनिन्, ‘रात्रिकालीन क्षेत्रमा काम गर्ने युवतीलाई हेर्ने समाजको दृष्टिकोण पनि फरक छ ।'
कसैले सहयोग गरेमा पेसा परिवर्तनसँगै आफ्नो पढाइलाई निरन्तरता दिने उनले बताइन् । यस क्षेत्रमा काम गर्ने युवतीले कहीँ न कहीँ विभिन्न किसिमको हिंसाको सिकार बन्नुपर्ने उनको भनाइ छ । 'महामारीका बेला न त सरकार न साहुले नै सहयोग गरे’, उनी भन्छिन् ।
गत फागुन महिनादेखि कोठामा बसेर दिन काटिरहेको र घरभेटीले भाडा तिर्ने पैसा नभए कोठा खालि गर भनेर दिनहूँ किचकिच गरिरहेको उनको भनाइ छ । गाउँकै एक जना दिदीले जागिर लगाइदिने र पढाइदिने भनेपछि काठमाडौँ आएको र रात्रिकालीन मनोरञ्जनमा काम गर्न थालेको सविता बताउँछिन् ।
उनीहरू त राजधानीमा रात्रिकालीन मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएका युवतीमध्येका प्रतिनिधि पात्र मात्र हुन् । तामाङ र पुनले जस्तै कोरोना भाइरसका कारण यस क्षेत्रका काम गर्ने धेरै युवती र महिलाले समस्या भोगिरहेका छन् । सरकारले गत चैतमा कोरोना भाइरस नियन्त्रण गर्न गरेको लकडाउनका कारण रात्रिकालीन क्षेत्रमा काम गर्ने श्रमिक समस्यामा परेका छन् । उनीहरूले सरकारले बाँडेको राहतसमेत नपाएको गुनासो गर्छन् ।
पहिचानविहीन ९० हजार मनोरञ्जन क्षेत्रका श्रमिक
रात्रिकालीन मनोरञ्जनका क्षेत्रमा काम गर्ने करिब ९० हजार श्रमिक रहेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले जनाएको छ । उनीहरूलाई रात्रिकालीन व्यवसायीले कामअनुसार तलब सुविधा दिँदै आए पनि सरकारले श्रमिकको दर्जा भने दिन नसकेको जिफन्टले बताउँदै आएको छ । देशभर रात्रिकालीन क्षेत्रमा श्रमिकको अवस्था कस्तो छ भनेर सरकारले जानकारी नलिने गरेको यस क्षेत्रमा काम गर्दै आएका श्रमिकले गुनासो गरेका छन् ।
गोंगबु, कलङ्की, सुन्धारा, ठमेलका साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला शहरमा रहेका होटल, रेस्टुराँ, दोहोरी, डान्सबारमा धेरै महिला रात्रिकालीन मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएका छन् । कोरोना भाइरसका कारण यी क्षेत्रमा काम गर्ने धेरै युवती मारमा परेको जिफन्टले बताएको छ ।
कोरोना भाइरसका कारण पहिचान लुकाएर काम गर्दै आएका मनोरञ्जन क्षेत्रका महिला श्रमिक ठूलो मारमा परेका छन् । उनीहरू रात्रिकालीन क्षेत्रमा काम गर्छौं भनेर आफ्नो पहिचान खुलाउन सक्ने अवस्थामा नभएको महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन)की कार्यकारी निर्देशक बेनुमाया गुरुङ बताउँछिन् । रात्रिकालीन क्षेत्रमा काम गर्ने महिला श्रमिक जस्तोसुकै अवस्था भए पनि सहेर काम गर्न बाध्य भएको गुरुङले बताइन् ।
‘रात्रिकालीन क्षेत्रमा काम गर्ने युवतीले सरकारले दिएको श्रमिकको दर्जा पाएका छैनन् भने सूचीकृतसमेत भएका छैनन् । सरकारले पनि उनीहरूलाई श्रम ऐन, नियमावलीअनुसार समेट्न सकेको छैन, जसका कारण उनीहरू पहिचान लुकाएर काम गर्न बाध्य छन्’, उनले भनिन्, 'कोरोना भाइरस नियन्त्रण गर्न गरेको लकडाउनमा उनीहरूको अवस्था कस्तो होला भनेर सरकारले केही खोजीनीति गरेको छैन ।'
एकातिर उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण नै फरक रहेको र अर्कोतिर उनीहरू पहिचान लुकाएर काम गर्दै आएको अवस्थामा रात्रिकालीन क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई सरकारले राहत प्याकेज दिनुपर्ने उनको भनाइ छ ।
स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा पछिल्लो समय लगानी बढेको थियो । तर, कोरोना भाइरसका कारण यो व्यवसायसमेत समस्यामा परेको छ । देशभर ९ हजारभन्दा धेरै रात्रिकालीन व्यवसाय सञ्चालनमा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७ १६:२५